सुदूरपश्चिम प्रदेशमा आज चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा कैलालीमा एक र कञ्चनपुरमा दुई गरी तीन जनाको ज्यान गएको हो । प्रहरीकाअनुसार कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीस्थित खेतमा रोपाइँ गरिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर ज्यान गएको छ । मृतक चौधरी रेडियन्ट ग्यासको खेतमा काम गर्दै हुुनुहुन्थ्यो ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मलभङ्गामा इँटाभट्टामा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । असार १३ गते सोमबार साँझ छ बजेतिर छिमेकमा दूध लिनगएका लालबहादुर विष्टका सात वर्षीया छोरी आश्रिया विष्ट र भीमबहादुर कुँवरका छ वर्षीया छोरी भावना कुँवरको ज्यान गएको हो ।
नेपाली वा विदेशी नागरिकले विदेशी मुद्रा वा अमेरिकी डलर पाँच हजारभन्दा बढी आफ्नो साथमा बोकेर ल्याउँदा भन्सारमा प्रमाणित गर्नुपर्ने ऐनमा व्यवस्था छ ।
रतुवा र मावा खोलाको बीचमा रहेको दमक नगरपालिका लगातरको वर्षाका कारण बाढीको उच्च जोखिममा परेको छ । रतुवा र मावा वस्तीमा पस्न थालेपछि जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोली खोला किनारमा तत्काल बाढी नियन्त्रणको प्रयासमा छन् ।
भक्तपुरका जुजुधौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान असार २० गतेदेखि स्वास्थ्य बीमाको सबै सेवा स्थगित हुुँदैछ । उपकुलपति ज्ञानेन्द्र गिरीले ३४ करोडभन्दा बढी बीमा रकम बीमा बोर्डबाट उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु स्थगन हुने बताउनुभयाे ।
कुटपिट गरेर सडकमा फालेर भागेपछि उपचारको क्रममा काठमाडाैँमा मृत्यु भएका बाँकेका एक युवकको हत्यामा संलग्न चार युवकलाई प्रहरीले ३ घण्टामै पक्राउ गर्न सफल भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटवल सडक खण्ड अवरूद्ध बनेकाे छ । सिद्धवाबा क्षेत्रमा पहिराे खस्दा विहानैदेखि सडक अवरुद्ध भएको हाे । सडकमा लेदोसहित ढुङ्गा खसेकाे प्रहरीले जनाएकाे छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश अर्धऔपनिवेश अवस्थामा रहेको बताउनुभएको छ । राजधानीमा आयोजित 'नेपालमा समाजवादः चुनौती र सम्भावना' विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उहाँले साे धारणा राख्नुभएकाे हाे ।
नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति पूर्णबहादुर खड्काले टिकट नपाएको झोकमा पार्टीभित्रै अन्तरघात भएको बताउनुभएको छ । आइतबार सुर्खेतमा भएको स्थानीय तह निर्वाचन–२०७९ बाट निर्वाचित कांगे्रस जनप्रतिनिधिलाई शुभकामना एवम् अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले यस्तो बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक तथा सैद्धान्तिक विषयमा बोल्नुहुँदै राजनीतिक उपलब्धीबाट जनताको जीवन फर्न सक्यौं कि सकेनौं भन्ने प्रश्न गर्नुभएको छ ।
पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ गर्न ढिलाइ भएको छ । गत वर्ष यही समयमा ५० प्रतिशत खेतीयोग्य भूभागमा धान खेती भएको थियो । यो वर्ष पर्याप्त वर्षा नहुँदा धान खेतीका लागि आवश्यक पर्ने पानीको जोहो हुन सकेको छैन ।
जापान सरकारले राजधानी टोक्योसहित आसपासका तीन करोड ७० लाख ग्राहकसँग सोमबार न्यून विद्युत खपत गर्न निर्देशन दिएको छ ।
नेपालमा कहीँकतै नपाइने टुप्पो विनाको बाँस धरानस्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरमा रहेको छ । उक्त बाँसको प्रजाति सिमेन्टका संरचना निर्माण भएपछि नष्ट हुने अवस्थामा पुगेकाले यस्को संरक्षण गर्न थालिएको छ ।
बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा लेकाली आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यवसायिक रुपमा आलु खेती गरी आलुको वीउ उत्पादन गर्न थालेका छन् ।