लघुबीमाका लागि सात कम्पनी छनोट
नेपाल बीमा प्राधिकरणले लघुबीमा व्यवसाय सञ्चालन गर्न सातवटा कम्पनी छनोट गरेको छ । प्राधिकरणले आइतबार तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा कम्पनीका प्रस्तावलाई छनोट गर्दै लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाएको हो । लघु जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स लिमिटेड, विराटनगर (प्रदेश १), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, वीरेन्द्रनगर (कर्णाली) र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, पोखरा (गण्डकी) छनोट भएका हुन् ।
झन्झन् बढ्दै ‘ननफाइलर’
कर कानुनले तोकेको समयमा कर विवरण दाखिला नगर्ने (ननफाइलर)को सङ्ख्या बर्सेनि बढ्न थालेको छ । करदाताको सङ्ख्या बढ्दै गर्दा ‘ननफाइलर’को सङ्ख्या पनि झन् बढेको हो । आन्तरिक राजस्व विभागका अनुसार कर विवरणको सङ्ख्याका आधारमा ननफाइलरको सङ्ख्या क्रमिक बढेको देखिएको छ । विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा मात्रै मूल्य अभिवृद्धि करको विवरण दाखिला नगर्ने (ननफाइलर)को सङ्ख्या साढे सात लाख नाघेको छ ।
काठमाडौँ महानगरद्वारा पौने तीन अर्ब राजस्व सङ्कलन
काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा पौने तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न शीर्षकमा दुई अर्ब ७८ करोड १४ लाख २१ हजार १५२ रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ४२ करोड सात लाख १७ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
ब्याजदर नियन्त्रण गर्न स्प्रेडदर घटाइयो
नेपाल राष्ट्र बैङ्कले कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तरलाई अझै साँघुरो पारेको छ । आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूको स्प्रेडदर ४ प्रतिशत र विकास बैङ्क र फाइनान्स कम्पनीहरूको ४.६ प्रतिशतमा सीमित गरेको हो । पछिल्लो समय वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको भन्दै बैङ्कहरूले अत्यधिक प्रिमियम असुलिरहेको र ब्याज बढाएको भन्ने आरोप लागेका बेला राष्ट्र बैङ्कले यस्तो कदम चालेको हो । हाल ‘क’ वर्गका वित्तीय संस्थाका लागि ४.४, ‘ख’ र ‘ग’ वर्गका लागि ५ प्रतिशतको स्प्रेडदरको सीमा तोकिएको थियो । यसलाई ०.४ प्रतिशत विन्दुले कम गरिएको हो ।
भटमास खेतीबाट मनग्य आम्दानी
दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ । गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्दानी गर्नुभयो । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु तीन लाख ५० हजार आम्दानी गर्नुभएको छ ।
विराटनगर आईसीपी : थप पूर्वाधार निर्माणको प्रक्रिया सुरु
विराटनगर–१८, बुधनगरमा निर्माण गरिएको कस्टम यार्ड विस्तार प्रक्रिया अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँचमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेनर र रेल यार्डका लागि ७० करोड रुपियाँको लागत अनुमान गरिएको छ । तत्कालका लागि कस्टम यार्ड र एकीकृत जाँच चौकी (आईसीपी) जोड्ने पहुँचमार्ग विस्तारका लागि ६० लाख रुपियाँको लागत अनुमान गरिएको छ ।
थपिँदै ८११ मेगावाट, स्वदेशी उत्पादन बढ्ने भएपछि विद्युत् आयात घट्ने
चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन् । विद्युत् विकास विभागमा पेस गरिएको व्यावसायिक उत्पादनको तालिकाअनुसार चालू आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् । कात्तिक मसान्तभित्र थपिएको यी १० आयोजनाले १२७.६८ मेगावाट उत्पादन थालिसकेका हुन् ।
मासिक एक लाखसम्म पेन्सन
सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् ।
धान खरिद गर्न आलटाल, व्यापारीलाई लाभ किसान मर्कामा
समयमा धान खरिद नगर्दा व्यापारीले धमाधम किसानबाट सस्तो मूल्यमा धान खरिद गरिरहेका छन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको झन्डै एक महिना बितिसक्दा पनि खरिद गर्न सुरु नगरेपछि त्यसको लाभ व्यापारीलाई भइरहेको छ भने किसान मर्कामा छन् । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट धान खरिद सुरु नगर्दा किसान स्थानीय व्यापारीलाई सस्तोमा बेच्न बाध्य भएका छन् ।
सहकारीमा डिप्लोमा कोर्स सञ्चालन हुँदै
अब नेपालमा पनि डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन हुने भएको छ । आगामी पुस १ गतेदेखि सुरु हुन लागेको सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौँ विश्वविद्यालयमा सञ्चालन गरिने भएको हो । राष्ट्रिय सहकारी महासङ्घ र काठमाडौँ विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
औद्योगिक विकासका लागि नीतिगत सुधार आवश्यक
औद्योगिक विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रका व्यवसायीले बताएका छन्। आठौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो। औद्योगिक लगानी र पूर्वाधार : समृद्धिको बलियो आधार भन्ने नाराका साथ आठौँ उद्योग दिवस मनाइएको हो।
कोषले आइतबार थप दुई कार्यालय सञ्चालन गर्ने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आइतबारदेखि थप तीनवटा कार्यालयबाट सेवा सुरु गर्ने भएको छ। कोषले पाँचौँ सामाजिक सुरक्षा कोषको स्थापना दिवसका अवसरमा आइतबारदेखि पोखरा, बुटवल र नेपालगञ्जमा पनि कार्यालय सञ्चालन गर्ने भएको हो। यीसहित काठमाडौँबाहिर कोषका पाँच कार्यालय हुनेछन्। गएको भदौ ८ गतेदेखि सिमरा र विराटनगर शाखा कार्यालय सञ्चालन गरिएको थियो।
जगदम्बाले जोड्यो अठचालीस मेगावाट बिजुली
जगदम्बा इन्टरप्राइजेज नेपालको सबैभन्दा ठूलो विद्युत् खपतकर्ता बनेको छ। औद्योगिक उत्पादनका लागि हालसम्म चार मेगावाट खपत गरिरहेको सो उद्योगले अब ४८ मेगावाट विद्युत् खपत गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजलाई ४८ मेगावाटसम्म विद्युत् दिने भएको छ। बिहीबार थप विद्युत् आपूर्तिका लागि उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ।
पूर्ण क्षमतामा उत्पादन गर्दै मर्स्याङ्दी जलविद्युत्
तनहुँको मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ। यस वर्ष वर्षा धेरै भएकाले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ।
सहकारीले पुस मसान्तभित्र साधारण सभा गर्नुपर्ने
काठमाडौँ महानगरपालिकाले सहकारी संस्थालाई पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ। महानगरपालिकाअन्तर्गतको सहकारी विभागले सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सूचना जारी गरेको हो। पुस मसान्तसम्म साधारण सभा गर्न र १५ दिनभित्र साधारण सभाले पारित गरेको प्रमाणित प्रतिवेदन पेस गर्न विभागले जारी गरेको सूचनामा उल्लेख छ। विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारण सभामा उपस्थितिका लागि आह्वान गर्न भनेको छ।
मङ्सिर अन्तिम साता हस्तकला मेला
मङ्सिर अन्तिम साता १९औँ हस्तकला व्यापार मेला तथा १७औँ हस्तकला प्रतियोगिता हुने भएको छ। हस्तकला सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, प्रचारप्रसार तथा निर्यात व्यापार बढाउने उद्देश्यसहित सो मेला आयोजना हुन लागेको हो।
लिमीको जिम्बु काठमाडौँमा बिक्री
उच्च हिमाली क्षेत्र लिमीका पाटनमा पाइने जिम्बु काठमाडौँमा बिक्री गर्न थालिएको छ। अर्गानिक र गुणस्तरीय जिम्बु हुने भएकाले सहरमा त्यसको माग भएपछि लिमीको एक सहकारी संस्थाले काठमाडौँको बजारमा पठाएको हो। लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष कुन्चोक तामाङले हिमाली क्षेत्रका पाटनबाट लिमीवासीले सङ्कलन गरेको जिम्बु सहकारी संस्थाले खरिद गरी काठमाडौँ पु-याइएको बताउनुभयो।
‘स्वदेशी’ अभियानमा आबद्ध हुनेलाई सहुलियत
उद्योग मन्त्रालयका सचिव डा. तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभएको छ । आठौँ उद्योग दिवसका अवसरमा नेपाल उद्योग परिसङ्घले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सरकारले स्वदेशी उत्पादन वृद्धिलाई जोड दिएको जानकारी दिनुभयो । उहाँले औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालय काम गरिरहेको बताउनुभयो । मन्त्रालयले आगामी १० वर्षका लागि औद्योगिक नीति तयार गर्ने काम पनि अघि बढाइरहेको सचिव ज्ञवालीले जानकारी दिनुभयो । उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय भएकाले उद्योगीको समस्या समाधानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्यात घटेका बेला विद्युतले जगाएको आशा
नेपालको साँघुरिँदो निर्यात व्यापारको तस्बिरमा विद्युत् निर्यातको आँकडालाई समावेश गर्दा निर्यातको तस्बिर केही फरक पर्ने देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको विवरणले ५४ अर्ब ७७ करोड रुपियाँ बराबरको निर्यात भएको देखाउँछ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशतले कम हो ।
विद्युतीय बीजकको दायरा विस्तार
आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने करदाताको दायरा विस्तार गरेको छ । आगामी माघ १ गतेदेखि लागू हुने गरी विभागले करदाता थप गरेको हो । विभागका अनुसार माघदेखि मदिरा, बियर, वाइन, स्प्रिट उत्पादन गर्ने सबै करदाताले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्नेछ । त्यस्तै चुरोट उत्पादन गर्ने प्रतिष्ठान, गुट्खा उद्योग र गत आर्थिक वर्षदेखि वार्षिक पाँच करोड रुपियाँभन्दा बढीको कारोबार गर्ने सुर्तीजन्य उद्योगले पनि विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने विभागले जनाएको छ ।
नेप्से परिसूचक ११.५६ अङ्कले वृद्धि
दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ११.५६ अङ्क बढेर १९३३.५५ बिन्दुमा पुगेको छ ।
दाबी भुक्तानीको समयसीमा
सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका योगदानकर्ताले अस्पतालबाट सेवा लिएबापत भुक्तानी दाबी गर्ने रकमको समयसीमा तोकेको छ । कोषले सूचना सार्वजनिक गर्दै योगदाताकर्ताले स्वास्थ्य सेवा लिएबापत रकम भुक्तानीका लागि ९० देखि १२० दिनभित्र लिइसक्नुपर्ने समयसीमा तोकेको छ ।
राजस्व सङ्कुचनले अर्थतन्त्र दबाबमा
तोकिएको लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्दा अर्थतन्त्र दबाबमा परेको अर्थ मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अन्तिम दिन बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा तरलता अभाव, वस्तु र सेवाको मागमा आएको सङ्कुचन र बाह्य असन्तुलन नियन्त्रणका लागि कार्यान्वयन गरिएका कतिपय नीतिका कारण राजस्व सङ्कलनमा सङ्कुचन आएको उहाँहरूले बताउनुभयो । राजस्वमा देखिएको यस्तो सङ्कुचन इतिहासकै सबैभन्दा कठिन समय भएको पनि उहाँहरूको भनाइ छ ।
आन्तरिक उडान भरिभराउ
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका कारण आन्तरिकतर्फको हवाई उडान भरिभराउ भएको छ । पछिल्लो समय मतदानमा सहभागी भएर आफ्नो थातथलोबाट राजधानी भित्रिने यात्रुको चापले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भरिभराउ छ । अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रुको चाप बढ्दै गएको बताउनुभयो । हाल चाडपर्वपछि विदेशबाट फर्किने, वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि बाह्य मुलुक जाने यात्रुले अन्तर्राष्ट्रिय उडान र निर्वाचनको चहलपहलले आन्तरिकतर्फको उडान भरिभराउ रहेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय काठमाडौँ विमानस्थलबाट आन्तरिकतर्फ दैनिक ११ हजार र अन्तर्राष्ट्रियतर्फ दैनिक १४ हजार यात्रुले ओहोरदोहोर गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।