• ७ जेठ २०८१, सोमबार

मादीका कान्छा वडाध्यक्षको योजना

blog

कास्की समाचारदाता

कास्की, जेठ ९ गते । कास्कीको मादी गाउँपालिकाको सबैभन्दा कान्छा उम्मेदवार देवीजङ्ग गुरुङ वडाध्यक्षमा विजयी हुनुभएको छ। यहाँका १२ वडामध्ये उहाँ सबैभन्दा कान्छा उम्मेदवार हुन्। 

उहाँ नेकपा एमालेका उम्मेदवार उमरबहादुर गुरुङलाई हराएर वडाध्यक्षमा विजयी हुनुभएको हो। मादी १ सिक्लेसका नवनिर्वाचित वडाध्यक्ष देवीजङ्गको उमेर ३० वर्ष छ। 

देवीजङ्गले ८२८ मत पाउँदा उमरले ६६३ मत पाउनुभएको थियो। २०७४ सालमा भने उहाँ वडाध्यक्षमा पराजित हुनभएको थियो। त्यतिबेला उहाँ आफैँलाई पढाएका शिक्षक सुरज गुरुङसँग १२६ मतले पराजित हुनुभएको हो। 

२०५४ सालदेखि एमालेले जितेको यो वडामा यस पटक भने कांग्रेसले जितेको हो। एमालेको किल्ला मानिने वडा तोड्न सफल वडाध्यक्ष देवीजङ्ग कांग्रेस मादी गाउँपालिका कमिटी सचिव हुनुहुन्छ। उहाँले जनताको दैनिकीसँग जोडिएका समस्या समाधान गर्न आफ्नो विशेष प्राथमिकता हुने बताउनुभएको छ। 

पाँच वर्षमा पर्यटन विकाससम्बन्धी योजना र यातायातको सहज व्यवस्था गर्ने योजना उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘‘दलित समुदायका युवायुवती आर्थिक अभावले बीचमै पढाइ छोड्ने गरेका छन्। उनीहरूको अध्ययनलाई निरन्तर गराउनुपर्छ। वडाबाटै छात्रवृत्तिको व्यवस्था हुन्छ।’’ 

“ठूलो योजना केही छैन। जनताको दैनिकी मुख्य जोड हो। भौगोलिक हिसाबले हाम्रो वडा ठूलो छ। टाढाबाट वडा कार्यालय आउनुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो “सामाजिक सुरक्षा बैङ्कसँग सहकार्य गरेर सबै गाउँका टोलटोलमा बाँड्ने योजना छ।”