• १३ साउन २०८१, आइतबार

धनुषाको अधिकांश पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

blog

लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ ९ गते ।
मधेस प्रदेशस्थित धनुषा जिल्लाको अधिकांश पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत भएको निर्वाचनमा जिल्लाको १८ वटा पालिकामध्ये १० वटा पालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

यस्तै, तीन वटा पालिकामा एमाले, तीन वटामा जनता समाजवादी पार्टी (जसपा), एक वटा पालिकामा माओवादी र एक पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ त्यसमा भने स्वतन्त्र उम्मेदवारको अग्रता रहेको जनाएइको छ ।

कांग्रेसका उम्मेदवार निर्वाचित भएका पालिकामध्ये सात वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेका छन् । कांग्रेसका उम्मेदवार निर्वाचित पालिका र उम्मेदवारहरु हँसपुर नगरपालिकामा प्रदिपकुमार यादव, कमला नगरपालिकामा विशेश्वर यादव, गणेशमान चारनाथ नगरपालिकामा जित नारायण यादव, धनुषाधाम नगरपालिकामा बालेश्वर मण्डल, नगराईन नगरपालिकामा विनयकुमारयादव, मिथिला नगरपालिकामा महेन्द्र महतो र मिथिला बिहारी नगरपालिकामा राजेन्द्रप्रसाद यादव रहेका छन् भने कांग्रेसका उम्मेदवार निर्वाचित तीन वटा गाउँपालिका र उम्मेदवारहरु लक्ष्मिनिया गाउपालिकामा भोगेन्द्र मिश्र, बटेश्वर गाउँपालिकामा राम अशिष महतो र धनोजि गाउँपालिकामा राजकुमार साह रहेका छन् ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार तीन वटा पालिकामा निर्वाचित भएका छन् । जसमध्ये विदेह नगरपालिकामा बेचन दास तत्मा, क्षिरेशवरनाथ नगरपालिकामा सुख देव यादव र औरही गाउँपालिकामा उमाशंकर प्रसाद साह निर्वाचित हुनुभएको छ ।

यसैगरी, जसपाका उम्मेदवार निर्वाचित भएका तीन वटा पालिका र निर्वाचित उममेदवारहरु शहिद नगर नगरपालिकामा दिनेश प्रसाद यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जयकुमार यादव र जनकनन्दिनीमा दिपिन देव यादव हुनुहुन्छ ।

जिल्लाको सबैला नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार कारी राम यादव निर्वाचित हुनु भएको छ भने जिल्लाकै एक मात्र उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । यो समाचार तयार पार्दासम्म स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको अग्रता देखिएको छ ।