निर्वाचन आयोगले ५३ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगले निर्वाचनका लागि बिहीबारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छाप्ने काम सकिएको जनाएको हो ।
केन्द्रीय सुरक्षा समिति बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सिंहदरबारमा बस्यो । बैठकमा स्थानीय तह निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा ३० वैशाखमा हुने तय भएको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको जानकारी दिनुभयो ।
बैतडीको बिन्द्रावन, भूमिराज, श्रीकेदार र सेला सामुमदायिक वनमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । एक हप्तादेखि लागेको आगोले हजारौं हेक्टर वन क्षेत्र सखाप पारेको छ ।
पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो ।
काठमाडौँ, वैशाख ८ गते । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि ४४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले बिहीबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा ४४ खेलाडी बोलाएको हो । प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ महिला क्रिकेटमा सहभागिता जनाएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षण क्याम्पमा बोलाएको क्यानले जनाएको छ । बन्द प्रशिक्षण वैशाख १० गतेबाट सुरु हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ । यस विश्वकपमा १६ देशको सहभागिता रहनेछ । क्यानले बन्दप्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा हेलिषा गुरुङ, किरण कुमारी कुवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामीमगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामाया रोय, स्नेहा महरा र मनिषा उपाध्याय हुनुहुन्छ ।यसैगरी बिना थापा, अन्जिला थापा, मनिष चौधरी, बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यसु पाण्डे, जोति दनवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष रानामगर, दिक्षा पुरी, नितु घर्तीमगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा, लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ ।
काठमाडौं वैशाख ८ गते । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा भएको तीन दिने 'नेपाल ग्रामीण चलचित्र महोत्सव' सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा भएको महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट नौ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङले निर्देशन गर्नुभएको तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र 'फुङ'लाई अवार्ड प्रदान गरियो ।यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित 'मकै विवाह'ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले अवार्ड जितेको हो ।सर्वोकृष्ट अभिनेतामा 'चिसो आत्मा'बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ 'मौन प्रतिशोध'बाट शारदा अधिकारीले अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत 'टुल्की'ले अवार्ड प्राप्त गरेको हो ।साथै 'स्क्रिन प्ले'तर्फ 'टुल्की'बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ 'टिष्टापारीको साईनो'बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गर्नुभयाे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म 'मौन प्रतिशोध'लाई जुरी अवार्ड प्रदान गरियो ।
प्रधान सेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित “सैनिक आचारसंहिता कार्यक्रम–२०७९’’ समारोहलाई सम्बोधन गर्दै सेनापति शर्माले सेना समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित रहनुपर्ने बताउनुभयो ।
राजन रावतहुुम्ला, वैशाख ८ गते । यस पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सयभन्दा बढी परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट बिधार्थी एसईईमा सहभागिता जनाउन लागेका हुन । शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख तिलक भट्टराईकाअनुसार आगामी शुक्रवार बिहान सुरु हुने एसईई परीक्षामा हुम्ला जिल्लाबाट एक हजार १४६ जना विद्यार्थी सहभागिता जनाउने छन् । परीक्षामा ५४९ छात्रा र ५९८ जना छात्र रहनुभएको छ । पहिलो पटक हुम्लाबाट छात्राभन्दा छात्रको संख्या बढी देखिएको छ । यसअघिका परीक्षामा छात्राको संख्या बढी हुनेगथ्र्यो । यो संख्या जिल्लाका कुल २८ वटा माध्यमिक विद्यालयबाट नियमित र खुल्लातर्फको हो । यसमा खुल्लातर्फ ४४ जना परक्षिार्थी रहेका छन् । ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सुर्योदय मावि श्रीनगर र र ताँजाकोट गाउँपालिकाबाट मदानादेब मावि रहेका छन् । यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन् । सबै परीक्षा केन्द्रमा प्रश्नापत्र, उत्तरपुस्तिका र केन्द्राध्यक्ष पुुगेको इकाईले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एइहानोम गेब्रेयससले भेटर्वार्ता गर्नुभएको छ । तीन दिने नेपाल भ्रमणको क्रममा उहाँ बिहीबार काठमाडौं आइपुग्नुभएको हो । उहाँले बिहीबार नै स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गर्नुभएको हो ।
काठमाडौं, वैशाख ८ गते । कैलाली जिल्लाको गोदावरी नगरपालिकाका सातजना कर्मचारीसहितको मिलोमतोमा झण्डै तीन करोड रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले बिहीबार सातजना कर्मचारीविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र ठेक्केदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर आयोगको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत सातजना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको छ । आयोगले तत्कालीन प्रशासकीय अधिकृत खेमराज भट्टविरुद्ध ३१ लाख ३७ हजार ८५३ रुपियाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । यसैगरी, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी २५ लाख ५२ हजार ८८६ रुपियाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४०, तत्कालीन सब इन्जिनियर ज्ञानेन्द्र बुढा ४३ लाख १७ हजार ६६६ र तत्कालीन सब इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४५९ रुपियाँ आर्थिक हिनामिना गरेको अभियोग लगाइएको छ । यसैगरी, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर बिष्टले ५३ लाख ५१ हजार २३४ हानि नोक्सानी गरेको र निर्माण व्यवसायी गणेश विष्टले ५० लाख ३१ हजार ५४ रुपियाँ हिनामिना गरेको आयोगको दाबी छ ।
काठमाडौं, वैशाख ८ गते । कौशी थियटरमा नाटक 'उलार' मञ्चन सुरु भएको छ । नयनराज पाण्डेको उपन्यासको नाट्य रूपान्तर 'उलार' बैशाख ६ गतेदेखि मञ्चन भएको हो ।२५ वर्षअघि प्रकाशित नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्तकृत जनताको संघर्षको कथा हो 'उलार' । उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई देखाइएको छ । यस नाटकमा थिएटर क्वुइन सरिता गिरी, सबिर चरौटे, शेखर चौलागाँई, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूले अभिनय देख्न सकिन्छ ।चे शंकरले निर्देशन गर्नुभएको नाटक वैशाख १८ गतेसम्म चल्नेछ ।
निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
काठमाडौँ, वैशाख ८ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको तेस्रो दिन भुवन नगरकोटीले एकल अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगितामा बिहीबार भुवनले ६ अन्डर ६२ खेल्नुभयो । ५४ होलको समाप्तिसँगै भुवनको कूल ११ अन्डर एक सय ९३ स्कोर छ । भुवनले दोस्रो स्थानमा रहनुभएका भुवन कुमार रोक्कालाई एक स्ट्रोकले पछि पार्नुभएको छ । बिहीबार दुई अन्डर ६६ खेल्नुभएको रोक्काको कूल १० अन्डर एक सय ९४ स्कोर छ । कूल नौ अन्डर एक सय ९४ स्कोरका साथ सन्जय लामा तेस्रो स्थानमा झर्नुभएको छ । अघिल्लो दिन शीर्षस्थान कब्जा गर्नुभएको लामाले बिहीबार इभनपार ६८ मा चित्त बुझाउनु भयो । दिनेश प्रजापती र दीपक थापामगर एक सय ९७ स्कोरका साथ संयुक्त चौथो स्थानमा हुनुहुन्छ । यसैगरी एमेच्योरतर्फ कूल ६ अन्डर एक सय ९८ स्कोरका साथ सुवास तामाङ उपाधि नजिक पुग्नुभएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवासले बिहीबार तीन अन्डर ६५ खेल्नुृभयो । दोस्रो स्थानमा रहन सफल सुरेस तामाङको कूल ११ ओभर दुई सय १५ स्कोर छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धाको यस प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ४५ हजार रुपियाँ रहेको छ । प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुगेका २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
काठमाडौं, वैशाख ८ गते । अभिनेत्री केकी अधिकारी र रोहित तिवारीबीच आज विवाह हुँदैछ । बुधबार सामाजिक सञ्जालमा उहाँहरुको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको हो ।नायिका केकी अधिकारीले आफ्नो नजिकका साथीभाइलाई भन्ने गर्नुहुन्थ्यो, 'म सुटुक्क बिहे गर्छु । भोज पनि गर्दिन । नरिसाउनुहोला है ।' केकीको पहिलेदेखि नै सुटुक्क विवाह गर्ने योजना थियो । बिहीबार परिवार र निकट आफन्तको उपस्थितिमा केकीको विवाह हुने जनाइएको छ ।एक वर्षदेखिकाे प्रेम सम्बन्धलाई यी दुईले बिहेमा परिणत गर्न लाग्नुभएकाे हाे । रोहित हाम्रो बजार डटकमका सीईओ हुनुहुन्छ ।
भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।