• १९ असार २०८१, बुधबार

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी

blog

मुना हमाल

सुर्खेत, जेठ ५ गते । वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी हुनुभएको हो ।  

नगर प्रमुखमा एमालेका मोहनमाया ढकाल (भण्डारी)  र उपप्रमुखमा निलकण्ठ खनाल विजयी हुनुभएको छ । प्रमुखमा ढकालले  १६ हजार ३८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएर  पराजित हुनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित हुनुभयो ।  

एमालेले यस पटक वीरेन्द्रनगरमा काँग्रेसको गढ भत्काउँदै विजयी हासिल गरेको छ । एमालेले अघिल्लो निर्वाचनमा प्रमुखमा हारेको थियो । प्रमुख ढकाल अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । यसपटक उहाँलाई एमालेले प्रमुखको उम्मेदवार बनाएको थियो । यसपटक गठबन्धनलाई हराउँदै नगरको १६ वडामध्ये ११ वटा वडासहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । काँग्रेसले पाँच वटा वडा जितेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं २ मा एमालेबाट गजबहादुर बुढा,  वडा ३ मा  विनोदसिंह विष्ट, वडा नं ४ मा शेरबहादुर के सी, वडा नं ५ मा  लोकवहादुर शाही विजयी हुनुभएको छ । यस्तै, एमालेबाट वडा नं ८ मा  टीकाराम शर्मा, वडा नं ९ मा  ऋषि गिरी, वडा नं १० मा  डिलबहादुर रखाल, वडा नं ११ मा खिमलाल देवकोटा, वडा नं १२ मा चुडामणि चपाई, वडा नं १४ मा  देवबहादुर रोकाय र वडा नं १६ मा डण्डबहादुर विश्वकर्मा विजयी हुनुभएको छ । 

सोहीअनुसार वडा नं १ मा काँग्रेसका दिनेश खत्री, वडा नं ६ मा जनकबहादुर रावल, वडा नं ७ मा ध्रुव कुमार चपाई, वडा नं १३ मा दीपेन्द्रराज कोइराला र वडा नं १५ मा कृष्णबहादुर थापा विजयी हुनुभएको छ ।