उम्मेदवार जनार्दन शर्माद्वारा मतदान
प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले मतदाता गर्नुभएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका शर्माले मुसिकोट नगरपालिका –५ स्थित यमुनानन्द नमुना मावि सेरीगाउँको ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो ।
बागलुङमा मतदाता उत्साहित
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा मतदान सुरु भएको छ । जिल्लाभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
सर्लाहीका ६२८ वटै मतदान केन्द्रमा मतदान सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका ६१२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाभर शान्तपूर्वक मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।
धनकुटामा एमाले उम्मेदवार राजेन्द्रकुमार राईद्वारा मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले)का राजेन्द्रकुमार राईले मतदान गर्नुभएको छ।
प्रथम महिला पौडेलद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
दाङ– २ मा एमाले महासचिव पोखरेलद्वारा मतदान
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बिहीबार बिहान मतदान गर्नुभएको छ।
उपाध्यक्ष पौडेलद्वारा मतदान
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल बिहीबार बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।
मतदान गरेर फर्किदै १०५ वर्षीय खड्का
काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा बिहान मतदान गरेर फर्किनु हुँदै बुढानीलकण्ठ-२ का १०५ वर्षीय चन्द्रबहादुर खड्का । तस्बिरः विमलबहादुर विष्ट/रासस
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा मतदान
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत वडा नं २९ को मिलन विद्या मन्दिरमा मतदान गर्नुभएको छ । यसैगरी, निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने अर्का निर्वाचन आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुलीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु
धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।
देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्वमन्त्री राईद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको नेपालगन्जमा मतदान सुरु भएको छ। विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएकोे छ । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान
उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
चितवनमा मतदान सुरु, प्रचण्डद्वारा मतदान
चितवनमा मतदान सुरु भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेसँगै जिल्लामा मतदान प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।
तनहुँमा मतदान सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । जिल्लाका १४४ मतदानस्थल र ३०९ मतदान केन्द्रमा मतदान सुरु भएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र कायम छन् । यहाँ दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिनुभयो ।
बागलुङका उम्मेदवारले कहाँबाट मतदान गर्छन् ?
बिहीबार हुने निर्वाचनमा बागलुङका अधिकांश उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मत खसाल्ने भएका छन्। एक जना उम्मेदवारले भने आफूलाई मतदान गर्न पाउने छैनन्।
झापामा मतदान सुरुः सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा
यहाँ उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको राससलाई जानकारी दिनुभयो ।
सल्यानमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सुरु
सल्यानमा बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा बिहानैदेखि कर्मचारीहरू आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।
निर्वाचन आयुक्त सगुन शम्शेर जबराद्वारा मतदान
प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मतदान गर्नुभएको छ ।
देशभर मतदान सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो ।
‘लोकतान्त्रिकमा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान हो’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान भएको बताउनुभएको छ ।
मतपरिणाम चौबिस घण्टाभित्रै
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदका लागि मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालय पु¥याइने र राजनीतिक सहमति भएलगत्तै गणना कार्य सुरु हुने आयोगले जनाएको छ ।