• १३ साउन २०८१, आइतबार

राजनीतिक उपलब्धिका कारण जीवन फेर्न सक्यौं कि सकेनौं ? : माओवादी नेता श्रेष्ठ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक तथा सैद्धान्तिक विषयमा बोल्नुहुँदै राजनीतिक उपलब्धिबाट जनताको जीवन फेर्न सक्यौं कि सकेनौं भन्ने प्रश्न गर्नुभएको छ । 

सोमबार काठमाडौंमा नरबहादुर कर्मचारी स्मृति प्रतिष्ठानले 'नेपालमा समाजवादः चुनौती र सम्भावना' विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएकाे हाे । राजनीतिक पार्टीको नेतृत्वमा दशकौं सङ्घर्ष भएको दश वर्ष जनयुद्ध, जनआन्दोलन हुँदै सङ्घीय, लोकतान्त्रिक व्यवस्था स्थापना भएको श्रेष्ठले बताउनुभयो ।

समाजवादउन्मुख राज्य, संघीयता, समावेशीकरणका निम्ति त्यतिकै महत्वपूर्ण योगदान गर्ने, त्यो दिशामा कति सफलता प्राप्त भयो भन्नुहुँदै उहाँले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने उल्लेख गर्नुभयो । गुणात्मकरुपले नयाँ ढङ्गले अघि जानुपर्ने तर, दलहरुमा पनि असन्तुष्टि सबैमा रहेको भन्नुहुँदै उहाँले भन्नुभयो, – “जनताको जीवन फेर्न सक्यौं कि सकेनौं भन्ने  प्रश्न पैदा भएको छ । 

कता, कता यो यात्रा चुनावदेखि चुनावसम्म, पददेखि पदसम्म, सरकारदेखि सरकारसम्म र सुविधादेखि सुविधासम्म केन्द्रित त भएकाे छैन भन्ने कुरा उठिरहेको छ ।” समाजवादउन्मुख गन्तव्यका लागि वैचारिकरुपमा प्रष्टता गर्न जरुरी रहेको उहाँको भनाइ छ । 

अहिलेको निर्वाचन महँगो हुँदै गएकाले चुनावी खर्चलाई वास्तवमै कम बनाउन के गर्नुपर्छ भनेर दलहरुले सोच्नुपर्ने उहाँले बताउनुभयाे।