• १९ असार २०८१, बुधबार

मकवानपुरमा पहिलो महिला वडाअध्यक्ष कमला निर्वाचित

blog

राममणि दाहाल

हेटौँडा, जेठ १ गते । मकवानपुर जिल्लामा पहिलो पटक महिला वडाध्यक्ष नेपाली काँग्रेसकी कमलाकुमारी वाइवा बन्नुभएको छ । स्थानीय तह सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा बकैया गाउँपालिका वडा नं. १० मा नेकपा एमालेका कमलबहादुर घलानलाई फराकिलो मतान्तरले पराजित गर्दै ४० वर्षीय वाइवा वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

आइतबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका वाइवाले ७८२ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका घलानले ४६४ मत प्राप्त गर्नुभयो ।

दलित महिला सदस्यमा काँग्रेसका सुमित्रा कामी, महिला सदस्यमा नेकपा (माओवादी केन्द्र) का राजकुमारी भोम्जन, सदस्यहरुमा माओवादी केन्द्रका रामबहादुर गोले र काँग्रेसका तीर्थराज भोम्जन विजयी हुनुभएको छ ।

यस्तै, बकैया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुको अग्रता कामय रहेको छ । अध्यक्षमा गठबन्धनबाट धर्मराज लामिछाने र उपाध्यक्षमा भक्तबहादुर खत्री र एमालेबाट अध्यक्षमा सरला बोलखे र उपाध्यक्षमा लालबहादुर स्याङ्तान चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी बकैया गाउँपालिका वडा  ५ को वडाध्यक्षमा काँग्रेसबाट महिलाले नै चुनावी प्रतिस्पर्धा गर्नुभएको छ । ३१ वर्षीय लक्ष्मी जिम्बालाई काँग्रेसले उम्मेदवार बनाएको हो । यसैबीच मकवानपुरका १०२ वडा मध्ये ३४ वडाको मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम सार्वजनिक भएका वडाहरुमा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले मत परिणाम सार्वजनिक भएका वडाहरुमध्ये १७ वटा वडामा वडाध्यक्ष, नेकपा (माओवादी केन्द्र) ले १० वटा वडामा वडा अध्यक्ष र नेकपा (एमाले) ले सात वटा वडामा वडा अध्यक्ष जितेको छ ।

यस्तै १० पालिकामध्ये अधिकांश पालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । इन्द्रसरोवर गाउँपालिकामा एमाले र हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ३, १८ र १९ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मकवानपुरमा कुल मतदाता दुई लाख ९४ हजार २१९ मतदाता रहेकोमा दुई लाख १० हजार १०८ अर्थात ७१.२४ प्रतिशत मत खसेको थियो । जिल्लाको १० वटै पालिकामा रहेको मतगणनास्थलमा तारजालीसहित सुरक्षा व्यवस्था कडा गरिएको छ ।