तानसेनको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी उम्मेदवार विजयी
रेखीराम रानापाल्पा, जेठ ३ गते । पाल्पाको सदरमुकाम तानसेनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबट तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी हुनुभएको हो । श्रेष्ठले ११ हजार २ सय ७३ र सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर विजयी हुनुभएको हो । एमालेबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ र उपप्रमुखका उम्मेदवार शशी श्रेष्ठले १० हजार १ सय ५१ मत ल्याउनुभएको छ । तानसेनमा नेपाली काङ्ग्रेसले वडा नं. १, २, ३, ४, ६, ७, ११ र १२ वडामा जितेको छ । यस्तै माओवादीका उम्मेदवारले तानसेनको वडा नं. ५ र १३ वडा जितेको छ । एमालेले भने वडा नं. ८, ९, १० र १४ जितेको छ । बैशाख ३० गते रातिदेखि सुरु भएको मतगणनाको काम मङ्गलबार बेलुकी मात्रै सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
अमरराज नहर्की तनहुँ, जेठ ३ गते । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुवै नेकपा (एमाले) ले जितेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो । एमालेका होमबहादुर थापाले ७९७ मतान्तरणले नेपाली काँग्रेसका गङ्गा कुमाललाई पराजित गर्नुभयो । थापाले चार हजार ३३१ मत प्राप्त गर्नुभयो भने कुमालले तीन हजार ५५४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार चारसय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । काङग्रेस र एकीकृत समाजवादीको गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाले दुई हजार सातसय ४७ मत प्राप्त गर्नुभएको थियो । घिरिङ गाउँपालिकाको ५ वटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा काँग्रेसले विजय हासिल गरेको छ । काँग्रेसबाट १ को वडाध्यक्षमा रविचन्द्र घोरासिनी र ५ को अध्यक्षमा विष्णुवीर आले विजय हासिल गर्नुभएको छ । एमालेबाट २ को वडाध्यक्षमा नरबहादुर थापा, ३ को वडाध्यक्षमा तहलसिं थापा र ४ को वडाध्यक्षमा भिमबहादुर कुमालले विजय हासिल गर्नुभएको छ । यसअघि २०७४ को स्थानीय तहमा पनि एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।
भिमाद नगरपालिका प्रमुख तथा उपप्रमुखमा एमाले विजयी
अमरराज नहर्की तनहुँ, जेठ ३ गते । नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजबादी) को गठबन्धनलाई पाराजित गर्दै भिमादमा नगरपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको छ । सो नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी हुनुभयो । सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत पाउनुभयो । यस्तै, उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी हुनुभयो । खनाल यसअघि पनि यस नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । खनालको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २०५ मत पाउनुभयो । भिमाद नगरपालिकाको वडा २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काँग्र्रेसले भिमाद–१, ४, ५, ६ जितेको छ । तनहुँको कूल जम्मा २४ हजार ८८४ मतदाता रहेको भिमाद नगरपालिकामा १६ हजार १४९ मत खसेको थियो । भिमादमा काँग्रेस, नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । काँगेसले उपप्रमुख र समाजवादीले प्रमुख पदमा उम्मेदवारी दिएको थियो । भिमाद नगरपालिका यसअघिको २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुख तथा उपप्रमुख दुवै एमालेले जितेको थियो ।
म्याग्दीमा ४५ मध्ये ४० वडाको परिणाम सार्वजनिक
म्याग्दीमा स्थानीय तह निर्वाचनको मतदानपछि भएको मतगणनामा हालसम्म ४५ मध्ये ४० वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
बेंसीशहर नगरपालिकामा एमालेका अर्याल र गुरुङ निर्वाचित
बेलिना थापालमजुङ, जेठ ३ गते । लमजुङको बेंसीशहर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का गुमानसिङ अर्याल निर्वाचित हुनुभएको छ । उपप्रमुखमा एमालेकै पदमा गुरुङ निर्वाचित हुनुभएको छ ।प्रमुख पदमा उम्मेदवार अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर पुनः ५ बर्षका लागि प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि पनि प्रमुख हुनुहुन्थ्यो । उहाँको प्रतिद्वन्दी नेपाली काँग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याउनुभएको छ । प्रतिद्वन्द्वी राप्रपाका अजितबहादुर अधिकारीले १ सय ४६ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका कुलुकुमारी गुरुङले ५३ र जसपाका बलहादुर रानाले ४३ मत ल्याउनुभएको छ ।यस्तै उपप्रमुखमा एमालेकी पदमा गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार जीवनकुमार श्रेष्ठले १ हजार ६ सय १५ मत, राप्रपाका मेनुका कार्कीले १ सय ४८ मत र मङ्गोल नेशनल अर्गनाइजेसनका पदममाया गुरुङ्ले ४८ मत ल्याउनुभएको छ । यसअघि अर्यालले नेपाली काँग्रेसका भेषबहादुर पौडेललाई हराएर प्रमुख जित्नुभएको थियो ।
मुसिकोट नगरमा एमालेका खरेल र श्रेष्ठ विजयी
गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेका जीवन खरेल ७ हजार ३९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरीनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गर्नुभएको छ ।
बेनी नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा गठबन्धन विजयी
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई पराजित गर्दै नेकपा एमालेका सुरत केसी विजयी हुनुभएको छ । के.सी.ले ७ हजार ६०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्माले ६ हजार २३० मत पाउनुभएको छ ।
गोरखामा माओवादी केन्द्रले जित्यो ४ वटा पालिका
नेकपा माओवादी केन्द्रले जिल्लाका ४ स्थानीय तहमा विजय हासिल गरेको छ । सोमबार सार्वजनिक भएको नजिताअनुसार बारपाक सुलिकोट, शहीद लखन र भीमसेनमा माओवादी विजयी भएको हो । यसअघि अजिरकोटमा आइतबार नै जितिसकेको छ । नेपाली काँग्रेस अहिलेसम्म आरुघाटमा मात्र विजयी भएको छ ।
ढोरपाटन नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी
बागलुङको ढोरपाटन नगरपालिका प्रमुखमा दोस्रो पटक नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली निर्वाचित हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका चन्द्र अर्याललाई ६ सय मत अन्तरले पराजित गर्दै पुनः नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो ।