• १३ साउन २०८१, आइतबार

इन्धनको मूल्य यथावत्

blog

काठमाडौँ, माघ ४ गते ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १६ जनवरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको प्रतिलिटर दुई रुपियाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भइरहेको र पेट्रोलको मूल्य बढेर आएकाले हालका लागि यथावत् राखिएको निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउँछ । 

पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि निगमले तेल खरिद गरेको बक्यौता रकम र ऋण देखाएर मूल्य घटाएको थिएन । गत पुस २४ गते प्रधानमन्त्रीको निर्देशनमा निगमले पेट्रोल डिजेल र मट्टीतेल प्रतिलिटरमा तीन रुपियाँ, हवाई इन्धन प्रतिलिटरमा २० रुपियाँ र हवाई इन्धन बाह्यमा ३० रुपियाँ मूल्य घटाएको थियो ।  हाल बजारमा पेट्रोल प्रतिलिटर १७५, डिजेल/मट्टीतेल प्रतिलिटर १७२, हवाई इन्धन आन्तरिक प्रतिलिटर १७० र खाना पकाउने एलपीजी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।