बुलिङटारमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
नवलपुरको पहाडी गाउँपालिका बुलिङटारमा नेकपा एमालेले ऐतिहासिक जीत निकालेको छ । नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नु भएका २८ वर्षीय दीपेन्द्र सुनारीमगरले ४०५९ मत प्राप्त गरि विजयी हुनु भएको छ ।
म्याग्दीको रघुगंगामा नेपाली कांग्रेस विजयी
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका देवकोटा र भूजेल विजयी
अध्यक्षमा माओवादीका उम्मेदवार दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल विजयी हुनुभएको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिनुभयो ।
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गर्नुभएको हो । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।
हरिनास गाउँपालिकाको अध्यक्षमा एमालेका मानन्धर विजयी
राधाकृष्ण डुम्रेवालिङ, जेठ १ गते । स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का खिमनारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले गठबन्धन अन्तर्गतका नेपाली काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्दै विजयी हुनुभएको हो । मानन्धरले ४ हजार ७६९ मत ल्याउँदा भुजेलले ४ हजार ७३२ मत ल्याउनु भएको हो । यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकै ईन्द्रकुमारी राना विजयी हुनुभएको छ । उहाँले ४ हजार ७४० मत पाउनुभएको छ । गठबन्धन अन्तर्गत माओवादी केन्द्रका मिठु लम्सालले ४ हजार ७१६ मत ल्याउनु भएको छ । सात वडा रहेको हरिनासमा वडा नम्वर १ मा गठबन्धन अन्तर्गत नेपाली काँग्रेसका ईन्द्रबहादुर गुरुङ, वडा नम्वर २ मा काँग्रेसकै चित्रबहादुर थापा, वडा नम्वर ३ मा ओमप्रकाश सिग्देल, वडा नम्वर ४ मा सन्तबहादुर थापा, वडा नम्वर ५ मा निर्मल लम्साल, दिलबहादुर राना, ६ मा दिलबहादुर राना र वडा नम्वर ७ मा भरत थापा बिजयी हुनुभएको छ ।
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखरा, जेठ १ गते। स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।पोखरा महानगरको वडा नं १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले एक हजार ३४९ मत प्राप्त गरी अग्रता लिनुभएको छ। त्यसैगरी नेकपा (एमाले)का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले एक हजार २५० मतसहित आचार्यलाई पछ्याउनुभएको छ।उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले एक हजार ४५० मतसहित अग्रता बनाउनुभएको छ। उहाँका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले एक हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहनुभएको छ।
म्याग्दीको मालिकामा मतगणना सम्पन्न : अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
ठाकुरप्रसाद आचार्यम्याग्दी, जेठ १ गते । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । आइतबार दिउँसो सम्पन्न मतगणना अनुसार अध्यक्षमा बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा लक्ष्मी देवी पुन विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गर्बुजाले ३०९१ र उपाध्यक्षले ३१६७ मत प्राप्त गर्नुभएको छ । यसैगरी, प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २९७० र उपाध्यक्ष पिपला बुढाले ३१३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको गोविन्द उपाध्यायले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले २१२५ र उपाध्यक्षका उम्मेदवार गौरी सेञ्चुरीले १७८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली काँग्रेसले वडा नम्बर १ मा टंक पुन, २ मा एमालेका उदयबहादुर वुढाथोकी, ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा काँग्रेसका भेजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिन पुन, ६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन विजयी हुनुभएको छ ।
म्याग्दीमा १८ वडाको मत परिणाम सार्वजनिक
अमृतप्रसाद पौडेलम्याग्दी, जेठ १ गते । म्याग्दीको छ वटै स्थानीय तहका ४५ मध्ये १८ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्राे र माओवादी केन्द्र तेस्राे भएका छन् ।जिल्ला निर्वाचन कार्यालय म्याग्दीका कम्प्युटर अपरेटर गोविन्दबहादुर थापामगरका अनुसार नेकपा एमालेले ११ वडा, नेपाली काँग्रेसले ५ वडा र नेकपा माओवादी केन्द्रले २ वटा वडामा जित हासिल गरेको हो । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका १, गुर्जामा नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल र धौलागिरी गाउँपालिका २ लुलाङको वडा अध्यक्षमा नेकपा एमालेका अकप्रसाद बिकले ३३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको थापामगरले बताउनुभयो ।बेनी नगरपालिका १ मा नेकपा एमालेबाट अध्यक्ष टेकबहादुर थापाले ५३२ मत र बेनी नगरपालिका २ मा नेपाली काँग्रेसका यामबहादुर कार्की ८९८ मतसहित विजयी हुनुभएको छ ।साथै, पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका १ मा नेकपा एमालेका एकजित रोका १ हजार ११० मतसहित विजयी हुनुभएको छ भने २ मा नेकपा एमालेका धनबहादुर खातीले ९०० मत प्राप्त गर्नुभएको हो । मालिका गाउँपालिका १, निस्कोटमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा ४६२ मतसहित टङ्कप्रसाद पुन र वडा २ रुम मा एमालेका उदयकुमार बुढाथोकी ७५१ मतसहित विजयी हुनुभएको छ ।वडा नम्बर ३, रुम डाँडागाउँमा ३४५ मतसहित माओवादी केन्द्रका मोतीप्रसाद र ४ नम्बरमा नेपाली काँग्रेसका भेजेन्द्रमान पुनले ४२९ मत प्राप्त गर्नुभएको हो । ५ नम्बर वडामा ७८३ मत ल्याएर नेपाली काँग्रेसले वडा अध्यक्षमा मिम पुन र वडा नम्बर ६ दरवाङमा भने नेकपा एमालेका पथबहादुर रोका ५७४ सहित निर्वाचित हुनुभएको छ ।उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पछिल्लो नतिजा अनुसार वडा नम्बर १ मा नेपाली काँग्रेसका बिलबहादुर फगामी ४३२ मतसहित निर्वाचित हुनुभएको छ । त्यस्तै, वडा नम्बर २ मा अमृत भण्डारीले ७७३ र ३ मा नेकपा एमालेका खिमबहादुर शाही ८८६ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रघुगङ्गा गाउँपालिकाका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।त्यसैगरी, अन्नपूर्ण गाउँपालिका १, २ र ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा १ मा ३४१ मतसहित दिलीपकुमार गर्बुजा, वडा नम्बर २ भुरुङ तातोपानीमा ३२९ मतसहित ओमप्रसाद फागामी र वडा नम्बर ३ दानामा ५३४ मतसहित रमेश पुर्जा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
म्याग्दे–३ मा एमालेका अधिकारी विजयी
अमरराज नहर्की तनहुँ, जेठ १ गते । तनहुँको म्याग्दे गाउँपालिका वडा ३ को अध्यक्षमा एमालेका टुकराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले ६६१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बलराम भट्टराई ५८७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा काँग्रेसकी जानकी थापा, दलित महिला सदस्यमा एमालेकी सुनीता नेपाली विजयी हुनुभयो । खुला सदस्यमा काँग्रेसका बालचन्द्र घिमिरे तथा एमालेका प्रकाश घिमिरे विजयी हुनुभएको छ । यसअघि सो वडामा काँग्रेसका श्रीबहादुर थापा विजयी हुनुभएको थियो ।