अर्जुन कार्की
काठेखोला (बागलुङ) फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा मतदान सुरु भएको छ । जिल्लाभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
बिहानैदेखि मतदाताहरु उत्साहका साथ मत खसाल्न लामबद्ध भएका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ ।
बागलुङमा एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन् । पुरुष ९८ हजार ५७४, महिला ९४ हजार ८०६ र र अन्य एक जना मतदाता रहेका छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ मा धेरै मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९८ हजार ४६ जना र क्षेत्र नम्बर २ मा ९५ हजार ३३५ जना मतदाता रहेको छन् ।
निर्वाचनका लागि १ सय ७ मतदानस्थल र २ सय ३० केन्द्रबाट साँझ पाँच बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा मतदान गराउनका लागि बागलुङमा २३२ जना मतदान अधिकृत, २३२ सहायक मतदान अधिकृतसहित १ हजार ३८० जना कर्मचारी खटाइएको सूचना अधिकारी शर्माले बताउनुभयो ।
यस्तै मतदानस्थलमा सुरक्षाका लागि एक हजार २८२ जना म्यादी प्रहरी र ६३७ जना नेपाल प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । मतदानस्थलमा आवश्यकताको आधारमा सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।