• १९ असार २०८१, बुधबार

बेनी नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा गठबन्धन विजयी

blog

अमृतप्रसाद पौडेल

म्यादी, जेठ ३ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिरञ्जीवी शर्मालाई पराजित गर्दै नेकपा एमालेका सुरत केसी विजयी हुनुभएको छ । के.सी.ले ७ हजार ६०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका शर्माले ६ हजार २३० मत पाउनुभएको छ । 

उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल ७ हजार ४३ मतसहित विजयी हुनुभएको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । उपमेयरमा विजयी लामिछानेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पशुपति शाहीले भने ५ हजार ५ सय मत पाउनुभयो । बेनी नगरपालिकामा वर्तमान सत्तापक्षीय गठबन्धनले चुनावी तालमेल गरी प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । 

१० वटा वडा रहेको बेनीमा कुल २१ हजार ८ सय ४२ मतदाता रहेकोमा यस पटकको निर्वाचनमा १५ हजार २११ अर्थात् ६९ दशमलव ६४ प्रतिशत मत खसेको थियो । बेनीमा ५२ पदका लागि विभिन्न राजनीतिक दलबाट १५६ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । घोषित मतपरिणामअनुसार बेनी नगरपालिकामा एमालेले मेयरसहित ५ वटा वडामा प्यानल जितेको छ भने कांग्रेसले ३ र माओवादीले उप–मेयरसहित २ वडामा विजय हासिल गरेको छ । 

बेनी नगरपालिका १ रत्नेचौरमा एमालेका टेकबहादुर थापा, २ ज्यामरुककोटमा नेपाली कांग्रेसका यामबहादुर कार्की, ३ भकिम्लीमा नेकपा माओवादी केन्द्रका पदम पुन, ४ सिङ्गामा माओवादीका भगवान् खड्का, ५ पुलाचौरमा एमालेका गोविन्द बानियाँ, ६ अर्थुङ्गेमा एमालेका कृष्णसिङ बानियाँ, ७ बेनीमा काँग्रेसका रमेशकुमार श्रेष्ठ, ८ बेनीमा एमालेका उत्तमकुमार कर्माचार्य, ९ घतानमा काँग्रेसका चक्रबहादुर केसी र १० पात्लेखेतमा एमालेका मसबिर रोका विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अघिल्लो स्थानीयतह निर्वाचनमा मेयर नेपाली काँग्रेस र उपमेयरमा राप्रपाले जितेको बेनीमा एमालेले सत्ता गठबन्धनलाई पराजित गर्दै मेयर पदमा बाजी मारेको हो ।