• १२ असार २०८१, बुधबार

भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न

blog

–फाइल तस्विर

काठमाडौं, असार ८ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । यो आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ ।

त्यस्तै, समष्टिगत वित्तीय प्रगति भने ४१.१० भएको छ । आव २०७१/७२ सालबाट निर्माणकार्य आरम्भ भएको यस आयोजनाको आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, कोरोना महामारीलाई कारण देखाएर यस आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने जनाइएको छ ।

कोभिड–१९ को असर, मौसमको प्रतिकुल अवस्था, वर्षा एवं नदीमा पानीकोबहाव बढेका कारण निर्माण प्रकृयामा असर परेको आयोजनाका सूचना अधिकारी एवम् वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताउनुभयो ।

‘कोरोना महामारीको असर, प्रक्रियागत जटिलता आदिका कारण अघिल्लो समयमा हुनुपर्ने कार्यहरुको दायित्त्व पछिल्लो समयमा सर्दै आएको छ,’ उहाँले भन्नुभयो ‘स्थानीय निर्वाचन २०७९ का कारण पनि निर्माणकार्यमा परेको छ ।’ पछिल्लो समयमा भइरहेको मौसमी प्रतिकूलताका कारणले पनि निर्माण कार्यमा ढिलाइ भएको उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने तथा यसबाट ४६.८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउनेछ । तर आगामी आर्थिक वर्षमा पनि यो आयोजनालाई तीन चरणमा विभाजन गरेर काम सम्पन्न गर्ने जनाइएको छ ।

हाल यस आयोजनाको पहिलो चरणअन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिनुभयो । दोश्रो चरण अन्तर्गतको सिभिल संरचनाहरुको निर्माणकार्य भइरहेको छ । जसमा मुख्यतया बाँध, पावरहाउस निर्माण कार्य पर्दछन् । तेश्रो चरण अन्तर्गतको हाइड्रोमेकानिकल इलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण एवं जडान कार्यहरु पर्दछन् ।

आयोजनाको कार्य प्रगति हाइड्रोमेकानिकल निर्माण कार्य अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्य रहेको छ । यो कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रहरुको प्राविधिक मुल्यांकन गरी स्वीकृतिको लागि विभागमा पेश गरिएकोमा २०७६ वैशाख १३ गतेको विभागीय निर्णयअनुसार हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का रद्द भएको थियो ।

तत्पश्चात पुन बोलपत्रमा आव्हान भए बमोजिम खरिद प्रक्रिया सम्पन्न गर्नका लागि अर्को निर्माण व्यवसायीसँग २०७८ मङ्सिर ७ गते दुई अर्ब १३ करोड ७४ लाखको लागतमा सम्झौता भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको र निर्माण व्यवसायीले निर्माण तयारी गरिरहेको उहाँको भनाइ छ ।

त्यसैगरी इलेक्ट्रोमेकानिकल निर्माण कार्य अन्तर्गत टर्वाइन, जेनेरेटर स्विचयार्ड निर्माण कार्य भइरहेको छ ।इलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण कार्यको लागि बोलपत्रमा आव्हान भए बमोजिम हाल प्राप्त बोलपत्रहरुको मूल्यांकन अन्तिम चरणमा छ । गत आब २०७७।७८ मा उक्त दुवै कार्यको खरिद व्यवस्थापन कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा नेपाललगायत विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरसमेतको महामारीका कारण प्रभावित भएको सूचना अधिकारी सुवेदीको भनाइ छ । ‘गत आवमा दुवै कार्यको खरिद व्यवस्थापन कार्य सम्पन्न गर्ने लक्ष्य थियो । तर कोभिड–१९ को दोस्रो लहरको कारण प्रभावित हुन पुग्यो,’ उहाँले भन्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिँचाइ विभाग मातहत राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयनमा रहेको नेपालको पहिलो बहुउद्देश्यीय तथा अन्तर जलाधार स्थानान्तरण आयोजना हो । यो आयोजना सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिकामा अवस्थित छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पर्याप्त पानी उपलब्धता भएको भेरी नदीको पानी अन्तर जलाधार जल स्थानान्तरणको माध्यमबाट पानीको अभाव भएको बबई नदीमा स्थानान्तरण गर्ने बहुउद्देश्यीय आयोजना हो ।

सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर ऊर्जा, सिँचाइ र जलाधार संरक्षणलाई एकसाथ योगदान पु¥याउने लक्ष्यका साथ यस आयोजना शुरु गरिएको हो । यस आयोजनाबाट भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी ४.२ मिटर व्यास र १२.२ किलोमिटर लामो सुरूङबाट बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर भूमिमा १२ महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । साथै, नियमित रुपमा ४६।८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

यस आयोजना सम्पन्न भए पश्चात १२ महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब रूपियाँ अप्रत्यक्ष र विद्युत्बापत ४.० अर्ब रूपियाँ प्रत्यक्ष गरी वार्षिक ७.१ अर्ब रूपियाँ फाइदा हुने अनुमान गरिएको छ । प्रभावित क्षेत्रको समस्या भने उस्तै सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले भेरी–बबई डाइभर्सन आयोजनाबाट प्रभावित क्षेत्रको माग सुनुवाइ नभएको बताउनुभयो ।

आयोजनाबाट प्रभावित भएका नगरपालिकाभित्र सिँचाइ, शिक्षा, खानेपानी र सडकको अवस्था हालसम्म पनि उस्तै रहेको उहाँको भनाइ छ । ‘आयोजना सञ्चालन गर्दा कुनै न कुनै क्षेत्रमा असर त पर्छ नै तर यस आयोजना सञ्चालन गर्दा हुने प्रभावको पूर्ति गर्ने बताइएको थियो तर समस्याहरु छन्,’उहाँले भन्नुभयो । प्रभावित क्षेत्रमा निर्माणका काम थुप्रिए पनि आयोजनाले खासै चासो नदेखाएको उहाँको गुनासो छ । ‘नगरपालिकाभित्र आयोजनाबाट प्रभावित क्षेत्रमा निर्माणका काम थुप्रिएका छन् । सिँचाइको अवस्था सुधार भएको छैन, विद्यालयमा तारबार पनि भएको छैन,’ उहाँले भन्नुभयो 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।