• ३० असार २०८२, सोमबार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार ३० गते । मोरङको बेलबारीमा आइतबार जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालका अनुसार बेलबारी –८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।

उहाँका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहान हात्तीले आक्रमण गरेको थियो । 

आक्रमणबाट गम्भीर घाइते हुनु भएकी अमिनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको थियो । उपचारका क्रममा बिहान उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । 

वडा नं. ८ को बाँसबारी पूर्वपश्चिम राजमार्गबाट दक्षिणको गाउँ हो । राजमार्ग दक्षिणतर्फ  डेढ किलोमिटर मात्र जङ्गल पर्छ । जङ्गलबाट गाउँ पसेर अमिनालाई हात्तीले आक्रमण गरेपछि स्थानीय त्रसित भएका छन् । स्थानीयका अनुसार पूर्वपश्चिम राजमार्गको मोरङ खण्डमा पर्ने जङ्गल क्षेत्रमा केही दिन यता जङ्गली हात्ती देखा परेका छन् ।