• १९ असार २०८१, बुधबार

इच्छाकामना गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित

blog

शालिग्राम नेपाल 

चितवन, जेठ ४ गते । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर गुरुङ र उपाध्यक्षमा एमालेकै माया सिलवाल निर्वाचित हुनु भएको छ । चण्डीभन्ज्याङका स्थायी बासिन्दा गुरुङले नेपाली कांग्रेसकी अध्यक्ष उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।

एमालेका दानबहादुरले छ हजार ११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले चार हजार ६०८ मत ल्याउनुभयो । वुधबार वडा नम्बर ७ को मतगणना सकिएसँगै विजय घोषणा गरिएको छ ।

सरकारी विद्यालयको प्रधानाध्यापक बनेका दानबहादुर पेन्सन पाक्न चार वर्ष मात्रै बाँकी रहँदा स्थायी जागिर छाडेर चुनावी मैदानमा उत्रनु भएको हो ।  

एमाले निकट शिक्षक संगठन चितवनको निवर्तमान जिल्ला अध्यक्षसमेत रहनुभएका गुरुङ सो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ । अध्यक्षका प्रतिस्पर्धी गीताकुमारी पनि शिक्षा क्षेत्रबाट नै राजनीतिमा आउनु भएको हो ।  

त्यसैगरी उपाध्यक्षमा एमालेकी माया सिलवालले पाँच हजार ३४४ मत प्राप्त गर्दै विजयी हुनुभयो । मुग्लिनकी स्थायी बासिन्दा उहाँले माओवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मतले पछााडि पार्दै निर्वाचित हुनुभयो । प्रतापले पाँच हजार ४४ मत ल्याउनुभयो ।  

यसअघि २०७४ सालमा कांग्रेसले विजय हासिल गरेको इच्छाकामनामा अहिले एमालेले राम्रो मत ल्याएको हो । गाउँपालिकाको वडा १ को अध्यक्षमा माओवादी वडा २, ३, ४ र ५, ६ मा एमाले विजयी भएको छ । वडा नम्बर ७ मा कांग्रेसले विजय हासिल गरेको छ ।