• २ असार २०८१, आइतबार

सुदूरपश्चिममा चौरासी पालिकाको परिणाम

blog

सुदूरपश्चिम प्रदेश ब्युरो

धनगढी, जेठ  गते । सुदूरपश्चिम प्रदेशका ८८ तहमध्ये ८४ पालिकाको परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरको भीमदत्त, पुनर्बास नगरपालिका र अछामको साँफेबगर नगरपालिकाको मत गणना जारी छ । बाजुराको बूढीगङ्गा नगरपालिकाको मत गणना गर्ने कि नगर्ने भन्नेमा विवाद रहेको छ । नेपाली कांग्रेसले बूढीगङ्गाका केही बुथ नेकपा (एमाले) ले कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको छ । यद्यपि, नेकपा (एमाले) ले वैशाख ३० गतेको मतदान स्वीकार गर्दै मतगणनाको माग राख्दै आएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले एकअर्कालाई बूढीगङ्गामा बुथकब्जाको आरोप लगाउँदा अन्योल सिर्जना भएको छ । निर्वाचन आयोगले सो बुथको निर्वाचन बदर भने पनि पुनः मतदानको मिति तोकेको छैन ।

सार्वजनिक ८४ तहको परिणामअनुसार नेपाली कांग्रेसले ३७, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २५, नेकपा (माओवादी केन्द्र)ले १४, नागरिक उन्मुक्ति पार्टीले चार, नेकपा (एकीकृत समाजवादी) दुई र कैलाली र बैतडीमा गरेर दुई स्वतन्त्रले पालिका प्रमुख जितेको छन् ।

प्रदेशमा उपप्रमुख/उपाध्यक्ष समेत नेपाली कांग्रेसकै बढी सङ्ख्या रहेको छ । नेपाली कांग्रेस ४४, नेकपा (एमाले) २३, नेकपा (माओवादी केन्द्र) ११, नागरिक उन्मुक्ति तीन, नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवारले एक उपप्रमुख÷उपाध्यक्ष जितेको छ । कञ्चनपुरका चार, कैलाली र अछाम एक÷एक गरेर छ पालिकामा मतगणना जारी छ । 

कञ्चनपुर समाचारदाताका अनुसार कृष्णपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका हेमराज ओझा विजयी हुनुभएको छ । उहाँले १० हजार ४३४ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का कर्णबहादुर हमालसँग पराजित हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का जोगराज चौधरीले आठ हजार दुई सय मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)का लोकेन्द्रप्रसाद पन्तले छ हजार ६७४ र नेकपा (एकीकृत समाजवादी)का सुरेन्द्रबहादुर बमले ६७५ मत प्राप्त गर्नुभएको छ । 

कृष्णपुर नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकै द्रोपती राना विजयी हुनुभएको छ । उहाँले नौ हजार ६७५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रमिता रानाले सात हजार ३१६ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)का गीता मल्लले छ हजार ८५१ मत प्राप्त गर्नुभएको छ । ४० हजार ३३८ मतदाता रहेको कृष्णपुरमा २८ हजार ९५३ मत खसेको थियो । कृष्णपुरका नौ वडामध्ये चार वडा नेपाली कांग्रेस, चार वडामा नेकपा (माओवादी केन्द्र) र एक वडामा नेकपा (एमाले) विजयी भएका छन् । 

यसैगरी कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रणबहादुर महरा विजयी हुनुभएको छ । उहाँले छ हजार ७७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिन्तामणि भट्टले छ हजार २६४ मत, नेकपा (माओवादी)का नवराज ऐरले पाँच हजार २२५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसकी कल्पनाकुमारी जोशी (पन्त) विजयी हुनुभएको छ । उहाँले छ हजार ५१९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का माधवप्रसाद पन्तले पाँच हजार ३६०, नेकपा (एमाले)का मोनिकाकुमारी भण्डारी (भट्ट)ले पाँच हजार २३६ मत प्राप्त गर्नुभएको छ ।