विष्णुदेवी अस्पताल कीर्तिपुरमा २४ घण्टा सेवा सुरु
काठमाडौँ, जेठ २० गते । कीर्तिपुरस्थित विष्णुदेवी अस्पतालले २४ घण्टा आकस्मिक सेवा सुरु गरेको छ । अस्पताल परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डङ्गोलले सेवा सुरु गर्नुभयो । नगरप्रमुख डङ्गोलले आफूले चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धताअनुसार काम भएको उल्लेख गर्दै अब अस्पताललाई स्रोतसाधन सम्पन्न बनाइने बताउनुभयो । नगरपालिकाले जनतालाई सस्तो र गुणस्तरीय सेवा दिन खोजेको र यसका लागि वयोधा अस्पतालसँग सम्झौता गरी कीर्तिपुरवासीलाई २०–२५ प्रतिशत छुट र विपन्न वर्गलाई पाँच वटा शय्या निःशुल्क उपलब्ध गराइने व्यवस्था भएको जानकारीसमेत दिनुभयो ।कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अरुण गौतमले अस्पतालले आकस्मिक सेवासँगै इको कार्डियोग्राफी, २४ घण्टा बर्थिङ सेन्टर र प्रयोगशाला सेवासमेत सुरु गरेको जानकारी दिनुभयो । यसले प्राथमिक उपचारका लागि निजी अस्पताल जानुपर्ने बाध्यता नहुने उहाँले बताउनुभयो । नगर उपप्रमुख सुनिता शाक्यले विष्णुदेवी अस्पतालको सेवालाई थप स्तरीय बनाउन स्थान अभावको समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ, जेठ २० गते । गृहमन्त्री रमेश लेखकले सूचना सङ्कलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्वतयारीबारे विस्तृत जानकारी लिनुहुँदै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढङ्गबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई दिर्नेशन दिनुभएको हो । विपद् व्यवस्थापनमा स्थानीय तह एवं अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकारलगायत निकायसँग समन्वय गरी जनताले महसुस गर्नसक्ने गरी कार्य गर्न निर्देशन दिनुभयो । सो अवसरमा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन एवं विपद् उद्धार सामग्रीको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना सङ्कलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आम नागरिकले सङ्कटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धानगर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आएको बताउनुभयो । सबै किसिमका आपत्कालीन घटनामा अग्रपङ्क्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिले विपद् व्यवस्थापन पूर्वतयारीसम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
वरिष्ठ युक्रेनी अधिकारीहरू वार्ताका लागि वासिङ्टनमा
किएभ, जेठ २० गते । रुस–युक्रेन शान्ति वार्ताको पछिल्लो चरणको एक दिनपछि रक्षा र आर्थिक मामिलामा अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि युक्रेनी शीर्ष अधिकारीहरूको प्रतिनिधिमण्डल मङ्गलबार वासिङ्टन आइपुगेको छ ।इस्तानबुलमा सोमबार रुससँग भएको प्रत्यक्ष वार्ताको दोस्रो चरण कुनै सफलता बिना समाप्त भएपछि किएभको प्रतिनिधिमण्डलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीसँग भेट गर्नेछ ।संयुक्त राज्य अमेरिकाले छिमेकी देशबीच तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा निकै कम प्रगति भएकाले ट्रम्प किएभ र मस्कोसँग निराश हुनुभएको छ ।“हामी रक्षा सहयोग र युद्धको स्थिति, रुस विरुद्धको प्रतिबन्धलाई बलियो बनाउने बारेमा कुरा गर्ने योजना बनाउँछौँ”, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भन्नुभयो ।प्रतिनिधिमण्डलको नेतृत्व युक्रेनकी अर्थमन्त्री युलिया स्विरिडेन्कोले गर्ने र यसमा रक्षा अधिकारीहरू पनि समावेश रहेको यर्माकले जानकारी दिनुभयो ।उहाँले युक्रेनीहरूले रिपब्लिकन र डेमोक्रेट अधिकारीहरूका साथै ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली’ सँग भेट गर्ने बताउनुभयो ।प्रतिनिधिमण्डलले ‘रुसद्वारा निर्वासित युक्रेनी बालबालिकाहरूको फिर्ती’ को विषयमा पनि छलफल गर्ने यर्माकले बताउनुभयो ।सोमबारको वार्ताका क्रममा किएभले रुसलाई सयौँ युक्रेनी बालबालिकाको सूची दिएको बताएको छ । युक्रेनले ती बालबालिकालाई रुसले आफ्नो आक्रमणका क्रममा जबरजस्ती लगेको बताएको छ ।जनवरीमा ह्वाइट हाउस फर्केपछि युक्रेनमा युद्ध द्रुत रूपमा अन्त्य गर्ने वाचा गर्नुभएका ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्की दुवैमाथि बारम्बार आक्रोश व्यक्त गर्नुभएको छ । एएफपी
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
गण्डकी, जेठ २० गते । पचहत्तर वर्षअघि आजकै दिन अर्थात् सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गरेसँगै बामे सरेको अन्नपूर्ण क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । मङ्गलबार अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाइरहँदा यस क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को तथ्याङ्कअनुसार गत आवमा उक्त क्षेत्रमा पर्यटकको सङ्ख्या २९ प्रतिशतले वृद्धि भएकामा यो वर्ष थप बढ्ने देखिएको छ । आयोजना प्रमुख डा रविन कडरियाले गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा चालु आवको दस महिनामै त्योभन्दा बढी पर्यटक आएको बताउनुभयो । उहाँका अनुसार गत वैशाखसम्ममा दुई लाख २६ हजार चार सय नौ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन् । जेठ र असारमा आउने पर्यटक थपिँदा उक्त सङ्ख्या गत आवको तुलनामा उल्लेख्य रूपमा बढी हुने प्रमुख डा कडरियाले बताउनुभयो । “यस क्षेत्रमा विदेशी पर्यटक आउने क्रम बर्सेनि बढ्दो छ”, उहाँले भन्नुभयो, “बढीजसो धार्मिक भ्रमण र पदयात्रामा आउने गरेका छन् ।”उक्त क्षेत्रमा आव २०७९र८० मा एक लाख ७२ हजार एक सय आठ विदेशी पर्यटक आएका थिए । कोभिड–१९ महामारीका कारण त्योभन्दा अघिल्लो आवमा पर्यटकको सङ्ख्या झनै न्यून थियो । कोभिड–१९ महामारी थामिएपछि पर्यटकको सङ्ख्या अहिलेसम्मकै उच्च दरमा वृद्धि भएको ‘एक्याप’ का प्रमुख डा कडरियाले बताउनुभयो । चालु आवमा अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या दुई लाख ७५ हजार पुग्ने अनुमान गरिएको उहाँको भनाइ छ । पदयात्रा पर्यटनका लागि विश्वमाझ प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा असोज–मङ्सिर र चैत–जेठ गरी दुई याममा विदेशी पर्यटक बढी आउने गरेको उहाँले बताउनुभयो । वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ । मुक्तिनाथलगायत धार्मिक गन्तव्यस्थलमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रूचाउने गरेका छन् । ‘एक्याप’ ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मुस्ताङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ ।अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
राइड सेयरिङ एक महिना रोक्ने गण्डकी सरकारको निर्णय
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिना रोक्ने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र प्राप्त भएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको छलफलपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यस्तो जनाएको हो ।
फाइटर भालेबाट नाम र दाम
नेपालगञ्ज उप–महानगरपालिका वडा ७ का रमेश वाल्मीकिले बिगत १५ बर्षदेखि फाइटर भाले पाल्दै आउनुभएको छ । बिगतमा राजापुरमा ब्यक्तिगत रुचीका कारण फाइटर भाले पाल्नुभएका बाल्मीकी पछिल्लो समय भने नाम र इज्जत कमाउन भाले पाल्दै आउनुभएको छ ।
जिप भित्तामा ठोक्किएर आगलागी
रुकुमपश्चिमको आठबिसकोटमा गुडिरहेको एउटा जिप भित्तामा ठोक्किएपछि आगलागी भएको छ । मंगलबार बिहान आठबिसकोट नगरपालिका –६ दामाचौरमा बा. प. ०१–२८ च २८५२ नम्वरको जिप सडकको भित्तामा ठोकिएको हो ।
सामुदायिक वनको जग्गा कब्जा गरेर होटेल सञ्चालन
रुपन्देही र पाल्पाको सीमा क्षेत्र नुवाकोटमा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर होटेल निर्माण गरिएको पाइएको छ । रुपन्देहीको सीमा क्षेत्र पाल्पा तिनाउ गाउँपालिका वडा नं. २ नुवाकोट डाँडामा दुई वटा होटेल सञ्चालकले सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी होटेल सञ्चालन गरेको पाइएको हो ।
खेलाडीलाई सम्मान
पन्ध्रौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने नगरका खेलाडीहरुलाई घोराही उपमहानगरपालिकाले सम्मान गरेको छ । मंगलबार घोराही उपमहानगरपालिका कार्यालयमा खेलाडीलाई सम्मान गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ: महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताउनुभएको छ ।
गृहमन्त्रीलाई जवाफ दिने अवसर दिन एमालेको प्रतिपक्षलाई आग्रह
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई संसद्मा जवाफ दिने वातावरण बनाउन प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको हो ।
चित्रकलाले संस्कृति र इतिहासलाई जीवन्त बनाउँछ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकलाले नेपालको संस्कृति र इतिहासलाई जीवन्त बनाउने बताउनुभएको छ ।
'विश्वविद्यालयका अनुसन्धानले सार्थक परिणाम दिन सकेको छैन' : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा सरकार, निजी क्षेत्र र विश्वविद्यालय मिलेर काम गर्ने अवधारणालाई जोड दिइएको बताउनुभएको छ ।
टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फूलजोर चोकमा मङ्गलबार दिउँसो टिपरको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
कम परिणाममा पेट्रोल विक्री गर्ने दुई पेट्रोल पम्प सिल
कपिलवस्तुमा दुई पेट्रोल पम्प बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित उमा ट्रेडिङ र वडा नं. ४ गोपालपुर स्थित ओझा फिलिङ सेन्टरलाई सिलबन्दी गरिएको हो ।
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन्। पार्टीसम्बद्ध नेपाली समाज मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई अध्यक्ष यादव मङ्गलबार स्वदेश फर्किएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
आरोही कल्याणकारी कोष स्थापना गरिने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ ।
गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी
संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।
८१ करोड ४७ लाखको जुवा खेल्ने १७ जना पक्राउ
विभिन्न देशका नागरिकहरूलाई ह्वाटसप र इन्स्टाग्राम मार्फत सम्पर्कमा ल्याई अनलाइन डेटिङ साइटको प्रयोग गरी हारजित हुने तवरले व्यावसायिक रूपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न १७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
विपद् जोखिम न्यूनीकरणलाई १७ हजार ७ सय सुरक्षाकर्मी परिचालन
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ ।
मरिचखेतीले फेरियो बास्तोलाको दैनिकी
उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने हो भने जीविकोपार्जनका लागि विदेसिनु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगनपालिका–२८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा सुरु गरेको मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको हो ।
नेप्सेमा उच्च अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
हावाहुरीले ढालेका विद्युत पोलबाट जोखिम
एकसाताअघिदेखि झापाको विभिन्न ठाँउमा आएको हावाहुरी तथा वर्षाले विद्युतका पोलहरु लडाउने, बङ्ग्याउने र तारहरु लत्रने भएकाे छ । मुख्य सडक तथा अन्य ग्रामिण सडक आसपासका अधिकांश विद्युतका पोलहरु धरापमा परेका छन् ।
कालिन्जोर खोलामा पक्की पुल, आवतवाजत सहज
सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरस्थित कालिन्जोर खोलामा पक्की पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।