भलमन्साको काँधमा वडा हाँक्ने जिम्मेवारी
अविनाश चौधरीधनगढी, जेठ २ गते । कैलालीको भड्री गाउँका भलमन्सा सन्तराम चौधरीलाई वडा हाँक्ने जिम्मेवारी आइलागेको छ । कैलारी गाउँपालिका–३ का वडावासीले भलमन्सा चौधरीलाई वडा अध्यक्षको जिम्मेवारी पनि सुम्पेका हुन । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षकसमेत रहनु भएका चौधरी नेपाली काङ्ग्रेसबाट वडा नम्बर ३ को अध्यक्षमा आफ्नो प्यानलसहित विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र) का कैलाश चौधरीलाई पराजित गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको हो ।विजयी हुनु भएका चौधरीले एक हजार १२ र पराजित हुनु भएका उम्मेदवारले ७४२ मत प्राप्त गर्नुभयो । यसैगरी, जोशीपुर गाउँपालिका–२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टीका विष्णु चौधरी विजयी हुनु भएको छ । उहाँले ६४२ मत प्राप्त गर्नुभयो । यस्तै, कैलालीको टीकापुर नगरपालिकाको वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित भएको छ । सो पार्टीका लालवीर चौधरी वडा नम्बर ४ को वडा अध्यक्षमा पुनः निर्वाचित हुनु भएको छ । यसैगरी, गोदावरी नगरपालिका–१० को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका रविन्द्र शाही (गुड्डु) निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
भिमदत्त नगरपालिकामा शुरु भएन मतगणना
लक्ष्मण पन्तमहेन्द्रनगर, जेठ २ गते । कञ्चनपुरको भिमदत्त नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । वडा नं. १ को मतगणना सम्पन्न गरेर वडा नं. २ को आधा मतगणना हुँदा एक सयको बण्डलमा १ सय २० मत भेटिएपछि विवाद हुँदा आईतबार दिउँसो स्थगित गरिएको मतगणना अझै शुरु हुन नसकेको हो । पटक–पटक बसेको सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा मतगणना शुरु गर्न नसकिएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहमती जुटेको छैन, फेरि बोलाएको छु, एकै छिनमा बैठक बसेर निष्कर्षमा पुग्छौ ।’
घोडाघोडी १ मा कांग्रेस, ११ मा जसपाको वडाअध्यक्ष विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ २ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ र ११ को वडा अध्यक्षको सोमबार विहान अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसका घनश्याम ओझा विजयी हुनुभएको छ भने वडा नम्बर ११ को वडाअध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार दानसिंह जोगी विजयी हुनुभएको छ । उहाँले ६७२ मत प्राप्ता गर्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो । जोगीको प्रतिस्पर्धीको रुपमा कांग्रेसका उम्मेदवार राजकुमार कठरियाले ६६९ मत प्राप्त गर्नुभयो । तीन मतको अन्तरले जोगी विजयी हुनुभएको छ । वडा सदस्यमा एक जना जसपाबाट र अन्य तीन जना कांग्रेसबाट विजयी हुनुभएको छ । हारे भनेर घर गएका जोगी एक्कासी जितेको खबर सामाजिक सञ्जालबाट पाएलगतै खुशी हुदै मतगणनास्थल पुग्नुभएको थियो । यसअघिको चुनावमा समेत उक्त वडामा जोगी विजयी हुनुभएको थियो । यता कांग्रेसले वडा नम्बर ११ को पुनः मतगणनाको माग राख्दै प्रदर्शन गरेको छ । मतपरिणाम सार्वजनिक नहुदै कांग्रेसका उम्मेदवार कठरियाको जितको हल्ला चलेको थियो । गौरीगंगामा समाजवादी र कांग्रेसले खाता खोल्यो त्यसैगरी कैलालीको गौरीगंगा नगरपालिकामा सोमवार विहान २ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा कांग्रेसका डबलबहादुर दियाकोटी र वडा नम्बर २ मा नेकपा समाजवादीका जनकबहादुर साउँद विजयी हुनुभएको छ ।समाजवादी र माओवादी केन्द्रको गठबन्धन रहेको उक्त नगरपालिकामा साउँदले ६९३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६७९ मत प्राप्त गर्नुभएको छ । एक खुल्ला सदस्य बाहेक तीन सदस्यमा समेत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ । त्यसैगरी वडा नम्बर १ को वडा अध्यक्षमा विजयी दियाकोटीले एक हजार १३१ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धीकोरुपमा रहनुभएका नेकपा एमालेका जुद्धबहादुर साउँदले ८२५ मत प्राप्त गर्नुभयो ।
कैलाशमा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष विजयी
अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बालकुमार मल्ल विजयी हुनुभएको हो ।
भेरी ११ मा काँग्रेसबाट जैसीको प्यानल विजयी
बासुदेव शर्माजाजरकोट, जेठ २ गते । जाजरकोटको भेरी नगरपालिका ११ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा लक्ष्मीप्रसाद जैसीको पुरै प्यानल विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर नेपालीलाई २ मतको मतान्तरले पछि पार्दै उहाँ अध्यक्षमा विजयी हुनुभएको हो । काग्रेसका उमेदवार जैसीले ४ सय ५८ मत प्राप्त गरी विजय हुनुुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपालीले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । काग्रेसको पकड मानिएको भेरी ११ सहिद लक्ष्मीप्रसाद आचार्यको भुमी हो । उता नलगाड ४ को वडा अध्यक्षमा काग्रेसबाट उमेदवार बनेका बद्री पन्तको प्यानलसहित वडा अध्यक्षमा वियजी भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गुमान रावललाई पराजित गर्दै पन्तको प्यानल नै विजय भएको हो । पन्तले ५ सय ४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो भने उहाँका निवकटतम प्रतिस्पर्धी गुमान रावलले ३ सय ५० मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा निर्वाचित पन्त क्रियाशील पत्रकार पनि हुन् । पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, रेडियो नेपालमा आबद्ध हुनुहुन्थ्यो । सहयोगी र सरल स्वभावका धनि पन्त फराकिलो मतकासाथ वडा अध्यक्षमा विजयी हुनु भएको छ ।
म्याग्दीको मंगलामा एमालेका उम्मेदवार विजयी
अमृतप्रसाद पौडेलम्याग्दी, जेठ २ गते । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सोमबार बिहान सम्पन्न मतगणनाको घोषित अन्तिम मत परिणामअनुसार पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । यसअघि आइतबार घोषणा भएको परिणामअनुसार मालिका गाउँपालिकामा पनि एमालेले अध्यक्ष उपाध्यक्ष जितेको थियो ।मंगला गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार सतप्रसाद रोकाले ३ हजार ९ सय ६८ मत ल्याएर बिजयी हुँदै गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ मत पाउनुभएको छ । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका टेकबहादुर विकले १ हजार ५ सय २१ मत पाउनुभयो । अध्यक्षमा निर्वाचित एमाले उम्मेदवार रोका मंगला गाउँपालिकाको दोस्रो कार्यकालका लागि बिजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै उम्मेदवार प्रेमकुमारी क्षत्रीले ४ हजार २ सय ६१ मतसहित विजयी हुनुभएको मंगला गाउँपालिका निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो । उपाध्यक्षमा विजयी क्षत्रीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मिला थापाले २ हजार ५ सय ९५ र माओवादी केन्द्रकी सुकमाया रोकाले १ हजार ३ सय ७३ मत पाएको सहायक निर्वाचन अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो । कुल १३ हजार ४ सय १६ मतदाता रहेको मंगलामा ८ हजार ८ सय १७ अर्थात् ६५ दशमलव ७२ प्रतिशत मत खसेको थियो । ५ वटा वडा रहेको मंगलामा निर्वाचित हुने २७ पदका लागि ९८ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मंगला गाउँपालिकाको पाँचवटा वडामध्ये तीनवटा वडामा एमाले र एक एक वडामा माओवादी र कांग्रेसको प्यानलसहित विजयी भएका छन् । मंगला १ कुहुँमा एमाले, २ बाबियाचौरमा एमाले, ३ बराङ्जामा माओवादी, ४ बराङ्जामा कांग्रेस र ५ अर्मनमा एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार बिहानै प्रकाशित निर्वाचनको अन्तिम मत परिणामअनुसार रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र प्रेमकुमारी पुन विजयी हुनुभएको छ । आइतबार प्रकाशित मतपरिणाम अनुसार पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा भने एमालेका वेगप्रसाद गर्बुजा र लक्ष्मीदेवी घर्तीमगर पुन विजयी बन्नुभएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिकासहित कुल ४५ वटा वडा रहेको म्याग्दीमा हालसम्म ३३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणामअनुसार एमाले १६ वडा, कांग्रेस १२ र माओवादी ५ वटा वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा अब १२ वटा वडा एवम् धौलागिरी गाउँपालिका, अन्नपुर्ण गाउँपालिका र बेनी नगरपालिकाको प्रमुख उपप्रमुखको मतपरिणाम आउन बाँकी छ ।
हरिनास गाउँपालिकाको अध्यक्षमा एमालेका मानन्धर विजयी
राधाकृष्ण डुम्रेवालिङ, जेठ १ गते । स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का खिमनारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले गठबन्धन अन्तर्गतका नेपाली काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मानन्धरले ४ हजार ७६९ मत ल्याउँदा भुजेलले ४ हजार ७३२ मत ल्याउनु भएको हो । यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी राना विजयी हुनुभएको छ । उहाँले ४ हजार ७४० मत पाउनुभएको छ । गठबन्धन अन्तर्गत माओवादी केन्द्रका मिठु लम्सालले ४ हजार ७१६ मत ल्याउनु भएको छ । सात वडा रहेको हरिनासमा वडा नम्वर १ मा गठबन्धन अन्तर्गत नेपाली काँग्रेसका ईन्द्रबहादुर गुरुङ, वडा नम्वर २ मा काँग्रेसकै चित्रबहादुर थापा, वडा नम्वर ३ मा ओमप्रकाश सिग्देल, वडा नम्वर ४ मा सन्तबहादुर थापा, वडा नम्वर ५ मा निर्मल लम्साल, दिलबहादुर राना, ६ मा दिलबहादुर राना र वडा नम्वर ७ मा भरत थापा बिजयी हुनुभएको छ ।
मकवानपुरमा पहिलो महिला वडाअध्यक्ष कमला निर्वाचित
राममणि दाहालहेटौँडा, जेठ १ गते । मकवानपुर जिल्लामा पहिलो पटक महिला वडाध्यक्ष नेपाली काँग्रेसकी कमलाकुमारी वाइवा बन्नुभएको छ । स्थानीय तह सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा बकैया गाउँपालिका वडा नं. १० मा नेकपा एमालेका कमलबहादुर घलानलाई फराकिलो मतान्तरले पराजित गर्दै ४० वर्षीय वाइवा वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।आइतबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका वाइवाले ७८२ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका घलानले ४६४ मत प्राप्त गर्नुभयो ।दलित महिला सदस्यमा काँग्रेसका सुमित्रा कामी, महिला सदस्यमा नेकपा (माओवादी केन्द्र) का राजकुमारी भोम्जन, सदस्यहरुमा माओवादी केन्द्रका रामबहादुर गोले र काँग्रेसका तीर्थराज भोम्जन विजयी हुनुभएको छ ।यस्तै, बकैया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको अग्रता कामय रहेको छ । अध्यक्षमा गठबन्धनबाट धर्मराज लामिछाने र उपाध्यक्षमा भक्तबहादुर खत्री र एमालेबाट अध्यक्षमा सरला बोलखे र उपाध्यक्षमा लालबहादुर स्याङ्तान चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।यसैगरी बकैया गाउँपालिका वडा ५ को वडाध्यक्षमा काँग्रेसबाट महिलाले नै चुनावी प्रतिस्पर्धा गर्नुभएको छ । ३१ वर्षीय लक्ष्मी जिम्बालाई काँग्रेसले उम्मेदवार बनाएको हो । यसैबीच मकवानपुरका १०२ वडा मध्ये ३४ वडाको मत परिणाम सार्वजनिक भएको छ ।मत परिणाम सार्वजनिक भएका वडाहरुमा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले मत परिणाम सार्वजनिक भएका वडाहरुमध्ये १७ वटा वडामा वडाध्यक्ष, नेकपा (माओवादी केन्द्र) ले १० वटा वडामा वडा अध्यक्ष र नेकपा (एमाले) ले सात वटा वडामा वडा अध्यक्ष जितेको छ ।यस्तै १० पालिकामध्ये अधिकांश पालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । इन्द्रसरोवर गाउँपालिकामा एमाले र हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ ।हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ३, १८ र १९ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मकवानपुरमा कुल मतदाता दुई लाख ९४ हजार २१९ मतदाता रहेकोमा दुई लाख १० हजार १०८ अर्थात ७१.२४ प्रतिशत मत खसेको थियो । जिल्लाको १० वटै पालिकामा रहेको मतगणनास्थलमा तारजालीसहित सुरक्षा व्यवस्था कडा गरिएको छ ।
घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका चौधरी विजयी
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १ गते । यसअघि नेपाली काँग्रेसले नेतृत्व गरेको कैलालीको घोडाघोडी नगरपालिका २ मा काँग्रेसको विरासत भत्काउँदै नेकपा (एमाले) ले विजयी यात्रा शुरू गरेको छ । नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी हुनुभएको छ ।चौधरीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको हो । महिला सदस्यमा एमालेकै कमलादेवी सिंह आठसय ९४ मत ल्याएर विजयी हुनुभएको छ । दलित महिला सदस्यमा काँग्रेसका सिता सुनार ११ सय ४० मत सहित विजयी हुनुभयो । खुला सदस्यद्वय काँग्रेसका भिम भण्डारा ९६१ र एमालेका रामसुन्दर चौधरी ९८० मत ल्याई विजयी हुनुभयो । २०७४ सालको स्थानीय काँग्रेसबाट विजयी हुनुभएका हरीराज विष्ट पुनः अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ५०० मत प्राप्त गर्नुभयो ।