• २२ जेठ २०८२, बिहिबार

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छः महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा

नेपालगञ्ज, जेठ २० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको वाचा पूरा गर्न जरूरी भएको बताउनुभयो । 

महामन्त्री थापाले एउटा पार्टीले बहुमत ल्याउने प्रणाली निर्माण गर्न जोड दिँदै गठबन्धन गराउने निर्वाचन प्रणालीले नेपाल ध्वस्त बनाएको उल्लेख गर्नुभयो । उहाँले पाँच वर्ष चल्ने स्थिर सरकारका लागि बाटो खोज्न आवश्यक भएको भन्दै संसद् र सरकारलाई समावेशी बनाउने गरी सविधान संशोधन गर्न आग्रह गर्नुभयो । 

“अब एउटा पार्टीले बहुमत ल्याउनुपर्छ त्यसका लागि संविधान संशोधनको विकल्प छैन”, उहाँले भन्नुभयो । महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने होइन बरू यसलाई अझ उन्नत बनाउन खर्च कटौती गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले सङ्घ र प्रदेशमा उपराष्ट्रपति, उपसभामुख जस्ता पदका विषयमा सोच्नुपर्ने उल्लेख गर्दै सङ्घमा १० देखि १५ जना र प्रदेशमा तीनदेखि पाँच जनासम्म मन्त्री बनाउँदा खर्च कटौती हुने तर्क गर्नुभयो । महामन्त्री थापाले नेपालको सङ्घीयता अहिलेको जस्तो हुन नहुनेमा जोड दिँदै यसलाई संविधान संशोधनमार्फत सुधार गर्न आवश्यक भएको बताउनुभयो । 

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका बारेमा कांग्रेस स्पष्ट रहेको औँल्याउँदै उहाँले कांग्रेस राष्ट्रिय शक्तिका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले जनताका असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भएको उल्लेख गर्दै नेपालको राजसंस्था कहिल्यै संवैधानिक नभएको टिप्पणी गर्नुभयो । 

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य, मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेशसका कांग्रेस सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेललगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर नभएको बताउनुभयो ।