• १३ साउन २०८१, आइतबार

महोत्तरीका पालिका प्रमुखहरूद्वारा शपथग्रहण

blog

महोत्तरीको सदरमुकाम जलेश्वरमा शपथग्रहण गर्नुहुँदै

नागेन्द्रकुमार कर्ण
महोत्तरी, जेठ ९ गते ।
महोत्तरी जिल्लामा निर्वाचित भएका पालिका प्रमुखहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । जिल्लाको मुख्य निर्वाचन अधिकृत न्यायाधीश दिपक खरेलले पालिका प्रमुखहरुलाई शपथग्रहण गराउनुभएको हो ।

जिल्लाका १५ पालिकाका प्रमुखहरुलाई उहाँले शपथ ग्रहण गराउनुभएको हो भने प्रमुखहरुले आ–आफ्नो पालिकामा गएर उपप्रमुखसहित वडाध्यक्षहरुको शपथ ग्रहण गराउनुभयो ।

जिल्लामा १५ स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल पाँच, लोकतान्त्रिक समाजवादी पार्टी पाँच, नेपाली काँग्रेस दुई तथा एमाले, तराई मधेश लोकतान्त्रिक पार्टी र स्वतन्त्रले एक÷एक पालिकामा विजयी भएका हुन् ।

जलेश्वर नगरपालिकामा जसपाका उम्मेदवार सुरेश साह सोनार र उपप्रमुखमा राजपाकै रौशन खातुन विजयी हुनुभएको छ ।

त्यसैगरी, गौशाला नगरपालिकामा डा. दिपेन्द्र महतो र रेणु कुमारी, एकडारा गाउँपालिकामा दिपनारायण मण्डल र मजहवी खातुन, पिपरा गाउँपालिकामा रामजानकी यादव र बन्दना पाण्डेय, सम्सी गाउँपालिकामा रामनाथ यादव र अनिता कुमारी जसपाबाट विजयी हुनुभएको छ । महोत्तरी गाउँपालिकाको उपाध्यक्षमा जसपाकै दिपो देवी पासमान विजयी हुनुभएको छ ।

त्यस्तै, लोसपा पार्टीबाट जिल्लाको मटिहानी नगरपालिकामा हरिप्रसाद मण्डल र मंजुु देवी, बलवा नगरपालिकाको प्रमुखमा रामविजय महतो, औरही नगरपालिकामा प्रदिप कुमार खडका र रेणु झा, भंगहा नगरपालिकामा संजीव कुमार साह, सोनमा गाउँपालिकामा विश्वेश्वर प्रसाद यादव र जहिदा खातुन निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसबाट लोहारपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव र सरिता शर्मा, मनरासिश्वा नगरपालिकामा मोहनकुमार पाण्डेय र शकुन्तला देवी, बलवा नगरपालिकाको उपप्रमुखमा रामदुलारी देवी र भंगहा नगरपालिकाको उपप्रमुखमा शान्ति कुमारी सिंह निर्वाचित हुनुभएको छ ।

बर्दिबास नगरपालिकामा नेपाली काँग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रह्लाद कुमार क्षेत्री र तारादेवी विजयी हुनुभएको छ भने महोत्तरी गाउँपालिकामा तमलोपाबाट दिलिप कुमार पाण्डेय विजयी हुनुभएको छ । नेकपा एमालेबाट रामगोपालपुर नगरपालिकामा रामदुलार साह र रिना देवी यादव विजयी हुनुभएको छ ।