काठमाडौँ, जेठ २० गते । सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ ।
मङ्गलवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद् न्यूनीकरण, विपद्पछि हुने राहत,उद्धारका लागि नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा राखेको बताउनु भयो । उहाँले नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयार पारेको स्पष्ट पार्नुभयो ।
सोही अनुसारको उपकरणहरू पनि तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । चाहेर पनि विपद् जोखिम न्यूनीकरणमा होमिने अवस्था नहुन सक्ने बताउनु भयो । सीमित श्रोत साधनका कारण यो अवस्था आउन सक्ने उहाँको भनाइ छ । सीमित श्रोत साधनलाई अधिकतम उपयोग गर्ने र विगतका वर्षहरूबाट पाठ सिक्दा सीमित श्रोत साधनका कारण सुरक्षा निकायले चाहेर उद्धार, खोज गर्न नसक्ने स्थिति रहेको उल्लेख गर्नुभयो । सुरक्षा निकायसँग रहेको प्रविधि, खोज सामग्रीहरू, जनशक्तिको अभाव रहेकाले त्यसलाई पूर्ति गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । मनसुन प्रतिकार्य कमान्ड पोस्टको कार्य जिम्मेवारी विगतमा स्पष्ट नरहेकाले यस वर्ष कार्य जिम्मेवारी स्पष्ट गरिएको उल्लेख गर्नुभयो ।
मनसुन प्रतिकार्य कमान्ड पोस्ट केन्द्रमा मात्र नभई प्रदेश, जिल्ला, स्थानीय तहमा रहने बताउनु भयो । प्राधिकरणका अनुसार विगत १० वर्षमा नेपालमा ८ हजार ४ सय १८ वटा विपद्जन्य घटना भएका छन् । जसबाट २ हजार ३ सय १७ जनाको निधन भएको छ । त्यस्तै ४ सय १९ जना बेपत्ता भएका छन् भने २ हजार ६ सय ४९ जना घाइते भएका छन् । गत वर्षको मनसुनमा ७७ वर्ष यताकै सबैभन्दा ठुलो वर्षा भएको थियो । असोज १० देखि १३ गतेसम्मको अवधिमा २ सय ५० जनाको मृत्यु भएको छ ।
४५ अर्ब बराबरको सोही अवधिमा क्षति भएको थियो । गत वर्ष मात्रै २ हजार १ सय ३८ वटा विपद्जन्य घटनाबाट ४ सय ९५ जनाको ज्यान गएको थियो । ६६ जना बेपत्ता भएका छन् ।