• ७ पुस २०८१, आइतबार

काठमाडौँ महानगरका प्रमुख साहलाई अप्ठ्यारो पार्ने काम भयो : प्रमुख सचेतक शाही

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही

काठमाडौँ, असार १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रमुख सचेतक शाहीले काठमाडौँ महानगरका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएका आरोप लगाउनुभएको हो ।

प्रमुख सचेतक शाहीले भन्नुभयो,‘‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद् हो यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ । तर स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ । काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिहरूलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् ? हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरूलाई स्वतन्त्र छोडिदिऊँ ।’’

उहाँले दलहरूको राजनीतिको कारण काठमाडौँ महानगरको बजेट अस्तव्यस्त पारिएको जिकिर गर्नुभयो । उहाँले दलका नेताहरूले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नुहुने बताउनुभयो । उहाँले स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्ने बताउनुभयो ।

प्रमुख सचेतक शाहीले भन्नुभयो, ‘‘आज काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरूलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहीन राजनीति होस् ।’’

उहाँले मन्त्रीहरूले गर्नु हुनेभन्दा गर्नु नहुने कामहरू बढी गरिरहेका भन्दै संसद्को भित्तामा मन्त्रीले गर्नु हुने र गर्नु नहुने काम भनी लेखेर राख्न माग गर्नुभयो ।