प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतिको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
उच्च शिक्षा अध्ययनसँगै छात्रावास सुविधाका लागि बजेट कटौती हुँदा समस्यामा परेको मुक्त कमलरीहरुले बताएका छन् । मुक्त कमलरी विकास मञ्चले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुक्त कमलरीहरुले शिक्षा र छात्रावासका लागि बजेटको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।
राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम अन्तर्गत बाँकेमा एकसाता भित्र २० हजार वृक्षरोपण गरिएको छ । बाँके बैजनाथ गाउँपालिकाको गाभरभ्यालिमा रहेको रारा आधारभूत विद्यालयको प्राङ्गणबाट शुरु भएको सो वृक्षारोपण उक्त क्षेत्रको १० हेक्टर जग्गामा गरिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य भेषराज आचार्यले बताउनुभयो ।
बाढी पहिरोबाट जनधनको क्षति कम गर्न मेलम्ची बजार, तालामाराङ र बाहुनेपाटी बजारमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी परीक्षण सफल भएको छ । गत असार १ गते र त्यसपछिका भेमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि ठूलो धनजनको क्षति पु¥याएपछि यो वर्ष त्यस्तो क्षति हुनबाट जोगाउन साइरन जडान गरेर सफल परीक्षण सम्पन्न भएको छ ।
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विगतमा गरिएको मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन हुनुपर्नेमा छलफल भएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको सो बैठकमा मन्त्री हेरफेरफेरबारे तुरुन्त मन्त्रिमण्डलमा निर्णय गर्ने विषयमा विशेष जोड दिइएको साे पार्टीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । यससँगै उहाँले छिट्टै नै पोलिट्ब्यूरो, केन्द्रीय समिति र केन्द्रीय परिषद्को बैठकको तयारीबारे छलफल भएको बताउनुभयो ।
औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामाग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आगामी निर्वाचनप्रति आफू लचक भएको बताउनुभएको छ । अछाम सदरमुकाम मंगलसेनमा भेटघाटको क्रममा पत्रकारसँग कुरा गर्दै आफूहरु संसदीय व्यवस्था र जनताको अवस्था परिवर्तनको पक्षमा रहेको भए पनि आगामी निर्वाचनमा लचक भएको भनाइ राख्नुभयो ।
नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीले ओलम्पिक दिवसको अवसरमा बुधबार नेपालगञ्जमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ ।
ललितपुर महानगरपालिकाको सडकमा रहेका घाइते जनावरको उपचारका लागि एम्बुलेन्स सेवा सुरु भएको छ । महानगरले बुधबार एक कार्यक्रमार्फत जनावरको अधिकारको संस्था स्नेहाज केयरसँगको सहकार्यमा सो सेवा सुरु भएको जनाएको छ ।
जाजरकोटको भेरी नगरपालिका १० भुरचौरबासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । गत वर्षदेखि सञ्चालित लिप्ट खानेपानी आयोजनाको पानी घर आँगनमै पाउँदा भुरचौरबासी खुसी भएका हुन् ।
छ महिनामा मानवअधिकार उल्लङ्घनका नौ घटना
तनहुँको बन्दीपुरले परम्परागत घरको नमुना सहरको रुपमा प्रख्याती कमाएको छ । यही प्रख्यातीलाई जोगाई राख्न बन्दीपुर गाउँपालिकाले मौलिक घरलाई संरक्षण गरेको । आधुनिक घरले मौलिकता गुमाउने हुँदा आधुनिक घर निर्माणमा प्रतिबन्ध गरी संरक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।
अर्घाखाँचीकाे शीतगङ्गा नगरपालिका वडा नम्वर १४ करेचुलीमा मङ्गलबार जिप दुर्घटना भएकाे छ । अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाकाे साल्झण्डीतर्फ जाँदै गरेकाे लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएकाे हाे ।