काठमाडौं, वैशाख ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली ईस्लाम समुदायले देशभक्तिको भावनाबाट ओतप्रोत भई सामाजिक सद्भाव र राष्ट्रिय दायित्व वहन गर्दै आएको बताउनु भएको छ । नेपाल मुस्लिम आयोगले रोजा रमजानको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रमजानको अवसरमा शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । ईस्लाम धर्मावलम्बीहरूले मनाउने रमजान पर्व सुरु भएको छ । ईस्लाम समुदायमा सामाजिक उत्तरदायित्वलाई पवित्र भावनाले ग्रहण गर्ने परम्परा विद्यमान छ । राष्ट्रपतिले समाजमा रहेका अशक्तहरूलाई दान गर्ने प्रचलन र आफ्नो सम्पत्तिको केही भाग परोपकार तथा शिक्षाको विकासमा लगाउने कार्य प्रशंसनीय छ भन्नुभयो । रमजानका दिनमा अनुशासनपूर्वक राखिने रोजाले समेत यस समुदायलाई असल कार्यका लागि सधैं उत्प्रेरित गरिरहेको विश्वास व्यक्त गर्दै उहाँले नेपालको संविधानमा सबै धर्म, समुदाय, क्षेत्रको समान विकास, पहुँच एवम् हककोे व्यवस्था गरिएको उल्लेख गर्नुभयो । यस समुदायले व्यापार व्यवसायका क्षेत्रबाट अर्थतन्त्रलाई सुदृढ तुल्याउन गरेको योगदानको राष्ट्रपतिले सराहना पनि गर्नुभयो ।
काठमाडौँ, वैशाख ८ गते । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्तीमगरलाई पराजित गर्नुभयो । पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउँदै सेमिफाइनलमा पुग्नुभयो। पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । सोही तौलसमूहमा बाग्मतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्नुभयो । पुरुष ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाउनुभयो। पुरुष ८१ केजीमा बाग्मतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता अन्तिम चारमा पुग्न सफल हुनुभयो । रोशनले मधेशका किरण लामा तथा श्यामले गण्डकीका मनीष बिसीमाथि जित निकाल्नुभयो। पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश १ का प्रसिश रुचालले बाग्मतीका उमंग महर्जनलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो । यसैगरी महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी सेमिफाइनलमा पुग्नुभएको छ । मीनुले बाग्मतीकी अस्मिता दुवाल तथा मायाले सुदूरपश्चिमकी सोनिया शेठ्ठीलाई हराउनुभयो । महिला ५७ केजीमा नेपाल प्रहरीकी निशा तामाङले मधेशकी सुमिना खड्का तथा प्रदेश १ की सुस्मिता राईले गण्डकीकी सिमा गुरुङलाई पराजित गर्दै अन्तिम चारमा पुग्नुभयो । महिला ६० केजीमा एपीएफकी संगिता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्नुभयो । प्रदेश १ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य, शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई बिहीबार भिडियो सन्देशमार्फत सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षासँगै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस सन्दर्भमा कोभिड–१९ महामारीबाट सिकेका महत्वपूर्ण पाठहरू पनि उल्लेख गर्नुभयो ।
विशाल सुनारदैलेख (दुल्लू) वैशाख, ८ गते । भैरवीगाउँपालिका–७ मान्म गाउँका बासिन्दा जीवनयापनको लागि गाउँ नै खाली गरेर मान्मबासी भारत जान्थे । भारतमै ६ महिना मजदुरी गरेर परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम ल्याएर गाउँ फर्किन्थे । त्यतिबेला गाउँ पुरुषविहिन हुन्थ्यो । न्वारन, व्रतबन्ध, विवाह, मलामी एवं सामाजिक काम महिलाले गर्नु पर्ने बाध्यता थियो । तीन बर्ष यता मान्मगाउँको दिनचार्य सँगै पहिचान समेत बदलिएको छ । दोलखाको नासो ल्याएको किवीको बोटले मान्मबासीलाई किवी खेतीतिर तानेको छ । जीवनयापनका लागि मुग्लान जाने मान्मबासी आजभोली गाउमै बसी आम्दानी गर्न थालेका छन् । गाउँमा आम्दानी हुन थालेपछि पुरुषले मुग्लान जान छोडेका हुन् । गाउँमै तरकारी र किवी खेतीबाट आम्दानी गर्न थालेका छन् । गहुँबारीले गराहराभरा भएपनि भन्ने जसो उत्पादन हुदैन थियो । जीवनयापनका लागि मान्म बासी मजदुरीका लागि मुग्लान जानु बाहेक अर्को विकल्प थिएन ।चार बर्षअघि मान्म गाउँका विष्णुप्रसाद कँडेल किवीखेतीको तालिम लिन दोलखा पग्नु भयो । पाँच दिनको तालिम सकाएर किवीका ९ बोट सँगै लिएर गाउँ फर्किनु भयो । त्यही किवीको बोटबाट सुरु गरिएको किवी खेती आजभोली गाँउ भरि फैलिएको छ । गहुँबाली लगाउने ठाउँमा किवीखेती गर्न थालेका छन् । किवी खेतीले आम्दानी बढाउनुका साथै मुग्लान जाने मान्मबासीलाई गाउँमै बस्न बाध्यता बनाएको विष्णुप्रसाद कँडेलले बताउनुभयो ।‘पहिले आम्दानी हुदैन भनेर गाउँका पुरुष देश जाने गर्थे । किवीले राम्रो उत्पादन दिएर आम्दानी दिएपछि पराई देश विरानो बन्दै गएको छ’, उहाँले भन्नुभयो । मजदुरीका लागि पराईदेश जाने मात्र होइनन् किवी खेतीले राम्रो उत्पादन दिएपछि शिक्षक पेशा छोडेर सोही ठाउँका राजेश कँडेलले पनि किवी खेती सुरु गर्नुभएको छ । ‘शिक्षक पेशाभन्दा किवी खेती नै राम्रो लागेर मैले जागिर छोडेर फर्ममा किविको वेर्ना बनाएर आम्दानी गरेको छु । सबै किसान सँग भेटघाट हुन्छ,शिक्षक पेशा भन्दा मलाई कृषि पेशा नै राम्रो लागेको छ,’ उहाँले भन्नुभयो । मान्मबासीका लागि नौलो फल बनेको किवी आजभोली आर्कषण मात्र नभएर आम्दानीको राम्रो स्रोत वन्न पुगेको छ । मान्म गाउँमा किवी नलगाएको घर भेट्टाउन अहिले मुस्किल पर्छ । एक जना किसानले बारीमा ५० देखि ६ सय किवीका विरुवा रोपेका छन् । गाँउका २२ घरधुरीहरुले करिव ३ सय रोपनी क्षेत्रफलमा किवी खेती सुरु गरेका छन् । किवी सँगै ओखर, एभोगाडो, कटुस, अलैचीका नर्सरी समेत राखेर व्यवसायमा होमिएका छन् । कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्र्तगत दैलेखका ९ वटा स्थानीय तहका १३ वटा स्थानमा १८ हेक्टर क्षेत्रफलमा किवी खेतीलाई प्रवद्र्धन गरिएको छ । कृषि कार्यालय मार्फत थप अनुदानको कार्यक्रम समेत लागू गरिएको कृषि कार्यालय दैलेखका नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । दैलेखको हावापानी किवी उत्पादनको लागि उपयुक्त मानिन्छ । बजारीकरणको लागि दैलेख बजार, सुर्खेत, नेपालगन्ज हुँदै भारतको लखनाउसम्म किवीको बजार छ । उपयूक्त हावापानी र बजारको सम्भावना भएको किवी खेती गर्ने किसानहरुलाई क्षमताअभिवृद्धिको तालिम सहित स्रोत साधन सम्पन्न गराउन सके आम्दानी र जीवनयापनका लागि थप सहयोग पुग्ने देखिन्छ ।
सिन्धुलीमाढी, बैशाख ८ गते । सिन्धुली जिल्लामा सत्तारुढ पाँच दलिय गठबन्धन मध्ये नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीयत तहको प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरी भागबण्डा टुङग्याएका छन् ।सिन्धुलीमा रहेका सत्तारुढ गठबन्धन मध्ये चार राजनीतिक दलको चार दिनसम्मको छलफलमा पालिका भागबण्डाको कुरा नमिलेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले उक्त भागबण्डा टुङग्याएको जनाएका छन् । उक्त गठबन्धनको सिन्धुली जिल्ला संयन्त्रले बिहिबार पत्रकार सम्मेलन गरी स्थानीयत तहको प्रमुख र उपप्रमुखको भागबण्डा टुङग्याएको सार्बजनिक गरेको छ ।दुई राजनीतिक दल बिच भएको लिखित सहमति अनुसार सिन्धुलीका नौ वटा स्थानीय तह मध्ये पाँच वटामा प्रमुख नेपाली काँग्रेसले र बाँकी चार वटामा प्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको उक्त गठबन्धनका जिल्ला संयन्त्र संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।त्यस्तै उपप्रमुख चार वटा नेपाली काँग्रेस र पाँच वटा नेकपा (माओवादी केन्द्र)ले पाएको छ । यसअघिको स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसले जितेको तीनपाटन गाँउपालिका, गोलन्जोर गाँउपालिका र घ्याङलेख गाँउपालिका सहित कमलामाई नगरपालिका र फिक्कल गाँउपालिकाको प्रमुख नेपाली काँग्रेसले पाएको छ । यि पालिकामा उपप्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ ।यसअघिको स्थानीय तह निर्बाचनमा नेकपा (माओवादील केन्द्र)ले जितेको मरिण गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका र सुनकोसी गाँउपालिका सहित दुधौली नगरपालिकाको प्रमुख नेकपा (माओवादी केन्द्र)ले पाएको छ । यि पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ । २०७४ सालको स्थानीय तह निर्बाचनमा नेकपा (एमाले)ले जित हातपारेको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाँउपालिका सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बाँडफाँड गरेका हुन् । वडाको उमेद्वारको हकमा बैशाख १० गते ११ बजेभित्रमा वडा स्तरिय संयुक्त निर्बाचन परिचालन संयन्त्र बनाई सम्बन्धित वडाको उमेद्वार छनौटमा साझा धारणा बनाई जिल्ला संयन्त्रमा लिखित पेस गर्ने निर्णय भएको जिल्ला संयन्त्र संयोजक पोख्रेलले जानकारी दिनुभयो ।उहाँका अनुसार उक्त संयन्त्रको बैठकले निर्बाचनसँग सम्बन्धित औपचारिक सभा संयुक्त रुपमा गर्ने, एक अर्काको आलोचना नगर्ने र निर्बाचन अवधिभर गठबन्धन दल भित्रका नेता कार्यकर्ता पार्टी प्रवेस नगर्ने नगराउने निर्णय गरेको छ । सिन्धुली जिल्लामा गठबन्धनमा रहेका बाँकी नेकपा (एकिकृत समाजबादी) र जनता समाजवादी पार्टीले भने स्थानीय तकको प्रमुख र उपप्रमुख हात पार्न सकेका छैनन् । यि दुई दलमध्ये नेकपा (एकिकृत समाजबादी)लाई जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उक्त समितिको उपप्रमुख दिने तयारी भएको नेकपा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहालले जानकारी दिनुभयो ।नेकपा (एकिकृत समाजबादी) र जनता समाजवादी पार्टीलाई उनीहरुको बलियो सङगठन रहेको वडामा जिताउन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सहयोग गर्ने उहाँले बताउनुभयो । गठबन्धन भित्रैकै नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष सुर्य पाख्रिनले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र)ले गरेको स्थानीय तह प्रमुख, उपप्रमुखको सिट बाडफाँट आफुहरुलाई जानकारी नभएको बताउनुहभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कुनै लिखित सहमति भएको छनै, लिखित सहमति नभई कसरी सिट बाँडफााड भयो भन्नु । अहिले छलफल भई रहेको छ ।’ लिखित जानकारी नभएसम्म त्यो बिषयमा आफुहरु केही नबोल्ने र अहिलेसम्म गठबन्धनमा नै रहेको उहाँले बताउनुभयो ।
बेलिना थापालमजुङ, बैशाख ८ गते । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन प्रक्रिया अघि बढाउन बिहीबार जिल्ला समन्वय समिति लमजुङको भवनमा कार्यालय स्थापना गरिएको हो ।भवनको एउटा कोठामा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताउनुभयो । उहाँकाअनुसार बोर्ड राखेर कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत लमजुङका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बोर्ड पढेर कार्यालयको सुभारम्भ गर्नुभयो । अब कार्यालयबाट नियमित दैनिक रुपमा चुनावी कार्यक्रमका लागि काम थाल्ने उहाँले बताउनुभयो । कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत एक जना, लेखापाल वा लेखा अधिकृत एक जना, सहायक कर्मचारी एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयोगी एक जना, चालक एक जना, सुरक्षाकर्मी एक जना गरी नौ जना कर्मचारी रहनेछन् । कर्मचारीलाई नियुक्तीको प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरको निर्वाचन क्रियाकलापको समन्वय गर्नेछ । यस्तै, बेंसीशहर नगरपालिकाको निर्वाचनलाई लक्षित गरेर काम गर्ने सो कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै अन्य ७ वटा पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य पालिकामा निर्वाचन अधिृकत एक जना, सहायक निर्वाचन अधिकृत एक जना, लेखापाल वा लेखा अधिकृत एक जना, सहायक कर्मचारी एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयोगी दुई जना, चालक एक जना, सुरक्षाकर्मी एक जनागरी नौ जना कर्मचारी खटिनेछन् । निर्वाचन कार्यालयकाअनुसार निर्वाचन अधिकृतको कार्यालयमा बैशाख ११ गते विहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्य हुनेछ । बैशाख १२ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन गर्ने, बैशाख १३ गते विहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, बैशाख १४ गते विहान १० बजेबाट बैशाख १५ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने जनाएको छ । बैशाख १५ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, बैशाख १६ गते विहान १० बजेदेखि बुलका ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, बैशाख १६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यस्तै, बैशाख १७ गते विहान १० बजेदेखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । बैशाख ३० गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान कार्य हुने सो कार्यालयले जनाएको छ । निर्वाचनको मौन अवधि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि बैशाख २७ गते राति १२ बजेबाट लागू हुनेछ । प्रत्येक मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षित रुपमा प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नु पर्नेछ । मतगणना कार्य समाप्त भएपछि निर्वाचन अधिकृतले तत्काल निर्वाचन परिणाम घोषणा गर्नुपर्नेछ ।
ओखलढुङ्गा, बैशाख ८ गते । निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा मनोनयन हुनुभएको छ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले केन्द्रीय सदस्य खतिवडालाई संयोजकमा मनोनयन गरेको हो । पार्टीका उपसभापति एवम् संयोजक पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुभएको पत्रमा उहाँलाई सो जिम्मेवारी तोकिएको हो । निर्वाचन प्रचार अभियानलाई स्वस्थ र मर्यादित बनाउँदै स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा मतदान गर्न पाउने मतदाताको मौलिक हकलाई सुनिश्चित गर्न यस निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको मुख्य भूमिका हुनेछ । मतदान स्थल, मतदान प्रक्रियाका सबै चरण तथा मतगणनाको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्मको निर्वाचनको सबै सुरक्षा व्यवस्था सुनिश्चितताका लागि सुरक्षा निकायसँग आवश्यकताअनुसार सम्पर्क समन्वय गरेर काम गर्ने संयोजक खतिवडाले बताउनुभयो । देशभरका नेपाली काँग्रेसका मतदातालाई भयरहित, शान्ति सुरक्षा सुनिश्चितता गर्नका लागि जोड दिइने नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजक खतिवडाको भनाइ छ ।
बिहीबार विहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा थप एक जनाको मृत्यु भएको छ । योसँगै विस्फोटमा परि मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
निर्वाचन आयोगले ५३ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगले निर्वाचनका लागि बिहीबारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छाप्ने काम सकिएको जनाएको हो ।
केन्द्रीय सुरक्षा समिति बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सिंहदरबारमा बस्यो । बैठकमा स्थानीय तह निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा ३० वैशाखमा हुने तय भएको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको जानकारी दिनुभयो ।
बैतडीको बिन्द्रावन, भूमिराज, श्रीकेदार र सेला सामुमदायिक वनमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । एक हप्तादेखि लागेको आगोले हजारौं हेक्टर वन क्षेत्र सखाप पारेको छ ।
पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो ।
काठमाडौँ, वैशाख ८ गते । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला यू–१९ विश्वकप छनोटको लागि ४४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले बिहीबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा ४४ खेलाडी बोलाएको हो । प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ महिला क्रिकेटमा सहभागिता जनाएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षण क्याम्पमा बोलाएको क्यानले जनाएको छ । बन्द प्रशिक्षण वैशाख १० गतेबाट सुरु हुनेछ । यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुनेछ । यस विश्वकपमा १६ देशको सहभागिता रहनेछ । क्यानले बन्दप्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा हेलिषा गुरुङ, किरण कुमारी कुवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामीमगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, बिमला मलाहा, अलिसा कुमारी कडायत, हिरामाया रोय, स्नेहा महरा र मनिषा उपाध्याय हुनुहुन्छ ।यसैगरी बिना थापा, अन्जिला थापा, मनिष चौधरी, बिपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यसु पाण्डे, जोति दनवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष रानामगर, दिक्षा पुरी, नितु घर्तीमगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्ठी जैशी, अन्जली शाह, कृतिका मराशिनी, निशा शाह, अंग पेम्बा, लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल पनि बन्द प्रशिक्षणमा पर्नुभएको छ ।
काठमाडौं वैशाख ८ गते । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा भएको तीन दिने 'नेपाल ग्रामीण चलचित्र महोत्सव' सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा भएको महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट नौ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङले निर्देशन गर्नुभएको तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र 'फुङ'लाई अवार्ड प्रदान गरियो ।यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित 'मकै विवाह'ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्म विधामा केदार श्रेष्ठ निर्देशित 'जुनुको जुत्ता'ले अवार्ड जितेको हो ।सर्वोकृष्ट अभिनेतामा 'चिसो आत्मा'बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ 'मौन प्रतिशोध'बाट शारदा अधिकारीले अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत 'टुल्की'ले अवार्ड प्राप्त गरेको हो ।साथै 'स्क्रिन प्ले'तर्फ 'टुल्की'बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ 'टिष्टापारीको साईनो'बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गर्नुभयाे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म 'मौन प्रतिशोध'लाई जुरी अवार्ड प्रदान गरियो ।
प्रधान सेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित “सैनिक आचारसंहिता कार्यक्रम–२०७९’’ समारोहलाई सम्बोधन गर्दै सेनापति शर्माले सेना समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित रहनुपर्ने बताउनुभयो ।