• १३ साउन २०८१, आइतबार

कालीगण्डकी गाउँपालिकाले १५ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

blog

तिलाचन पाण्डे
तम्घास, जेठ ९ गते ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएका वेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिकाभित्रका १५ हजार नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिनुभयो ।

पालिका भित्रका नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमाले न्यून आय भएका जनतालाई ठ्रलो राहत मिल्ने भन्दै यस्तो निर्णय गरिएको उहाँले बताउनु्भयो । जनताको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर भएको भन्दै पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय बनाउने  र निर्माणाधीन १५ शैयाको अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्ने बताउनुभयो ।

स्थानीय सरकार भनेको नागरिकको नजिकको सरकार भएको भन्दै स्थानीय सरकारको अनुभूति दिने गरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै, थापाले पालिका भित्रका जनताहरुलाई उत्पादनसँग जोडी आत्मनिर्भर बनाउने गरी आफू लागेको बताउनुभएको छ ।

कालीगण्डकी गाउँपालिकाभित्र तीन हजार पाँच सय घरधुरी छन् भने १५ हजार नागरिक रहेको गाउँपालिकाले जनाएको छ ।

कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका वेदबहादुर थापा दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट मञ्जुकुमारी दर्लामी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मुसिकोटका नागरिकहरुमा हसिलो अनुहार हुने गरी काम गर्ने

यता मुसिकोट नगरपालिकाका नव निर्वाचित नगरप्रमुख जिवन खरेलले नगरका नागकिहरुमा सधैँ खुसियाली छाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका नागरिकहरुको मुहारमा सधै खुसियाली छाउने गरी काम गर्ने र यसमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

नगरपालिकालाई समृद्ध बनाउनका लागि यहाँका सबै राजनीतिक दललगायत सरोकारवालाको साथ आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनको समयमा जुनसुकै राजनीतिक दलहरुबाट निर्वाचित भए पनि आफू मुसिकोट नगरपालिकाको साझा जनप्रतिनिधि भएको भन्दै राजनीतिको गन्ध नगरपालिकामा नआउने गरी आफूले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।