• १३ असोज २०८१, आइतबार

औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गर्ने तीन जना पक्राउ

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), असार ८ गते । औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नागार्जुन गाउँपालिका वडा नं. २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं. ११ वैतडीका २६ वर्षीय हरिष भण्डारी रहेकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 

अवैध रुपमा विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामग्रीलाई गाेदाम गरी नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर विक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो ।

त्यसका आधारमा घरकोठामा खानतलासी गर्दा तोकिएको मूल्यभन्दा फरक मूल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरुलाई गत सोमबार राति पक्राउ गरिएको प्रनाउ केसीले बताउनुभयो । 

प्रहरीले उनीहरुको साथबाट दुई सय कार्टुन विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामग्रीहरु र एक थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रनाउ केसीले जानकारी दिनुभयो ।