लीलाराज खड्का
बिर्तामोड, असार २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको चर्चा हुन थालेपछि ओझेलमा पार्न प्रतिपक्षीहरुले झुटको खेती गर्न थालेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले झापाको बिर्तामोडमा अगुवा नेता कार्यक्रर्ताहरुलाई सम्बोधन गर्नुहुँदै आफू केही दिन पहिले नेपाली प्रतिनिधि मण्डलको प्रतिधित्व गर्दै संयुक्त राष्ट्र संघको कार्यक्रममा स्पेन गएकोबारे अनेक झुठको खेती भइरहेको बताउनुभयो ।
कार्यक्रमको विश्वमै चर्चा बटुलिरहेको बेला प्रमुख प्रतिपक्षीहरुले आफ्ना भातृ संगठनको समेत प्रयोग गरेर प्रधानमन्त्रीले विदेशमा लगेर मान्छे छाड्यो भनेर भ्रामक हल्ला फिँजाएको बताउनुभयो ।
हाल नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको टिप्पणी गर्नुभयो । अहिलेको प्रधानमन्त्री र सरकार कुनै पनि गैरकानुनी काम नर्गने र एक रुपियाँको पनि भ्रष्टाचार नगर्ने बताउनुभयो ।
बर्तमान सरकारको विरोध गर्ने प्रतिपक्षीहरुको शैली तल्लो स्तरको भएको भन्दै विरोधका लागि न्युनतम कुराहरुको ख्याल गर्न प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरुलाई अनुरोध गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई आगामी निर्वाचनमा कसैले हराउन नसक्ने दावी गर्नुभयो ।
एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई बिर्तामोडमा सम्बोधन गर्दै उहाँले पार्टीमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभ लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको स्मरण गर्नुभयो ।
आफूबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कसाथ सही नीति र नेतृत्वको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
“एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्नेहरूको कामना कहिल्यै पूरा नहुने भन्दै उहाँले एमाले साना स्वार्थ बोक्ने पार्टी नभएको बताउनुभयो । एमालेको काँधमा देश बनाउने महान उद्देश्य रहेको बताउँदै एमाले राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी भएको चर्चा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले एमालेविरुद्ध जाल बुन्नेहरू सफल नहुने बताउनुभयो । सरकार र एमालेविरुद्ध भ्रामक प्रचारयुद्ध चलिरहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले नसके अरु कसैले पनि देश बनाउन नसक्ने भन्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौँ विकास र समृद्धिका काम थालनी भएको चर्चा गर्नुभयो । त्यसको प्रतिफल आउन थालेको उहाँको भनाइ छ ।