• ५ जेठ २०८१, शनिबार

भिमाद नगरपालिका प्रमुख तथा उपप्रमुखमा एमाले विजयी

blog

अमरराज नहर्की 

तनहुँ, जेठ ३ गते । नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजबादी) को गठबन्धनलाई पाराजित गर्दै भिमादमा नगरपालिका प्रमुख तथा उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको छ । सो नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी ८ हजार १२८ मत प्राप्त गरी विजयी हुनुभयो । 

सुवेदीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८५७ मत पाउनुभयो  । यस्तै, उपप्रमुखमा एमालेकै शारदा खनाल ७ हजार ६६७ मत प्राप्त गरी विजयी हुनुभयो । खनाल यसअघि पनि यस नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । 

खनालको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २०५ मत पाउनुभयो ।  भिमाद नगरपालिकाको वडा २, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ । नेपाली काँग्र्रेसले भिमाद–१, ४, ५, ६ जितेको छ । तनहुँको कूल जम्मा २४ हजार ८८४ मतदाता रहेको भिमाद नगरपालिकामा १६ हजार १४९ मत खसेको थियो । 

भिमादमा काँग्रेस, नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । काँगेसले उपप्रमुख र समाजवादीले प्रमुख पदमा उम्मेदवारी दिएको थियो । भिमाद नगरपालिका यसअघिको २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुख तथा उपप्रमुख दुवै एमालेले जितेको थियो ।