• २ असार २०८१, आइतबार

प्रमुख हमालको पहिलो निर्णय–पञ्चवर्षीय योजना बनाएर विकास गर्ने

blog

पदभार ग्रहण गर्नुहुँदै धनगढी उपमहानगरपालिकाको नवनिर्वाचित मेयर गोपाल हमाल ।

अविनाश चौधरी

धनगढी, जेठ ९ गते । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपाल हमालले पञ्चवर्षीय योजना बनाएर नगरको विकास गर्ने पहिलो निर्णय गर्नुभएको छ । सोमबार पद्भार ग्रहणपछि प्रमुख हमालले आर्थिक वर्ष २०७९/८० देखि आर्थिक वर्ष २०८३/८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर योजनाबद्ध विकासको काम गर्ने निर्णय गर्नुभएको हो ।

सीमित स्रोत साधनलाई प्रभावकारी ढङ्गबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनाबद्ध विकासको थालनी गर्न पहिलो पञ्चवर्षीय आवधिक योजना कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गरी आवश्यक प्रक्रियागत कारबाही चालू आर्थिक वर्षबाटै अगाडि बढाउने निर्णयमा उल्लेख छ । ‘यसको लागि चालू आर्थिक वर्षको लागि पुग्ने गरी बजेट विनियोजन भइसकेकाले सो कार्य गर्न आवश्यक निर्णय पेश गरेको छु’, निर्णयमा भनिएको छ । 

यसअघि, नवनिर्वाचित प्रमुख हमालले पद तथा गोपनियताको शपथ लिनु भएको थियो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले उहाँलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो । 

१२ हजार ४८ मतान्तरले नेपाली काङ्ग्रेसका उम्मेदवार एवम् निवर्तमान नगरप्रमुख नृपबहादुर वडलाई पराजित गरी हमाल प्रमुखमा निर्वाचित हुनुभएको थियो । विजयी हुनु भएका उहाँले २६ हजार ८६५ मत प्राप्त गर्नुभयो । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभयो ।