• ८ पुस २०८१, सोमबार

नसर्ने रोगको बढ्दो प्रकोपले धनजनको क्षति

blog

काठमाडौं, जेठ ९ गते । नेपालमा पछिल्लो समय नसर्ने रोगहरुको बढ्दो प्रकोपको कारण ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको अध्ययनले देखाएको छ । नौ वर्षको हारहारीमा २० प्रतिशतले नसर्ने रोग बढेको अध्ययनले देखाएको हाे । नेपालमा भएका कुल मृत्युमध्ये नसर्ने रोगबाट हुने मृत्युको अनुपात सन् २०१० मा ५१ प्रतिशत थियो । तर अहिले बढेर ७१ प्रतिशतमा पुगेको छ ।

नेपालमा सन् २०१९ मा गरिएको सर्भेअनुसार नेपालमा प्रत्येक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिसको विभिन्न रोगको कारण मृत्यु हुने गरेको छ । जसमध्ये करिब ७१ प्रतिशत नागरिकको नसर्ने रोगका कारण मृत्यु भएको जनसाङ्ख्यिक अध्ययनकाे तथ्याङ्कमा उल्लेख छ।

तथ्याङ्कअनुसार प्रत्येक पाँच जनामध्ये चार जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । अस्पतालमा आउने एक सय बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बिरामी विभिन्न किसिमले नसर्ने रोग लिएर आउने गरेको उक्त तथ्याङ्कले देखाएको छ । अस्पतालमा आधारित तथ्याङ्कले अन्तरङ्ग विभाग र बहिरङ्ग विभागमा नसर्ने रोगका बिरामी बढेका छन् ।

पाँच वर्षमा नसर्ने रोगका बिरामीहरु बहिरङ्ग विभागमा ६८ प्रतिशतबाट ९० प्रतिशत र अन्तरङ्ग विभागमा ८६ प्रतिशतबाट ९१ प्रतिशत पुगेको देखिन्छ । करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० वर्षबीचमा नै मृत्यु हुने जोखिममा छन् । जनसङ्ख्यामा आधारित नसर्ने रोगसम्बन्धी २०१९ को प्रतिवेदनअनुसार कोरोनरी आर्टरी रोगको २.० प्रतिशत, मधुमेहले ८.५ प्रतिशत, दीर्घ मिर्गौला रोग ६ प्रतिशत र श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी ९९.६ प्रतिशत जनसङ्ख्यामा देखिएको छ ।

नसर्ने रोग के हो ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने, सूक्ष्म जीवाणुबाट नहुने रोगलाई नसर्ने रोग भनिन्छ । नसर्ने रोगहरुले लामो अवधि सुस्त गतिमा प्रभाव पार्ने गर्दछ । मुटु तथा रक्तनलीको रोग मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र क्यान्सर नसर्ने रोगहरुको रुपमा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाका अनुसार वंशाणुगत रोग जस्तै सिकलसेल र थालसिमिया पनि मधेसका विभिन्न जिल्लामा समस्याको रुपमा नै देखिएको छ । त्यसका अलावा पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामी पनि बढ्दो क्रममा छन् । पाँच जनामध्ये एक जना मानसिक स्वास्थ्य सम्बन्धी समस्या लिएर आउने शाखाले जनाएको छ।

नसर्ने रोग बढ्नुको कारण

नेपालमा नसर्ने रोग बढ्नुको प्रमुख जोखिम तत्वहरुमा सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक गतिविधिको कमी, मादक पदार्थको सेवन, अस्वस्थकर खानपान र जीवनशैलीसँग सम्बन्धित अन्य व्यवहार रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्र बताउनुहुन्छ । यसकाे कारण रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्ट्रोलको मात्रा बढाउने तथा मोटोपना र तौल बढाउने डा. अनिल बताउनुहुन्छ ।

सन् २०१९ को तेस्रो सर्भेक्षणले पनि नेपालमा सुर्तीजन्य पदार्थ र मादक पदार्थको प्रयोग, अस्वस्थकर खानपान, शारीरिक गतिविधिको कमी जस्ता अस्वस्थकर व्यवहार तुलनात्मक रुपमा उच्च रहेको देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार नसर्ने रोगहरुका चार प्रमुख कारक तत्वहरुलाई रोकथाम तथा नियन्त्रण गर्न सके नसर्ने रोगको ८० प्रतिशत भार कम हुने देखाएको छ । नसर्ने रोगका कारण धेरै व्यक्ति अल्पायुमै मृत्यु हुने तथा स्वास्थ्य क्षेत्रमा धेरै धनराशीको खर्च गराउने रोगका रुपमा देखापरेकाे छ । स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार नसर्ने रोगहरु हाम्रो स्वास्थ्य प्रणालीले नधान्ने हिसाबले बढिरहेका छन् ।

खर्च बढ्यो

नेपालमा नसर्ने रोगहरुको आर्थिक भार प्रत्येक वर्ष बढ्दै आएको छ । यी रोगहरुबाट ग्रसित परिवार र समुदायको सङ्ख्या पनि निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य लेखाको प्रतिवेदनअनुसार नसर्ने रोगहरुको स्वास्थ्य उपचारमा सबैभन्दा उच्च ३८.७ अर्ब रुपैयाँ खर्च भएको थियो । अर्थिक वर्ष २०७४/७५ मा चालू स्वास्थ्य खर्च करिब १४५.३ अर्ब रुपैयाँ अनुमान गरिएकाे थियाे । जसमा नसर्ने रोगको लागि भएका खर्च ४३.८ अर्ब अनुमान थियाे  ।

पछिल्लो तथ्याङ्कमा वि.स. २०७४ मा २९.६ प्रतिशत नसर्ने रोगहरुमा खर्च भएको थियो । नसर्ने रोगहरुमा गरिएको कुल खर्चको अधिकतर ५६.७ प्रतिशत हिस्सा व्यक्तिगत खर्चबाट थियो । वि.स. २०७५ मा सूर्तीजन्य पदार्थको प्रयोगले नेपालमा कुल गार्हस्थ उत्पादनको १.८ प्रतिशत बराबरको खर्च गराएको थियो ।

नसर्ने रोगका रोकथामका उपाय

नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखाका प्रमुख डा. फणीन्द्र बरालका अनुसार नसर्ने रोग नियन्त्रणका लागि रोग नै लाग्न नदिनु उत्तम उपाय हो । रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्नसक्ने भएकाले बहुक्षत्रीय नेतृत्व अनि साझेदारको साथ सहयोग आवश्यक छ । डा. बराल भन्नुहुन्छ, “मानिसमा नसर्ने रोगको बारेमा जनचेतना निकै कम छ ।

रोगको बारेमा जानकारी भएकाहरुमा पनि व्यवहारमा लागू गरेको देखिँदैन । मानिसहरूको जीवनशैली तथा खानपानको परिवर्तनका साथै सबैको साथ सहयोगको जरुरत छ ।” त्यसका साथै रोगको बारेमा जनचेतना फैलाउनुका साथै प्राथमिक स्वास्थ्य उपचार केन्द्रहरुबाट नसर्ने रोगको पहिचान गरी बेलामा नै उपचार थालिएमा थोरै बोझ कम हुने डा.बरालको सुझाव छ ।

सरकारले नसर्ने रोगसम्बन्धी आधारभूत औषधिहरु सबै स्वास्थ्य संस्थाहरुमा नि:शुल्क वितरण गर्दा पनि रोगबाट हुने आर्थिक भार कम हुने डा.बराल बताउनुहुन्छ । यस्ता रोगको नियन्त्रण गर्न सरकारले आवश्यक जनशक्ति र लगानी बढाउनुपर्ने सरकारलाई डा. बरालको सुझाव छ । सरकारको नीति सरकारले नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ ल्याएको छ ।

कार्ययोजनाले मुटुरोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगबाट हुने समग्र अल्पायु मृत्युदरमा सन् २०२५ सम्म २५ प्रतिशत र सन् २०३० सम्म ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।