• १७ असार २०८१, सोमबार

मर्स्याङ्दीमा एक हजार बढीले पाए रोजगार

blog

बेलिना थापा
लमजुङ, जेठ ९ गते ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तीन वर्षको अवधीमा एक हजार बढी वेरोजगारले रोजगार पाएका छन् । गाउँपलिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक हजार १६५ जनाले रोजगार पाएका हुन् ।

२०७६/०७७ देखि गाउँपालिकाको रोजगार सेवा केन्द्रमार्फत रोजगार कार्यक्रम सुरुवात भएको हो । रोजगार सेवा केन्द्रका रोजगार संयोजक नन्दराज गुरुङकाअनुसार गाउँपालिकामा आर्थिक वर्ष २०७६÷०७७ मा २३६ जनाले न्यूनतम १०० दिनको रोजगार पाएका छन् । उक्त वर्ष पुरुष ६९६ र महिला ४३३ जना गरी एक हजार १३१ जना बेरोजगार सङ्ख्यामा सूचिकृत भएका थिए । उक्त वर्ष ३६ वटा सामुदायिक पूर्वाधार निर्माणका योजना थियो । बजेट १० लाख ८८ हजार थियो । आर्थिक वर्ष २०७७÷०७८ मा ४८६ जनाले रोजगार पाएका थिए । उक्त वर्ष ५४ वटा योजना थियो । बजेट तीन करोड पाँच लाख १३ हजार नौ सय बजेट थियो । वेरोजगार सङ्ख्यामा सूचिकृत हुने दुई हजार २५५ जना थियो । पुरुष एक हजार ३४६ र महिला ९०९ जना थिए ।

आर्थिक वर्ष २०७८/०७९ मा ४४३ जना वेरोजगारले रोजगार पाएका छन् । बजेट दुई करोड ८० लाख २० हजार रहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो । उहाँका अनुसार यस वर्ष दुई हजार तीन सयजना वेरोजगारमा सूचिकृत भएका छन् । पुरुष एक हजार ३६३ जना र महिला ९३७ जना छन् । वेरोजगार सङ्ख्याबाट मापदण्ड पुगेका ४४३ जना १०० दिनका लागि काम पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५९ योजना रहेका छन् । १३ वटा योजना सम्पन्न भएको छ । रोजगार पाएकाहरुले सिँढी बाटो, मोटरबाटो सोलिङ, नयाँ बाटो खोल्ने, नाली निर्माणको काम गरेका छन् । एक जनाले दैनिक ५७७ रुपियाँका दरले पारिश्रमिक पाउनेछन् ।

उनीहरुले एकमुष्ठ ५७ हजार ७०० रुपियाँ पाउने अर्यालले बताउनुभयो । उहाँका अनसार रोजगार प्राप्त गरेकालाई गाउँगाउँमा हुने विकास निर्माण तथा भौतिक पूर्वाधार निर्माणका कार्यमा खटाइएको छ । रोजगार पाएकाले बाटो निर्माण, गोरेटो बाटो, सिँढी निर्माण, नाला बनाउने, सरसफाई, अस्थायी पुल निर्माणको काम गरेका छन् । कामदारलाई आवश्यक सुरक्षित सामाग्री गाउँपालिकाले प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको बताउनुभयो ।

कार्यक्रमले बेरोजगारको खोजी गरी रोजगार दिएको बताउनुभयो । वैदेशिक रोजगारीको निर्भरता कम गर्न, युवालाई कुलतबाट फस्न रोक्न, युवालाई शक्तिमा परिचालन गर्न, पारिश्रमिक मार्फत गरिबी न्यूनीकरण गर्न, स्थानीय स्तरमै विकास निर्माणका कामहरु अघि बढाउन, विकासमार्फत नागरिकलाई सहज बनाउन कार्यक्रम संचालन गरिएको बताउनुभयो । गाउँपालिकका १ देखि ९ वटै वडाका कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा १८ वर्षदेखि ५९ वर्षसम्मका नागरिक संलग्न भएका छन् ।