भुवन कार्की
रुपन्देही, जेठ २० गते । रुपन्देही र पाल्पाको सीमा क्षेत्र नुवाकोटमा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर होटेल निर्माण गरिएको पाइएको छ । रुपन्देहीको सीमा क्षेत्र पाल्पा तिनाउ गाउँपालिका वडा नं. २ नुवाकोट डाँडामा दुई वटा होटेल सञ्चालकले सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी होटेल सञ्चालन गरेको पाइएको हो ।
नुवाकोट गढी रिर्सोट र होटेल ओखलढुङ्गा कटेज नामका होटेल सञ्चालकले वन क्षेत्रको जग्गा अतिक्रमण गरेका हुन् । वन क्षेत्र अतिक्रमण गरेर भवन समेत बनाएका होटेल सञ्चालकविरुद्ध सामुदायिक वन उपभोक्ता समूह र स्थानीय टोल विकास समितिले डिभिजन वन कार्यालय पाल्पालाई पत्राचार गरी अतिक्रमण हटाउन आग्रह गरे पनि वन कार्यालयले अतिक्रमण हटाउने कुनै पहल थालेको छैन ।
स्थानीय बेओरे चिउरीगौडा सामुदायिक वन क्षेत्रमा यी होटेलले करिब ५ रोपनी जग्गा अतिक्रमण गरी संरचना बनाएका स्थानीय टोल विकास समितिका अध्यक्ष विष्णु कुमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नुवाकोट गढी रिर्सोटले मात्रै करिब चार रोपनी वन क्षेत्रको जग्गा अतिक्रमण गरेर होटेल बनाएको छ, हामीले वन कार्यालयमा उजुरी पनि गरेका छौँ तर सुनुवाइ भएको छैन ।’ सामुदायिक वन र टोल विकास समितिले छुट्टा छुट्टै निवेदन तिनाउ सब डिभिजन कार्यालय र डिभिजन वन कार्यालय पाल्पामा दिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको कुमालले बताउनुभयो । वन कार्यालयले कुनै पहल नगरे थप दबाबमूलक कार्यक्रम गरिने पनि उहाँले बताउनुभयो । वन कर्मचारीको मिलेमतोबिना यो अतिक्रमण सम्भव नहुने उहाँको भनाई छ । यी होटेल सञ्चालकले कैयौँ सालका रुख समेत रातारात हटाएर भौतिक संरचना निर्माण गरिरहँदा पनि वन कार्यालय मूकदर्शक बनेको उहाँले उल्लेख गर्नुभयो ।
बेओरे चिउरी गौडा सामुदायिक वनका सचिव हरिकला कुमालले भन्नुभयो, ‘वन कार्यालयहरूलाई लिखित र मौखिक रुपमा पटक–पटक जानकारी गराउँदा पनि यसको सुनुवाइ नहुनु निकै रहस्यमय भएको छ । यसमा वन कर्मचारीको मिलेमतो हुनुपर्छ ।’
नुवाकोट गढी रिर्सोट र होटेल ओखलढुङ्गा कटेजले सामुदायिक वनभित्रै डाँडाका सालका बुटामुनि कुर्ची टेबल राखेर आगो बाली क्याम्पफायर गर्ने व्यवस्था समेत मिलाएका छन् । सालका रुखका हाँगामा पिङ खेल्ने संरचना समेत निर्माण गरिएको छ । नुवाकोट गढी रिर्सोटले अतिक्रमण गरेको सामुदायिक वनको जग्गामा भौतिक संरचना समेत धमाधम बनाइरहेको स्थानीयले बताएका छन् ।
नुवाकोट गढी रिर्सोटका सञ्चालक कृष्ण कुमालले साढे दुई रोपनी जग्गा स्थायी लालपुर्जा भएको आफूहरूले खरिद गरेको र बाँकी अस्थायी जग्गा गरी कुल १२ रोपनी स्थानीयसँग खरिद गरेको दाबी गर्नुभयो । अर्को होटेल ओखलढुङ्गा कटेजका सञ्चालक लक्ष्मण रसाइली (हिमाल) ले खाने बस्ने केही सामग्री वन क्षेत्रमा भए पनि आफूले भौतिक संरचना भने नबनाएको बताइनुभयो । अतिक्रमित जग्गाबाट अरूले संरचना हटाए आफू पनि हटाउन तयार रहेको रसाइलीको भनाई छ ।
उता डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले भने स्थानीयको गुनासो आएपछि उक्त अतिक्रमित वन क्षेत्रमा अध्ययन गर्न तिनाउ सब डिभिजन कार्यालयलाई आग्रह गरिएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सामुदायिक वन क्षेत्र अतिक्रमण भएको भन्ने गुनासो आएपछि तिनाउ सब डिभिजन कार्यालयलाई त्यसको अनुसन्धान गर्न आग्रह गरिएको छ, रिजल्ट आई सकेको छैन ।’ तिनाउ सब डिभिजन कार्यालयका प्रमुख प्रेम चौधरीले एक पटक स्थलगत अध्ययन गरिएको र स्थानीयको असन्तुष्टि पाएपछि के गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो । नुवाकोटका स्थानीयले भने एक वर्ष अघिदेखि नै वन कार्यालयलाई ध्यानाकर्षण गराउँदा पनि अतिक्रमण गर्नेहरूलाई हटाउन नसकेको गुनासो गरेका छन् । नेताहरूका पहुँच र पावरको आधारमा यहाँ वन क्षेत्र अतिक्रमण गरिएको स्थानीयको आरोप छ ।