• २१ फागुन २०८२, बिहिबार

चितवनमा मतदान सुरु, प्रचण्डद्वारा मतदान

blog

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पश्चिम चितवनको शान्तिपुरस्थित प्रहरी स्कुलबाट मतदान गर्नुहुँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, फागुन २१ गते ।
चितवनमा मतदान सुरु भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेसँगै जिल्लामा मतदान प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।

दाहालले पश्चिम चितवनको शान्तिपुरस्थित प्रहरी स्कुलबाट मतदान गर्नुभएको हो। बिहीबार बिहान ७स्२० बजे उहाँले मत खसाल्नुभएको हो। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैसँग आग्रह गर्नुभयो।

चितवनमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन्। प्रचण्डले मतदान गर्नुभएको क्षेत्र नं. ३ मा २३ जना उम्मेदवार रहेका छन्। निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार क्षेत्र नं. ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेका छन्। तीमध्ये ७५ हजार ६९६ जना पुरुष, ७९ हजार ६१२ जना महिला तथा एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन्। विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए।

यस्तै, क्षेत्र नं. १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन्। तीमध्ये ७६ हजार ७६१ जना पुरुष र ७२ हजार ८६० जना महिला रहेका छन्। यस क्षेत्रमा ५६ वटा मतदान स्थल र १६८ वटा मतदान केन्द्र रहेका छन्।

क्षेत्र नं.२ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन्। तीमध्ये ६७ हजार ८५७ जना पुरुष, ६९ हजार २९४ जना महिला तथा एक जना तेस्रो लिङ्गी रहेका छन्। यहाँ ४८ वटा मतदान स्थल र १५२ वटा मतदान केन्द्र रहेका छन्।