काठमाडौँ, असार २४ गते। नेपाल जनप्रशासन सङ्घले यस वर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ।
नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले सो जानकारी दिनुभएको हो।
उहाँका अनुसार मल्लले न्यायिक नेतृत्व र संस्थागत विकासमा अनुकरणीय योगदान पु¥याएकोले २०५७ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थिये।
उहाँका अनुसार लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठन भएको छनौट समितिमा सदस्यहरु नेपाल जन–प्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्व सहसचिव जीवराज कोइराला तथा आमन्त्रित सदस्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा रहनुभएको थियो।
वि.सं. १९९५ सालमा निसिभुजी, बाग्लुङमा जन्मनुभएको हेमबहादुर मल्ल साल्ट ट्रेडिङ कर्पोरेसनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गर्नुभएको थियो।
उहाँ नेसनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स लिमिटेड र सुवर्ण फर्मास्युटिकल्स लिमिटेडको अध्यक्ष र गोरखकाली रबर उद्योग उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड र हितकारी गुठीको सञ्चालक हुनुहुन्थ्यो। यस अतिरिक्त नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन सङ्घको कार्यकारी सदस्य पनि हुनुहुन्थ्यो। उहाँको स्वर्गारोहण २०५७ सालमा भएको हो।
यसैगरी, कानुन राजनीतिशास्त्रमा औपचारिक शिक्षा हासिल गर्नुभएका श्रेष्ठले जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायधीश हुँदै २५ औं प्रधानन्यायाधीश बन्नुभएको थियो। दश वर्षे द्वन्द्वको अवसान, बृहत शान्ति सम्झौता, संविधानसभाको निर्वाचनजस्ता घटनाहरुका बखत श्रेष्ठको न्यायिक सक्रियता विशिष्ट रहेको उहाँको भनाइ छ।
उहाँलाई असार २६ गते बिहीबार कार्यक्रम आयोजना गरी अभिनन्दनपत्र र नगद दुई लाख रुपियाँसहित सम्मान प्रदान गरिनेछ।
यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा। देवेन्द्रराज पाण्डे, कुलमन घिसिङ, डा। सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपााध्याय, गोरक्षबहादुर न्हुच्छे, भानुप्रसाद आचार्य र डा. भेषबहादुर थापा सम्मानित भइसक्नुभएको छ।