• १७ चैत २०८२, मङ्गलबार

शैक्षिक पूर्वाधार विकासको प्रतिबद्धता

blog

प्रेमराज सिम्खडा

कालीकोट, चैत १७ गते ।  गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट कालीकोटका कालीबहादुर सहकारी प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । २०१४ साल चैत ७ गते कालीकोटको नरहरिनाथ गाउँपालिका–५, रुप्सामा जन्मिएका सहकारीले प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “त्यतिबेला घरनजिक शैक्षिक संस्था थिएन । त्यसैले पनि शैक्षिक यात्रा अगाडि बढाउन सकिएन ।”

पढाइपछि उहाँले १९ वर्षसम्म नरहरिनाथ–५ स्थित जनता माविमा अध्यापन गर्नुभयो । शिक्षण पेसा छोडेको ३० वर्षपछि यस पटक प्रतिनिधि सभाको सांसद बन्नुभयो । उहाँलाई नेपाली कांग्रेसले यस पटक पिछडिएको क्षेत्रबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बनाएको हो । उहाँ सांसद बनेसँगै नेपाली कांग्रेस कालीकोटका तर्फबाट ३४ वर्षपछि संसद् प्रवेश गर्ने अवसर पाएको छ । कालीकोट कांग्रेसले २०४८ मा तिलकप्रसाद न्यौपानेपछि हालसम्म प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अवसर पाएको थिएन । 

कालीबहादुरले नेपाली कांग्रेसमा आस्था राखेकै कारण तत्कालीन माओवादी कार्यकर्ताले उहाँको घर लुटपाट गरेका थिए । उहाँ भन्नुहुन्छ, “माओवादीले सशस्त्र युद्ध सुरु भएपछि गाउँमा बस्न सक्ने अवस्था नै रहेन र शिक्षण पेसा पनि छाडेर म पूर्णकालीन रूपमा राजनीति र सामाजिक काममा संलग्न हुँदै आएँ ।’’

लामो समयको प्रतीक्षापछि संसदीय यात्रामा पुगेका सहकारीले कर्णालीको विकासका लागि संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँ भन्नुहुन्छ, “संसद्मा कर्णालीका जनताका आधारभूत आवश्यकतासँगै सडक, शैक्षिक पूर्वाधार, स्वास्थ्य संस्थाको विकासका लागि आवाज उठाउने मेरो पहिलो प्राथमिकता हुने छ ।” उहाँले सरकारका कामलाई गुणदोषका आधारमा खबरदारी गर्न आफू तत्पर रहने पनि बताउनुभयो । नेपाली कांग्रेस कर्णाली प्रदेश समिति उपसभापतिसमेत हुनुहुन्छ ।

  २०४६ सालको जनआन्दोलनमा सहभागी भएका सहकारी २०५० सालमा सन्तनेता कृष्णप्रसाद भट्टराईबाट पार्टीको सदस्यता प्राप्त गरेको स्मरण गर्नुहुन्छ ।