• १७ चैत २०८२, मङ्गलबार

चार सय शय्याको अस्पताल निर्माण ठेक्का ढिलाइ, बजेट फ्रिज हुने जोखिम

blog

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण हुने चार सय शय्याको अस्पताल भवनको स्केच।

लीलाधर वली 
घोराही, चैत १७ गते ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार सय शय्याको नयाँ अस्पताल निर्माणका लागि करिब ५ कट्ठा जग्गा खाली गरिसकेको छ । तर बहुवर्षीय ठेक्का स्वीकृति र स्रोत सुनिश्चित नहुँदा भवन निर्माणको काम अघि बढ्न सकेको छैन ।

अस्पताल भवन निर्माणका लागि चालु आर्थिक वर्षमै ठेक्का लगाउनुपर्ने भए पनि समय कम र अनुमति नपाउँदा चुनौती थपिएको छ । प्रतिष्ठानले घोराही–१४ स्थित ट्राफिक चोकमा निर्माण गर्न लागेको चार सय शय्याको अस्पतालका लागि सरकारले कुल ८८ करोड रुपियाँ बिनियोजन गरेको छ, जसमध्ये ७७ करोड रुपियाँ प्रतिष्ठानलाई पठाइसकेको छ ।

निमित्त उपकुलपति श्याम लम्सालका अनुसार, चालु आर्थिक वर्षभित्रै निर्माण अघि बढाउने तयारी भए पनि अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का स्वीकृति र स्रोत सुनिश्चित नपाएको कारण प्रक्रिया रोकिएको छ । प्रतिष्ठानले आवश्यक सबै मापदण्ड पूरा गरेर फाइल राष्ट्रिय योजना आयोगमा पठाइसकेको र स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट स्वीकृति पाएपछि असार महिनासम्म ठेक्का लगाउन सकिने लम्सालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म विभिन्न कारणले स्वीकृति नपाउँदा ढिलाइ भएको हो। नयाँ सरकार गठन भएसँगै बहुवर्षीय ठेक्का स्वीकृति र स्रोत सुनिश्चित भएसँगै असारसम्म ठेक्का सम्झौता हुनेछ। बिनियोजन भएको बजेट फ्रिज हुनबाट बचाउन छिटो ठेक्का प्रक्रियालाई अघि बढाउन आवश्यक छ।”

प्रतिष्ठानको चार सय बेडको नयाँ भवन निर्माणमा करिब ४ अर्ब ५१ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । यसअघिदेखि प्रतिष्ठानले पुरानो भवनबाट तीन सय शय्याको अस्पताल सेवा, एमबिबिएस, बीएससी नर्सिङ, बीएनएस कक्षा लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।