• १७ चैत २०८२, मङ्गलबार

वाग्ले अर्थमन्त्री बनेपछि तनहुँमा विकासको अपेक्षा

blog

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अमरराज नहर्की
तनहुँ, चैत १७ गते ।
तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएपछि तनहुँवासी उत्साहित भएका छन् । जिल्लाबाटै प्रतिनिधित्व गर्ने नेताले देशको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी पाएपछि वर्षौँदेखि थाँती रहेका विकासका समस्या सुल्झिने आशा स्थानीयले गरेका छन् ।

स्थानीयका लागि यो केवल राजनीतिक गौरवको विषय मात्र नभई अलपत्र आयोजना, रोकिएको मुआब्जा र जोखिममा परेका बस्तीको न्यायोचित व्यवस्थापनका लागि ठोस पहल हुने भरोसा बनेको छ ।

व्यास नगरपालिका–१२, देउरालीका मतदाता राजन पन्थ विकास, सुशासन र आर्थिक सुधारका एजेण्डासहित पठाएको नेतृत्व अर्थ मन्त्रालय पुग्दा आठ वर्षदेखि अलपत्र भानुभक्त प्राणी उद्यानले गति लिनेमा विश्वस्त हुनुहुन्छ । उद्यानबाट प्रभावितले ४६ करोड रुपियाँ मुआब्जा पाउने निर्णय भए पनि बजेट निकासा नहुँदा स्थानीयले न रकम पाएका छन्, न त रातोपुर्जा नै हातमा परेको छ । अर्थमन्त्रीको आफ्नै निर्वाचन क्षेत्रको यो मुख्य गतिरोध अब अन्त्य हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, आँबुखैरेनी–५ र भरतपुर–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल १२ वर्षदेखि अलपत्र छ । बुद्धसिंह मार्ग सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगर सो पुलसँगै मार्गमा पर्ने सुँढेखोला, ढाँडखोला, खानीखोला, बगरखोला र भूतखोलामा पुल निर्माणको कामले अब तीव्रता पाउने आशा व्यक्त गर्नुहुन्छ ।

यता, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३, बेलवासका बासिन्दाले पनि सुरक्षित पुनस्र्थापनाको माग गरेका छन् । आयोजनाको तटबन्धका कारण सेती नदीको धार बस्तीतर्फ सोझिएकाले १७० घरधुरी जोखिममा रहेको सरोकार समितिका अध्यक्ष यमबहादुर आलेको भनाइ छ । विस्तृत अध्ययन प्रतिवेदनमै डुबानको जोखिम औँल्याइएको यो क्षेत्रको समस्या अब न्यायोचित रूपमा सम्बोधन हुने स्थानीय लेखनाथ बास्तोलाको अपेक्षा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका जिल्ला सभापति विश्वनाथ बास्तोला र व्यास नगर सचिव अञ्जु दाहालले अर्थशास्त्र र नीतिगत अनुभव भएको व्यक्ति अर्थमन्त्री बन्नु देशकै लागि सकारात्मक सन्देश भएको बताउनुभयो । तनहुँको आवाज सिधै अर्थ मन्त्रालयसम्म पुगेको अनुभूति जिल्लावासीले गरेका छन् ।

राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्षका रूपमा काम गरिसक्नुभएका वाग्लेले सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधारलाई प्राथमिकतामा राख्दै आउनुभएको छ । भाषणभन्दा पनि अलपत्र योजनाको प्रगति, मुआब्जा निकासा र जोखिममा रहेका बस्तीको व्यवस्थापनजस्ता ठोस परिणामको प्रतीक्षामा अहिले तनहुँवासी छन् ।

वि.सं. २०३१ सालमा गोरखामा जन्मिनुभएका वाग्लेले अर्थशास्त्र र सार्वजनिक नीतिमा उच्च शिक्षा हासिल गर्नुभएको छ । उहाँ २०८० सालको उपनिर्वाचनमार्फत तनहुँ–१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाटै उहाँले ३८ हजार ४० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले पराजित गर्नुभएको थियो ।