सल्यानका २१ वडाको मत गणना सम्पन्नः कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी
प्रतीक शर्मासल्यान, जेठ १ गते । सल्यानका ८३ वडा मध्ये हालसम्म २१ वटा वडाको मत गणना सकिएको छ । मत गणना सम्पन्न भएका २२ वडा मध्ये १० कांग्रेस, ७ माओवादी र ४ वटा वडामा एमाले विजयी भएको छ ।कांग्रेस विजयी हुने वडाहरुमा शारदा नगरपालिका १ मा प्रदिप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी रहनुभएको छ । त्यसैगरी बागचौर नगरपालिकाको वडा नम्बर १२ मा टिकाराम ओली, ११ मा केश बहादुर भण्डारी, बनगाड कुपिण्डे १ मा थुम बहादुर बिसी, १२ मा लाल बहादुर घर्ती, छत्रेश्वरी १ मा प्रकाश हमाल, त्रिवेणी १ मा दल बहादुर बस्नेत र कुमाख २ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित हुनु भएको छ ।त्यसैगरी माओवादीबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कुमाख १ मा डिल्ली राना, ६ मा कर्ण बहादुर विक, ७ मा डम्बर शाही, दार्मा १ मा टंक ओली, सिद्ध कुमाख १ मा रमेश चलाउने, छत्रेश्वरी २ मा प्रेम नेपाली र कपुरकोट १ मा बालाराम खड्का रहनु भएको छ । त्यस्तै एमालेबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कालीमाटी ४ मा बेल बहादुर चन्द, ५ मा टोप बहादुर कार्की, त्रिवेणी २ मा हस्त बहादुर राम्जा र कपुरकोट २ मा इश्वरी बुढा रहनु भएको छ ।
सिमकोट गाउँपालिका २ को वडाध्यक्षमा काँग्रेसका बोहोरा विजयी
सिमकोट गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका देवजङ्ग बोहरा विजयी हुनु भएको छ । उहाँ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादीको तर्फबाट साझा उम्मेदवारका रुपमा निर्वाचित हुनु भएको हो ।
खार्पुनाथ गाउँपालिकामा काँग्रेसका रावल विजयी
खार्पुनाथ गाउँपालिकामा गठबन्धन दलकातर्फबाट नेपाली काँग्रेसका कर्णबहादुर रावल विजयी हुनु भएको छ । उक्त गाउँपालिकाका सबै निर्वाचित पदमा गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनु भएको हो ।
नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी हुनुभएको छ । उहाँले तीन हजार २०० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।
दैलेखका १० वडाको मतपरिणाम सार्वजनिक
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडा मध्ये १० वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले चार, एमालेले चार माओबादी केन्द्रले एक र नेपाल मजदुर किसान पार्टीले एक वडामा विजयी भएको छ ।
हुम्ला खार्पुुनाथ–१ को वडा अध्यक्षमा शाही विजयी
स्थानीय तह निर्वाचनमा खार्पुनाथ गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका जयबहादुर शाही निर्वाचित हुनुभएको छ । नेकपा एमालेका हिरालाल जैसीलाई पछि पार्दै शाही वडा अध्यक्ष पदमा बिजयी हुनु भएको हो ।
मुस्ताङको लोमन्थाङमा एमाले विजयी
मुस्ताङको चीनसँग सीमाना जोडिएको लोमन्थाङ गाउँपालिकामा नेकपा (एमाले)ले अध्यक्ष तथा उपाध्यक्ष जितेको छ ।
सल्यानका कपुरकोट गाउँपालिका–१ मा माओवादीका खड्का विजयी
सल्यान कपुरकोट गाउँपालिका–१ मा वडाअध्यक्ष पदमा गठबन्धनबाट चुनाव लडेका नेकपा (माओवादी केन्द्र)का बालाराम खड्का विजयी हुनुभएको छ ।
मतगणनास्थल बाहिर झडप, तीन गम्भीर घाइते
जिल्लाको खार्पुनाथ गाउँपालिकाको मतगणनास्थल बाहिर भएको झडपमा तीनजना घाइते हुनुभएको छ ।