काठमाडौँ, जेठ २० गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताउनुभएको छ ।
मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शीर्ष तहसम्म संलग्नता देखिए कानुनअनुसार कारबाही हुनुपर्ने बताउनु भयो । अघिल्लो गृहमन्त्री रवि लामिछानेको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको उहाँको टिप्पणी छ ।
उहाँले भन्नुभयो, ‘उजुरी जो व्यक्तिमाथि परेको छ । त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनुपर्यो । अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरू र प्रधानमन्त्रीसम्म पुग्छ भने पनि जे कानुनको दायरा हो त्यो दायरमा सबै आउनुपर्छ ।’
उहाँले संसदीय छानबिन समिति बनाउनुभन्दा संवैधानिक अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनुपर्ने बताउनु भयो ।