• १३ साउन २०८१, आइतबार

रारा विमानस्थलको टर्मिनल भवन वर्षौँदेखि अलपत्र हुँदा उडानमा समस्या

blog

रारा विमान स्थल ताल्चामा सुविधायुक्त निर्माणाधीन टर्मिनल भवन । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, माघ ५ गते । लामो समय देखि अलपत्र रहेको रारा विमानस्थलको ट्रस टर्मिनल भवन अझै निर्माण सम्पन्न नहुँदा उडान प्रभावित बन्दै आएको छ । गत वर्षनै निर्माण सम्पन्न हुनु पर्ने भवनको निर्माण ठेकेदार कम्पनी ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनको बदमासीका कारण पर्यटक र कर्णालीवासीले समस्या खेप्नु परेको छ । 

टर्मिनल भवन निर्माणका लागि सम्झौताको समय कटेपनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको स्थानीयको आरोप छ । ओमबद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्नलाई २०७६ साल असोज १६ मा ३० महिना भित्र आठ करोड ६५ लाख नौं हजार ९९४ रुपियाँको लागतमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । नागरिक उड्डयन प्राधिकरण एरोड्म  इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीका अनुसार  निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो । हालसम्म आयोजनाको ६० प्रतिशत काम मात्र भएको उहाँ बताउनुहुन्छ ।

रारा नागरिक उड्डयन कार्यालय ताल्चाका कार्यालय प्रमुख रामोन भट्टराई निर्माण कम्पनीले समयमै काम नसक्दा पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर काम गर्नुपरेको बताउनुहुन्छ । ‘निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा सामान्य हावा लाग्दासमेत हल्लिने काठको भवन र टहरामै जोखिम मोलेर काम गरिरहेका छौँ, उहाँले भन्नुभयो । 

रारा विमानस्थलमा समयमै टर्मिनल भवन सम्पन्न नहुँदा आउजाउ गर्ने यात्रुलाई घाम पानी र हावा हुरी लागेको बखतमा ओत लाग्नेसम्म ठाउँ नहुँदा प्रत्यक्ष असर परेको  स्थानीय पूर्णबहादुर खत्री बताउनुहुन्छ । ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताउनुहुन्छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको लागि म्याद थपिएको तर उक्त अवधिमा पनि काम सकिने सम्भावना नरहेको भन्दै जनतालाई दु:ख दिने गरी कुरा टार्ने गरेका छन् । 

स्थानीय दीपेन्द्र भाम समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई ताकेता नगर्नु सम्बन्धित निकायको कमजोरी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सेवाग्राहीले प्रत्यक्ष मार खेप्दै आएका छन् तर सम्बन्धित निकायले लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्नेमा मौन छ ।’

२०६० साल देखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा  कालोपत्र गरेपनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ ।