• २१ फागुन २०८२, बिहिबार

बागलुङका उम्मेदवारले कहाँबाट मतदान गर्छन् ?

blog

कांग्रेस उम्मेदवार टेकराज पौडेलले मतदान गर्ने निसीखोला गाउँपालिका–४ को झिम्पास्थित जनजीवराज सुषिला मावि मतदान केन्द्र। तस्बिर सौजन्य : नवराज परियार

रामकृष्ण बोहरा
बागलुङ, फागुन २१ गते ।
बिहीबार हुने निर्वाचनमा बागलुङका अधिकांश उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मत खसाल्ने भएका छन्। एक जना उम्मेदवारले भने आफूलाई मतदान गर्न पाउने छैनन्।

बागलुङ क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीषले जैमिनी नगरपालिका–१० स्थित राङखानी मावि, डाँडाखानी मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ। नेकपा (एमाले)का उम्मेदवार हिराबहादुर केसीले लक्ष्मी मावि, धम्जास राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्काले बागलुङ नगरपालिका–३ स्थित कालिका कन्या माविस तथा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित पृथ्वी हिरण्य माविबाट मत खसाल्नुहुनेछ।

क्षेत्र नं. २ तर्फ नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलले निसीखोला गाउँपालिका–४ को झिम्पास्थित जनजीवराज सुषिला मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ। नेकपा (एमाले)का उम्मेदवार मञ्जु शर्माले गलकोट नगरपालिका–३ स्थित हटिया माविबाट मतदान गर्नुहुनेछ भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ज्ञामनाथ गैरेले गलकोट नगरपालिका–६ स्थित पार्वती माविबाट मत खसाल्नुहुनेछ। यस क्षेत्रका रास्वपाका उम्मेदवार सोम शर्माले भने आफूलाई मतदान गर्न पाउने छैनन्। उहाँको घर बागलुङ क्षेत्र नं.१ मा पर्छ।

गत निर्वाचनमा पनि बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित चित्रबहादुर केसी र क्षेत्र नं. २ बाट निर्वाचित देवेन्द्र पौडेल दुवैले आफूलाई मतदान गर्न पाउनुभएको थिएन। केसीको घर क्षेत्र नं. २ मा र पौडेलको घर क्षेत्र नं. १ मा पर्छ।

बागलुङमा १ सय ३२ मतदान केन्द्रबाट ९४ हजार ८ सय ६ जना पुरुष र ९८ हजार ५ सय ७४ जना महिला गरी कुल १ लाख ९३ हजार ३ सय ८१ जनाले मतदान गर्न पाउनेछन्।