• १९ असार २०८१, बुधबार

म्याग्दीमा १८ वडाको मत परिणाम सार्वजनिक

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, जेठ १ गते । म्याग्दीको छ वटै स्थानीय तहका ४५ मध्ये १८ वडाको मतगणना परिणाम सार्वजनिक भएको छ । नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्राे र माओवादी केन्द्र तेस्राे भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका कम्प्युटर अपरेटर गोविन्दबहादुर थापामगरका अनुसार नेकपा एमालेले ११ वडा, नेपाली काँग्रेसले ५ वडा र नेकपा माओवादी केन्द्रले २ वटा वडामा जित हासिल गरेको हो । 

पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका १, गुर्जामा नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल र धौलागिरी गाउँपालिका २ लुलाङको वडा अध्यक्षमा नेकपा एमालेका अकप्रसाद बिकले ३३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको थापामगरले बताउनुभयो ।

बेनी नगरपालिका १ मा नेकपा एमालेबाट अध्यक्ष टेकबहादुर थापाले ५३२ मत र बेनी नगरपालिका २ मा नेपाली काँग्रेसका यामबहादुर कार्की ८९८ मतसहित विजयी हुनुभएको छ ।

साथै, पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका १ मा नेकपा एमालेका एकजित रोका १ हजार ११० मतसहित विजयी हुनुभएको छ भने २ मा नेकपा एमालेका धनबहादुर खातीले ९०० मत प्राप्त गर्नुभएको हो । 

मालिका गाउँपालिका १, निस्कोटमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा ४६२ मतसहित टङ्कप्रसाद पुन र वडा २ रुम मा एमालेका उदयकुमार बुढाथोकी ७५१ मतसहित विजयी हुनुभएको छ ।

वडा नम्बर ३, रुम डाँडागाउँमा ३४५ मतसहित माओवादी केन्द्रका मोतीप्रसाद र ४ नम्बरमा नेपाली काँग्रेसका भेजेन्द्रमान पुनले ४२९ मत प्राप्त गर्नुभएको हो । 

५ नम्बर वडामा ७८३ मत ल्याएर नेपाली काँग्रेसले वडा अध्यक्षमा मिम पुन र वडा नम्बर ६ दरवाङमा भने नेकपा एमालेका पथबहादुर रोका ५७४ सहित निर्वाचित हुनुभएको छ ।

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पछिल्लो नतिजा अनुसार वडा नम्बर १ मा नेपाली काँग्रेसका बिलबहादुर फगामी ४३२ मतसहित निर्वाचित हुनुभएको छ । त्यस्तै, वडा नम्बर २ मा अमृत भण्डारीले ७७३ र ३ मा नेकपा एमालेका खिमबहादुर शाही ८८६ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रघुगङ्गा गाउँपालिकाका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

त्यसैगरी, अन्नपूर्ण गाउँपालिका १, २ र ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा १ मा ३४१ मतसहित दिलीपकुमार गर्बुजा, वडा नम्बर २ भुरुङ तातोपानीमा ३२९ मतसहित ओमप्रसाद फागामी र वडा नम्बर ३ दानामा ५३४ मतसहित रमेश पुर्जा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ ।