स्याङ्जाका ७३ मतदान केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जिल्लास्थित सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरेको हो । अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन् । त्यस्तै, ७३ मतदान केन्द्र संवेदनशील र ५३ मतदान केन्द्र सामान्य रहेका छन् ।
कोरोना भाईरस (कोभिड–१९) महामारीले गर्दा भौतिक रुपमा रोकिएको एसईई परीक्षा दुई वर्ष पछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन भएको छ । शुक्रबारदेखि देशैभर परीक्षा सुरु भएको छ । शुक्रबार पहिलो दिन सञ्चालन भएको परीक्षाको झलक ।शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीलाई निश्चित परीक्षा केन्द्रबाट पुरानै तरिकाबाट परीक्षा लिइएको छ । परीक्षामा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुनेछन् । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिँदैछन् । तस्विरहरु : सुजन गुरुङ / केशब गुरुङ /मनाेजरत्न शाही
केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ । सातवटा प्रदेश तथा ७० वटा जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको विभागले त्यसका लागि सात हजार दुई सय कर्मचारी खटाएको छ । विभागले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका निर्देशक डा. महेश सुवेदीले कृषि गणनाकै लागि आव २०७७÷७८ मा पाँच करोड रुपियाँ खर्च भइसकेको, चालू आर्थिक वर्ष ७२ करोड र आगामी आर्थिक वर्ष नौ करोड रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।
मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । देशकै प्रमुख औद्योगिक नगर छ मोरङमा । प्रदेश १ को राजधानी पनि मोरङमै पर्छ । रतुवामाई नगरपालिका–३, को दक्षिण–पूर्वी कुनामा रहेको मिर्चाडाँगी गाउँका बालबालिका कक्षा ३ देखि माथिको अध्ययन गर्न रतुवा नदी पार गरेर एक किलोमिटर पश्चिमको पिढालीसम्म पुग्ने गर्छन् ।
कोरोना महामारीको असर कम भएसँगै अहिले काठमाडौँको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ तर आन्तरिक उडान तोकिएको समयमा हुँदैनन् । पाँच घण्टासम्म ढिलो उडान हुने र रद्द हुने क्रम बढेपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । पछिल्लो एक सातामा मात्रै ९० वटा उडान रद्द भएका छन् ।
काठमाडौँ, वैशाख ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बाब्वे ए विरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा जिम्बाब्वेरुद्ध खेल्ने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि २३ सदस्यीय राष्ट्रिय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले यही २३ खेलाडीबाट खेलकै दिन सुरुवाती ११ खेलाडी छनोट गर्ने पनि जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपालले जिम्बावे ए सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा वैशाख २३, २४ र २६ गते टी-२० सिरिज खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बाब्वे ए सँग सिरिज खेल्न लागेको हो ।नेपालसँगको खेलका लागि जिम्बाब्वेले पनि टोलीको घोषणा गरेको छ । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान , यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । नेपाली टोली : सन्दीप लामिछाने (कप्तान) ,दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला । जिम्बाब्वे टोली : क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोङग्वे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योङगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा ।
नेपालमा हाल हरेक चोक गल्लीदेखि खुला सडकमा टिकटक बनाउनेको भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवापुस्ता, वृद्धवृद्धामा टिकटकको मोह बढ्दै गएको छ । हनुमानढोका दरबार संरक्षण क्षेत्रमा त दिनहँु टिकटक बनाउनेको भीड नै लागिरहेको पाइन्छ ।
कास्की समाचारदाता कास्की, वैशाख ९ गते । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा जुटेको गण्डकी प्रदेश सरकारले प्रदेशमा क्रियाशील मुख्य राजनीतिक दलका प्रमुख र प्रतिनिधिसँग छलफल गरेको छ । सीमित स्रोतसाधनका बीच पनि नागरिकका अपेक्षा पूरा गर्नुपर्ने अवस्थामा दलहरूको रायअनुसार नै अगाडि बढ्ने उद्देश्यले छलफल थालिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो ।प्रदेश अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आगामी बजेटलाई, व्यावहारिक, सन्देशमूलक र लोकप्रिय बनाउने प्रयास भइरहेको बताउनुभयो । सीमित बजेटका बीच नागरिकका आवश्यकतालाई पूरा गर्नेगरी प्रदेश सरकार जान चाहेको भन्दै उहाँले रोजगारी र आम्दानी वृद्धि हुनेगरी बजेट बनाउन थप सुझावको अपेक्षा गरिएको बताउनुभयो । अर्थमन्त्री रामजीप्रसाद बरालले अनिवार्य दायित्व बढ्दो अवस्थामा रहेको चर्चा गर्दै भन्नुभयो, ‘‘बजेटको सीमा त्यही हो, केही नयाँ योजना पनि दिनुपर्ने र चुनावको मुखको बजेट भएकाले बडो समस्याबाट गुज्रिएको छ सरकार ।’’ साधारण खर्च दिनप्रतिदिन बढ्दै गएको भन्दै उहाँले केन्द्रमा रहेका नेताहरुको एकात्मक सोचका कारण स्रोत र अधिकारका लागि सङ्घसँग जुध्नुपर्ने अवस्था आएको बताउनुभयो । ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले विगतमा दिनमा पर्यटनमा गरेको लगानीले कति प्रतिफल दियो भनेर समीक्षा गर्नुपर्ने बताउनुभयो । प्रदेशको समृद्धि कृषि उत्पादनमै निर्भर रहेकाले सबैभन्दा पहिला सिँचाइको प्रबन्ध गरिनुपर्ने सुझाव उहाँले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘गण्डकीमा तीन लाख ७० हजार हेक्टर जमिनमा खेती हुन्छ । त्यसमा सिँचाइ जम्मा ३६ प्रतिशतमा मात्र पुगेको छ । त्योमध्ये पनि ६१ हजार ८३३ हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ उपलब्ध छ, यो दुःखद पक्ष हो ।”नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले विगतका बजेटको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनलाई प्राथमिकता तोकिएको छ, अब यसमा पर्याप्त बजेट छुट्याउनुप¥यो । प्रदेश गौरवका योजना ल्याएर मात्र भएन, ती योजनालाई अगाडि बढाउन हामीले गम्भीर भएर लाग्नुपर्नेछ ।” नेपाली काँग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले किसानले आत्मसम्मान पाउने गरी योजना बनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई आकर्षित गर्ने खालको नीति निर्माण गर्नुपर्छ, विद्युत्को उपभोग बढाउने गरी कार्यक्रम अगाडि सार्नुपर्छ ।” नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले कृषिको अनुदान साना किसानले पाउनै कठिन रहेको बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले क्षेत्रगत रूपमा निरन्तर छलफल चलाइरहेको जानकारी गराउनुभयो । सङ्घबाट प्राप्त हुने अनुदान बिस्तारै बढोत्तरी हुँदै जाने, प्रदेशको आम्दानी बढाउने, राजस्व सङ्कलनमा जोड दिएको भएर आगामी आर्थिक वर्षमा प्रदेशको आर्थिक अवस्था सुधार हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
काठमाडौँ, वैशाख ९ गते । पिएरे इमरिक औवामियाङले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई उसैको मैदानमा १–० गोलले हरायो । औवामियाङले ११औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो । बल पोसेसनमा अब्बल देखिएपनि रियल सोसिडाडले गोल फर्काउन सकेन । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३२ खेलबाट ६३ अङ्क बनाएको छ । बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडभन्दा १५ अङ्कले पछाडि छ । एक खेल कम खेलेको रियलको ७८ अङ्क छ । समान ६३ अङ्क बनाएको सेभिया गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । बार्सिलोनासँग पराजित सोसिडाड ५५ अङ्कसहित छैटौँ स्थानमा छ । बिहीबार राति नै भएको अन्य खेलमा सेभियाले घरेलु टोली लिभान्लातेई ३–२, एथलेटिक बिल्बाओले काडिजलाई ३–२ र रायो भालेकानोले स्पान्योललाई १–० गोलले हरायो । एजेन्सी
मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्रममा बिहीबार सर्लाहीका २० वटै स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
नेपालगञ्ज समाचारदातानेपालगञ्ज, वैशाख ९ गते । सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् । केन्द्रले नेपालगञ्जको मेयर नेपाली काँग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेपछि बाँकेका जसपा र माओवादीले कडा आपत्ति प्रकट गर्दै सच्चाउन चेतावनी दिएका छन् । जनता समाजवादी पार्टी बाँकेले जिल्लाका चारवटा पालिकामा कसैसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णय गरेर केन्द्रमा पठाए पनि बेवास्ता गरेर उपमेयरमा सहमति गरिएको जनाउँदै त्यसलाई नमान्ने घोषणा गरेर सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ । जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले आफूहरूले केन्द्रको गलत निर्णय कुनै पनि हालतमा नमान्ने जनाउँदै सो सहमति नसच्याए विद्रोह गर्ने चेतावनी दिनुभयो । उहाँले पार्टीले नमाने अर्को चुनाव चिह्नबाट पनि निर्वाचनमा जाने तयारी भइरहेको बताउनुभयो । उक्त निर्णय नसच्याए पार्टीका सबै नेता कार्यकर्ताले सामूहिक राजीनामा दिने पनि जसपा बाँकेले जनाएको छ । सोही प्रकारले उक्त सहमतिको नेकपा माओवादी केन्द्र नेपालगञ्जले पनि कडा विरोध गरेको छ । माओवादीको नेपालगञ्ज नगरकमिटीले बैठक गरेर माओवादीलाई बाइपास गरेर कुनै पनि स्थान नदिई अपमान गरिएको ठहर गरेर सहमति सच्चाउन माग गरेको छ । नेपालगञ्जमा माओवादीको पकड राम्रो रहेको निष्कर्ष निकाल्दै बैठकले सो सहमति हटाएर बरु गठबन्धनभित्रका सबैले मित्रवत् प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने ठहर गरिएको माओवादी केन्द्र नेपालगञ्जका अध्यक्ष रतन शाहीले बताउनुभयो । उहाँले सहमति फेरबदल नगर्ने हो भने माओवादीले वैकल्पिक गठबन्धन गर्न सक्ने चेतावनी दिनुभयो । केन्द्रले गरेको नेपालगञ्ज उपमहानगरको सहमतिप्रति जसपा र माओवादी केन्द्रले असहमति जनाइसकेपछि यहाँ सो गठबन्धन नहुने देखिएको छ । नेपालगञ्ज उपमहानगरमा गत निर्वाचनमा राप्रपाले जितेकोले गठबन्धनभित्रका सबै दललाई मित्रवत् प्रतिस्पर्धा गर्ने छुट दिनुपर्ने अधिकांशको माग छ ।
चलचित्र ‘केजीएफ च्याप्टर २’ हेरेपछि सबैको मनमा उठ्ने कुरा एउटै हो । के ‘केजीएफ ३’ पनि बन्छ ? र चलचित्र हेरेपछि बन्छ भन्ने नै दर्शकले निष्कर्ष निकाल्छन् । चलचित्रको क्लाइमेक्समा निर्माताले अर्को अध्यायको सूत्र देखाएका छन् । चलचित्र ठूलो क्यानभासका लागि बुनिएको कथा जस्तै बनेको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ९ गते । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयका अधिकारीसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो । उक्त कार्यतालिकाबमोजिम पहिलो दिन बिहीबार सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भएको छ । वैशाख १३ गतेसम्मका लागि बनाइएको उक्त कार्यतालिकाअनुसार दैनिक तीनवटा बैठक आयोजना गरिने भएको छ ।चैत १ गतेदेखि औपचारिक रूपमा अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियाका लागि सुझाव सङ्कलन सुरु गरेको थियो । त्यसयता कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिला, दलित, वित्तीय सङ्घीयता, बैङ्क, वित्तीय संस्था र बीमालगायतका क्षेत्रमा अर्थविद्, निजी क्षेत्र तथा सरोकार समूहसँग छलफल गरी सुझाव सङ्कलन गरिसकेको छ । त्यस्तै भौतिक रूपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि अर्थ मन्त्रालयले टोल फ्री नम्बरबाट वैशाख ७ गतेसम्म सुझाव सङ्कलनको व्यवस्था मिलाइएको थियो । टोल फ्री नम्बरबाट पनि उत्साहजनक रूपमा सुझाव प्राप्त भएका छन् ।
काठमाडौँ, वैशाख ९ गते । प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेभएको छ । धनगढी रंगशालामा बिहीबार राति भएको खेलमा पुलिसले आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० गोलले हराउँदै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।एपएिफले यसअघि नै त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पुलिसको जितमा निर्मला विकले दुई र रेखा पौडेलले एक गोल गर्नुभयो । पुलिसले सवै गोल दोस्रो हाफमा गरेको हो । दुई गोल गरेकी पुलिसकी निर्मला प्लेयर अफ दि म्याच हुनुभयो । फाइनल खेल शनिबार राति हुनेछ । विभागीय तीन सहित आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुीपयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीय तहको निर्वाचन आउन २१ दिन बाँकी छ । निर्वाचनमा १८ वर्षभन्दा माथिका सबै नागरिक मतदाता रहनुपर्नेमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरू मतदान गर्नबाट वञ्चित हुनुहुनेभएको छ । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको मतदाता नामावलीमा नाम नरहेको र केहीको मतदाता परिचयपत्र नै नबनेको हुँदा उहाँहरू मतदानबाट वञ्चित हुने अवस्था आएको हो । पशुपति क्षेत्रमा रहेको सरकारी वृद्वाश्रममा रहेका ज्येष्ठ नागरिकको मतदा