सिराज खान
नेपालगन्ज, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको नेपालगन्जमा मतदान सुरु भएको छ। विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
सोही क्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय नेता मोहम्मद ईश्तियाक राईले नेपालगन्ज–१५ स्थित आफ्नो मतदान केन्द्रमा मतदान गर्नुभएको छ। मतदान केन्द्रमा पुग्नुभएका राईले सो केन्द्रमा सबैभन्दा पहिले मत खसाल्नुभयो। उहाँ बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत हुनुहुन्छ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले लोकतन्त्रको महाकुम्भमा सहभागी भई मतदान गरेर आफ्नो जिम्मेवारी पूरा गरेको बताउनुभयो। साथै उहाँले सम्पूर्ण मतदातालाई लोकतन्त्रको यस सुन्दर महापर्वमा सहभागी भई विवेकपूर्ण मतदान गर्न अपिल गर्नुभयो।
उहाँले मतदानका लागि गरिएको व्यवस्थाप्रति सन्तोष व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।