राजन रावतहुुम्ला, वैशाख ८ गते । यस पटकको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा हुम्ला जिल्लाबाट एघार सयभन्दा बढी परीक्षार्थीले सहभागिता जनाउने भएका छन् । जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट बिधार्थी एसईईमा सहभागिता जनाउन लागेका हुन । शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख तिलक भट्टराईकाअनुसार आगामी शुक्रवार बिहान सुरु हुने एसईई परीक्षामा हुम्ला जिल्लाबाट एक हजार १४६ जना विद्यार्थी सहभागिता जनाउने छन् । परीक्षामा ५४९ छात्रा र ५९८ जना छात्र रहनुभएको छ । पहिलो पटक हुम्लाबाट छात्राभन्दा छात्रको संख्या बढी देखिएको छ । यसअघिका परीक्षामा छात्राको संख्या बढी हुनेगथ्र्यो । यो संख्या जिल्लाका कुल २८ वटा माध्यमिक विद्यालयबाट नियमित र खुल्लातर्फको हो । यसमा खुल्लातर्फ ४४ जना परक्षिार्थी रहेका छन् । ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सिमकोट गाउँपालिकाबाट मानसरोवर मावि र बालमन्दिर मावि, सर्केगार्ड गाउँपालिकाबाट हिमज्योति मावि सर्केगार्ड र कोट मावि रोडिकोट, अदानचुली गाउँपालिकाबाट सुर्योदय मावि श्रीनगर र र ताँजाकोट गाउँपालिकाबाट मदानादेब मावि रहेका छन् । यता चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने केन्द्र छैन् । सबै परीक्षा केन्द्रमा प्रश्नापत्र, उत्तरपुस्तिका र केन्द्राध्यक्ष पुुगेको इकाईले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एइहानोम गेब्रेयससले भेटर्वार्ता गर्नुभएको छ । तीन दिने नेपाल भ्रमणको क्रममा उहाँ बिहीबार काठमाडौं आइपुग्नुभएको हो । उहाँले बिहीबार नै स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गर्नुभएको हो ।
काठमाडौं, वैशाख ८ गते । कैलाली जिल्लाको गोदावरी नगरपालिकाका सातजना कर्मचारीसहितको मिलोमतोमा झण्डै तीन करोड रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले बिहीबार सातजना कर्मचारीविरुद्ध काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र ठेक्केदारले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिएको ठहर आयोगको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत सातजना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको छ । आयोगले तत्कालीन प्रशासकीय अधिकृत खेमराज भट्टविरुद्ध ३१ लाख ३७ हजार ८५३ रुपियाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । यसैगरी, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी २५ लाख ५२ हजार ८८६ रुपियाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४०, तत्कालीन सब इन्जिनियर ज्ञानेन्द्र बुढा ४३ लाख १७ हजार ६६६ र तत्कालीन सब इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४५९ रुपियाँ आर्थिक हिनामिना गरेको अभियोग लगाइएको छ । यसैगरी, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर बिष्टले ५३ लाख ५१ हजार २३४ हानि नोक्सानी गरेको र निर्माण व्यवसायी गणेश विष्टले ५० लाख ३१ हजार ५४ रुपियाँ हिनामिना गरेको आयोगको दाबी छ ।
काठमाडौं, वैशाख ८ गते । कौशी थियटरमा नाटक 'उलार' मञ्चन सुरु भएको छ । नयनराज पाण्डेको उपन्यासको नाट्य रूपान्तर 'उलार' बैशाख ६ गतेदेखि मञ्चन भएको हो ।२५ वर्षअघि प्रकाशित नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्तकृत जनताको संघर्षको कथा हो 'उलार' । उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई देखाइएको छ । यस नाटकमा थिएटर क्वुइन सरिता गिरी, सबिर चरौटे, शेखर चौलागाँई, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूले अभिनय देख्न सकिन्छ ।चे शंकरले निर्देशन गर्नुभएको नाटक वैशाख १८ गतेसम्म चल्नेछ ।
निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
काठमाडौँ, वैशाख ८ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको तेस्रो दिन भुवन नगरकोटीले एकल अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगितामा बिहीबार भुवनले ६ अन्डर ६२ खेल्नुभयो । ५४ होलको समाप्तिसँगै भुवनको कूल ११ अन्डर एक सय ९३ स्कोर छ । भुवनले दोस्रो स्थानमा रहनुभएका भुवन कुमार रोक्कालाई एक स्ट्रोकले पछि पार्नुभएको छ । बिहीबार दुई अन्डर ६६ खेल्नुभएको रोक्काको कूल १० अन्डर एक सय ९४ स्कोर छ । कूल नौ अन्डर एक सय ९४ स्कोरका साथ सन्जय लामा तेस्रो स्थानमा झर्नुभएको छ । अघिल्लो दिन शीर्षस्थान कब्जा गर्नुभएको लामाले बिहीबार इभनपार ६८ मा चित्त बुझाउनु भयो । दिनेश प्रजापती र दीपक थापामगर एक सय ९७ स्कोरका साथ संयुक्त चौथो स्थानमा हुनुहुन्छ । यसैगरी एमेच्योरतर्फ कूल ६ अन्डर एक सय ९८ स्कोरका साथ सुवास तामाङ उपाधि नजिक पुग्नुभएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवासले बिहीबार तीन अन्डर ६५ खेल्नुृभयो । दोस्रो स्थानमा रहन सफल सुरेस तामाङको कूल ११ ओभर दुई सय १५ स्कोर छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धाको यस प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ४५ हजार रुपियाँ रहेको छ । प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रोतर्फ फाइनलमा पुगेका २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।
काठमाडौं, वैशाख ८ गते । अभिनेत्री केकी अधिकारी र रोहित तिवारीबीच आज विवाह हुँदैछ । बुधबार सामाजिक सञ्जालमा उहाँहरुको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको हो ।नायिका केकी अधिकारीले आफ्नो नजिकका साथीभाइलाई भन्ने गर्नुहुन्थ्यो, 'म सुटुक्क बिहे गर्छु । भोज पनि गर्दिन । नरिसाउनुहोला है ।' केकीको पहिलेदेखि नै सुटुक्क विवाह गर्ने योजना थियो । बिहीबार परिवार र निकट आफन्तको उपस्थितिमा केकीको विवाह हुने जनाइएको छ ।एक वर्षदेखिकाे प्रेम सम्बन्धलाई यी दुईले बिहेमा परिणत गर्न लाग्नुभएकाे हाे । रोहित हाम्रो बजार डटकमका सीईओ हुनुहुन्छ ।
भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।
भैरहवा, वैशाख ८ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो । सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई महिनाअघि मात्रै सकिएको थियो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो ७४ वर्षको नागरिक उड्डयनको क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा भएको पनि उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । विमानस्थलमा नयाँ धावनमार्ग सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो । अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अब नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने जानकारी दिनुभयो । भैरहवामा सन १९५८ जुलाई ४ मा आन्तरिक विमानस्थल सञ्चालनमा आएको थियो । भैरहवामा आन्तरिक विमानस्थल सञ्चालनमा आएको ६४ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलले जनाएको छ ।गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको अधिकारीहरु बताउँछन् ।यतीको पहिलो उडानगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग बिहीबारदेखि विधिवरुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट बिहीबार पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ ।बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको भनाइ छ ।कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीहरुले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलङ्कन एयरवेज, ओमानको सलाम एयवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुवई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।
सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा गठबन्धनले चुनावी सभा गर्ने निर्णय गरेको हो ।
अविनाश चौधरीधनगढी, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । प्रेस सेन्टर कैलालीले आज (बिहीबार) धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो । गठबन्धनले चुनाव सार्छन् कि भनेर कतिपयले हल्ला चलाएको उल्लेख गर्दै उहाँले चुनाव नसर्ने र तोकिएको मितिमै हुने बताउनुभयो । ‘हिजोमात्रै देशभरिकै सबै नगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ’, प्रचण्डले भन्नुभयो । ‘अब त केही कन्फ्युजन छैन नि ?’ स्थानीय तहको निर्वाचनबाट लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउन आवश्यक रहेको उहाँको भनाइ थियो । प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाइने बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयमा वैशाख १३ पछिमात्रै टुङ्गो लाग्ने बताउनुभयो । गभर्नर हटाइएको विषयमा अदालतले दुवै पक्षलाई १३ गते बोलाएको प्रचण्डको भनाइ थियो । कैलालीको गौरीगङ्गा नगरपालिकामा माओवादीले आज आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रचण्ड कैलाली पुग्नुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएकाे हाे ।
काठमाडौं, वैशाख ८ गते । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी सात जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो । दुई दर्जनभन्दा बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलाे दुर्घटना नभएको र विस्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
अमृतप्रसाद पौडेलम्याग्दी, वैशाख ८ गते । बेनी नगरपालिका –३, भकिम्लिका स्थानीय बासिन्दाले खानेपानी योजना सम्पन्न भइसकेर धारा बने पनि पानी नआएको गुनासो गरेका छन् । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको समीक्षा गर्न आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भकिम्लिका बासिन्दाले सो गुनासो गरेका हुन् ।स्थानीय बासिन्दा दीपक पुनले आफ्नो क्षेत्रमा प्रदेश सरकारको कार्यक्रम अन्तर्गत ७० लाख रुपियाँ लागतमा बनेको खानेपानी योजना सम्पन्न भए पनि पानी नआएको गुनासो गर्नुभयो । पुनले भन्नुभयो “एक घर एक धारा कार्यक्रम भए पनि धारा बन्यो तर पानी आएन ।”सार्वजनिक सुनुवाइमा सहभागी अधिकांश नागरिकले खानेपानीकै समस्या राख्नुभएको थियो । रामबहादुर किसानले बेनी नगरपालिका –३ को मुसुङ, डोले, छेपारेलगायतका क्षेत्रमा नगरपालिका क्षेत्रबाट योजनामा समेत एकरुपता नगरी उपेक्षा गरेको बताउनुभयो । सार्वजनिक सुनुवाइमा आफ्नो कुरा राख्नेक्रममा किसानले आफ्नो क्षेत्रमा खानेपानी योजना परेर काम अगाडि बढे पनि बीचैमा रोकिएको गुनासो गर्नुभयो ।भौगोलिक रुपमा असहजर मानिने बेनी नगरपालिका –३ भकिम्लि सदरमुकाम बेनीदेखि नजिकै रहेको वडा हुँदैगर्दा पनि कक्षा ११ पढ्नका लागि गाउँ छाडेर अन्यत्रै जानपर्ने बाध्यता रहेको स्थानीय लिलबहादुर छन्त्यालको भनाइ छ । छन्त्यालले भन्नुभयो– “बेनी नगरपालिकाको ३ बाहेक १ देखि ९ सम्म सबैमा उच्च माध्यमिक अर्थात् कक्षा ११ र १२ पढाइ हुने भए पनि ३ नम्बरमा १० कक्षासम्म मात्रै अध्ययन हुने जयन्ती मावि मात्रै छ ।स्थानीय दिलबहादुर थापाले आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्याले गर्दा मुसुङ डोले आधारभूत विद्यालयमा पिउने मात्रै नभएर शौचालय प्रयोगका लागि समेत पानीको अभावले गर्दा समस्या भएको बताउनुभयो । नगरपालिकाले सदरमुकामभन्दा अप्ठेरो भूगोलमा पर्ने भकिम्लिमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकहरुले स्वास्थ संस्थाको स्तरोन्नति, कृषि तथा पशुपालक कृषकका लागि उचित प्राविधिक जनशक्तिको व्यवस्था, सडकको स्तरोन्नति गर्न माग गरेका छन् । गत चैत २६ गते परेको असिना पानीले गर्दा सुन्तला जातको फलफूलमा निकै ठूलो क्षति भएकोले त्यसका लागि उचित राहत व्यवस्था गर्न आवाज उठाएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले भौगोलिक रुपमा कठिन वडा भएकाले पनि धेरैजसो पूर्वाधार विकासमा कठिनाइ भएको बताउनुभयो । बरुवालले ठेकेदारले गरेका काममा गुणस्तरबारेमा स्थानीयले प्रश्न उठाउँदैआएको हुनाले आगामी दिनमा त्यसबारेमा उचित विचार हुने बताउनुभयो । वडामा परेका कतिपय योजना भौगोलिक कठिनाइले गर्दा तोकिएको समयमा पूरा नहुँदा बजेट फिर्ता जाँदा दुःख लागको बरुवालको भनाइ छ ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्रश्नको जवाफ दिँदै आगामी आर्थिक वर्षको कार्यक्रममा समेटेर अगाडि बढ्ने बताउनुभयो । वडालाई आवश्यक पर्ने र विगतमा अड्किएका योजनाबारेमा समयमै उचित जानकारी दिएमा सम्बोधनमा सहज हुने बताउनुभयो ।बेनी नगरपालिकाकी उपमेयर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा ३ का अध्यक्ष पदम पुनले मन्तव्य राख्नुभयो । अधिकृत युवराज थापाले सञ्चालन गरेको कार्यक्रमका बारेमा प्रकाश सुवेदीले प्रकाश पार्नुभयो । सार्वजनिक सुनुवाइको सवाल जवाफ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले बताउनुभयो ।
राजन रावत हुुम्ला, वैशाख ८ गते । हुुम्लाका सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो ।सांसद शाहीले पुस्तकमा आफू विकट दुुर्गम गाउँमा जन्मिएदेखिको अनुुभव र पहिलो महिनावारीपछि छाउगोठमा बस्दा भोगेका कठिनाइलाई समेट्नुुभएको छ । अहिले पनि महिलाहरु महिनावारी हुँदा छाउगोठमा बस्नुुपर्ने बाध्यात्मक यथार्थलाई पुुस्तकमा उल्लेख गर्नुभएको छ । छाउगोठमा बसेको बेला भोगेका पीडा, कतिपय महिला रोगकाे शिकार भएको कुरालाई पनि समेट्नुुभएको छ । आफू संसदमा पुुगेको कारण छाउगोठमा बस्नुु नपरेको भए पनि सुदुरपश्चिमका अधिकांश महिला अझै पनि महिनावारीको समयमा छाउगोठमा बस्नुुपरिरहेको विषय पुस्तकमा समेटिएको छ । समाजका गन्ने मान्ने व्यक्तिहरुबाट छाउपडीविरुद्ध बाहिर आवाज आउने गरेको भए पनि व्यवहारमा त्यो देखा नपरेको कुरालाई पनि पुस्तकमा समेटिएको छ । त्यसै सांसद शाहीले आफूले २०७४ सालमा समानुपातिकतर्फबाट सांसद निर्वाचितदेखि संसदमा आफूले खेलेको भूमिकाका बारेमा पनि उल्लेख गर्नुभएको छ ।