गोविन्द शर्मा
बाँके, जेठ २० गते । नेपालगञ्ज उप–महानगरपालिका वडा ७ का रमेश वाल्मीकिले बिगत १५ बर्षदेखि फाइटर भाले पाल्दै आउनुभएको छ । बिगतमा राजापुरमा ब्यक्तिगत रुचीका कारण फाइटर भाले पाल्नुभएका बाल्मीकी पछिल्लो समय भने नाम र इज्जत कमाउन भाले पाल्दै आउनुभएको छ ।
उहाँको घरमा हाल ३ वटा ठुला भाले र ३ वटा सानो चल्ला रहेका छन् । उहाँले नेपाल र भारतका बिभिन्न स्थानमा हुने भाले जुँधाइ प्रतियोगितामा आफुले पालेको भाले लिएर जाने गर्नुभएको छ ।
भारतको लखनउ, गोण्डा र नेपालका दाङ लगायत स्थानमा भएका भाले जुँधाइमा बाल्मीकिले पालेको भालेले प्रतिष्पर्धा गर्छ । कतिपय स्थानमा आफूले पाएको भालेले लडाइ जित्दा भाले खरिदका लागि ५० हजार रुपियाँ बढि मूल्य दिनेहरु आए पनि आफूले भाले बिक्री नगरेको उहाँको भनाइ छ ।
बाल्मीकी भन्नुहुन्छ, ‘भालेको लडाइ जितेमा भालेको मूल्य बढेसँगै भाले पाल्नेको पनि इज्जत र सम्मान बढ्ने गरेको छ । ’बाल्मीकिले भारतो नयाँ दिल्ली, लखनउ, गोण्डालगायतका सहरबाट भालेका चल्ला ल्याएर घरमा पाल्दै आउनुभएको छ । लडाकु भालेका चल्ला पाँच हजारदेखि १०–१० हजारसम्ममा खरिद गरी ल्याउने गरेको बाल्मीकिको भनाइ छ ।
ठुला भालेको मुल्य २५–३० हजार रुपियाँ भए पनि लडाइ जितेमा भने यसको मूल्य ५० हजारदेखि डेढ लाख रुपियाँसम्म पुग्ने गरेको उहाँको अनुभव छ । लडाइमा लैजाने भालेका लागि स्याहारसुसार र खानेकुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । लडाइमा जाने भाले ५० हजार रुपियाँ बढी मूल्य दिने आए पनि आफू बिक्री नगरेको उहाँको भनाइ छ ।
बाल्मीकिले भन्नुभयो, ‘फाइटर भालेलाई लडाइका लागि तयार राख्न काजु, किस्मिस, छोहरा लगायतका बिभिन्न खानेकुरा खुवाउनुपर्ने हुन्छ’ उहाँले आफूसँग भालेको सङ्ख्या बढी हुनासाथ चल्ला र ठुला भालेहरु बिक्री गर्दैआएको बताउनुहुन्छ ।