• १७ असार २०८१, सोमबार

पराजित भए पनि चर्चामा हुनुहुन्छ स्वतन्त्र उम्मेदवार नरसिंह ब्यञ्जनकार

blog

काठमाडौं, जेठ ९ गते । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा विजयी उम्मेदवारको चर्चा चलिरहँदा ललितपुरमा पराजित स्वतन्त्र उम्मेदवारको चर्चा पनि कम छैन । दशौं पटकसम्म वडाध्यक्षको जिम्मेवारीमा रहँदै आउनुभएका नरसिंह ब्यञ्जनकारकाे भाग्य जुरेन, याे पटक । तर पनि, स्थानीय निकाय र त्यहाँका जनताको सेवा गर्ने ईच्छा तन र मनमा जिउँदै छ अहिले पनि उहाँमा 

उहाँ भन्नुहुन्छ, “जनताले जुन आशा गरेर भोट दिएको छ, त्यो पूरा गर्दिनुपर्छ । नगरे पाप लाग्छ । हार्ने मान्छे पनि निराश हुनुहुन्नँ पदमा नरहे पनि सबैलाई सक्दो सहयोग गर्ने पक्षमा म छु ।” आगामी दिनमा पनि वडाबासी सबैले भोट दिनुभएको सम्झेर त्यही अनुसार व्यवहार गर्ने सोच उहाँको छ ।

२०७४ सालपछि आफू नेतृत्वको वडा समितिमा तीन जना कांग्रेस र एक सदस्य एमालेको रहेको बताउनुहुँदै काम गर्न नपाएको गुनासो उहाँ गर्नुहुन्छ । पाँच जना पाँचै थरीको हुन्छ, उनीहरुलाई पाँचै जना नेताले समातेको हुने र त्यसका पनि कोभिड–१९ महामारीका कारण कामै गर्न नसकेको थकथकी उहाँमा छ । २०७४ र अहिलेको चुनावमा धेरै फरक रहेको बताउनुहुँ एक जना हराउन पनि राजनीतिक दल र हरेक शक्ति लागिपरेको उहाँ बताउनुहुन्छ ।

“पहिला जनसंख्या पनि कम, खेतै–खेत थियो, अहिले घरैघर भइसक्यो । पहिले मान्छेले बोली वचन फेर्दैन, अहिले बोली वचनको केही ख्यालै छैन ।”, उहाँले भन्नुभयो, “यही स्थिति भइरह्यो भने साधारण जनतालाई बाँच्नै मुस्किल हुन्छ ।”

ललितपुरको बुङ्मतीबाट ९ किलोमिटर पर अवस्थित एक दहमा १२ वर्षसम्म पानी नपर्दा मछिन्द्रनाथका लागि तान्त्रिकहरु पूजाआजा गर्न गएको त्यस धार्मिक तथा ऐतिहासिक सो स्थल दुर्गम अवस्थामा रहेकोमा आफूले त्यसको विकासका लागि पहल गरेको उहाँ बताउनुहुन्छ ।

त्यस क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्रकुमार शाक्यलाई अनुरोध गरेपछि बाटो निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन भएको उहाँ स्मरण गर्नुहुन्छ । त्यस क्षेत्रमा बाँकी रहेका मन्दिर बनाउने र छाना लाउने कामका लागि करिब ५०, ५२ लाख बजेट आवश्यक रहेको उहाँ भन्नुहुन्छ । यसका लागि काठमाडौं र ललितपुर महानगरपालिका प्रमुखसँग पनि अनुरोध गरिएको उहाँ स्मरण गर्नुहुन्छ ।

ललितपुर महानगरका प्रमुखले फेरि पनि निर्वाचित हुनुभएपछि सहयोगको आश्वासन दिनुभएको उहाँले बताउनुभयो । यसअघि स्वतन्त्ररुपमा विजयी हुँदै आउनुभएका ८१ वर्षीय ब्यञ्जनकार अब केही समयमा नै एउटा कमिटी बनाएर अघि बढ्ने योजनामा हुनुहुन्छ । एक्लै पनि केही गर्न नसकिने तर बागमती सफा गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखिने उहाँ बताउनुहुन्छ । “खाली राजनीति गर्ने, जनतालाई यो गर्छु, त्यो गर्छु भनेर आश्वासन देखाउने नेता मात्रै छ, तर बागमती सफा गर्नतिर ध्यानै छैन । कला, संस्कृतिलाई आत्मादेखि गर्छु भन्ने हुनप¥यो, मुखले मात्रै भन्ने होइन ।” नेता नसुध्रेसम्म जुनसुकै व्यवस्था आए पनि देश विकास नहुने तर्क उहाँ गर्नुहुन्छ ।

खासमा, राजनीतिक दलको हाम्रो मान्छे र उसको मान्छे भनेर भेदभाव गर्ने संस्कारप्रति उहाँ घृणा व्यक्त गर्नुहुन्छ । नेताहरुले जनतालाई बिगारेर त्यसखाले दृष्टिकोण पैदा भइरहेकोप्रति उहाँ भन्नुहुन्छ, मान्छे त मान्छे हो नि, जो सुकैको पार्टीको होस् । यही कारण नेताहरु मन नपर्ने बताउनुहुँदै उहाँले यसको अलावा, पार्टीमा नभएकालाई राम्रो काममार्फत् चित्त बुझाएर पार्टीमा आउने प्रवृत्तिको विकास हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

आगामी दिनमा कुनै राजनीतिक दलमा आबद्ध हुनुहोला कि भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “कुनै राजनीतिक पार्टीप्रति मेरो आस्था नै छैन । राजनीतिमा इन्ट्रेष्ट नै छैन ।” त्यही राजनीति नजानेर कुवाको भ्यागुता जस्तो भएको अनुभव पनि कहिलेकाँही हुने गरेको उहाँले बताउनुभयो । पहिला आफू बन्ने अनि पार्टी मात्रै हेर्ने दलहरुको कुरा जनताले राम्रोसँग बुझेको तर यो बाहिर मात्र आउन नसकेको भन्नुहुँदै उहाँले यो बाहिर आए कसैले रोक्न नसक्ने पनि प्रष्ट पार्नुभयो ।