• २१ फागुन २०८२, बिहिबार

सर्लाहीका ६२८ वटै मतदान केन्द्रमा मतदान सुरु

blog

लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुहुदैँ मतदाता । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका ६२८ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । 

सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाभर शान्तपूर्वक मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । 

मतदानका लागि मतदान केन्द्रहरुमा मतदाता लामवद्ध भएर बस्न सुरु गरेका छन् । मतदानलाई मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन गराउन जिल्लाभर तीन हजार ७०० कर्मचारी परिचालन भएका छन् । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र शान्तिपूर्णरुपमा सम्पन्न गर्न जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभयो । सरकारले गरेको निर्णय अनुसार बिहीबार (आज) मतदानको दिन अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालन हुन नदिन बिहानैदेखि पूर्वपश्चिम राजमार्गस्थित अन्य सडकमा प्रहरी खटिएर चेकिङ गरिरहेका छन् । 

निर्वाचनलाई लक्षित गरी प्रत्येक पालिकामा सादा पोसाकमा समेत व्यापक सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा १३१ जना प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्लाभर दुई लाख ७८ हजार ८३७ जना पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र अन्य ११ जनासहित पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् । 

नेपाली सेना, प्रहरी, कर्मचारी र कैदीबन्दीका लागि जिल्लाभर चारवटा अस्थायी मतदान केन्द्रसमेत तोकिएको छ । ३४ जना कैदीबन्दीसहित कर्मचारी, सेना र प्रहरी गरेर छ हजार ८७ जनाले समानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 

साँझ ५ बजे मतदान सकिएपछि सबै मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ । मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठक राखी आचारसंहिता तयार पारेर आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । 

क्षेत्र नं. १ मा लालबन्दी १० नं. वडा कार्यालयको भवन, क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिको सभा हल मलङ्गवा, क्षेत्र नं. २ मा नापी कार्यालय हरिवनको सभा हल र क्षेत्र नं. ४ मा बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना हुने छ ।